इरानद्वारा होर्मुज जलडमरू बन्द गर्ने घोषणा, अमेरिका र इरानबीच आज स्विट्जरल्यान्डमा प्राविधिक वार्ता हुँदै
तेहरान/वासिङ्टन । लेबनान र इजरायलबीच युद्धविराम सम्झौता लागू भएको २४ घण्टा नबित्दै मध्यपूर्वको भू-राजनीतिमा पुनः नयाँ तरंग उत्पन्न भएको छ। इरानको मुख्य सैन्य कमाण्डको केन्द्रीय मुख्यालयले शनिबार रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुज जलडमरू) बन्द गर्ने घोषणा गरेको छ।
अमेरिकाले दक्षिणी लेबनानमा हालै हस्ताक्षर गरिएको द्विपक्षीय समझदारी पत्र (एमओयू) र इजरायलसँगको युद्धविरामको ‘उल्लङ्घन’ गरेको आरोप लगाउँदै इरानले उक्त कदम चालेको हो। यसअघि अमेरिका र इरानबीच भएको १४ बुँदे सहमतिको पाँचौँ बुँदा अनुसार इरानले हर्मुज जलडमरूबाट व्यापारिक जहाजहरूलाई बिनाकुनै अवरोध सुरक्षित आवतजावत गराउन प्रयास गर्ने उल्लेख थियो।
युद्धका कारण यो मुख्य जलमार्ग बन्द हुँदा विश्वभर कच्चा तेलको मूल्य आकाशिएकाले यसलाई खुला गराउनु अमेरिकाको मुख्य उद्देश्य रहे पनि पछिल्लो तनावले संशय पैदा गरेको छ।
यसैबीच, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईलाई उद्धृत गर्दै त्यहाँको अर्धसरकारी मेहर समाचार एजेन्सीले इरानी वार्ता टोली अमेरिकी वार्ताकारहरूसँग अपेक्षित प्राविधिक स्तरको वार्ताका लागि केही समयमै तेहरानबाट स्विट्जरल्यान्ड प्रस्थान गर्ने जनाएको छ।
अर्को अर्धसरकारी निकाय फार्स समाचार एजेन्सीका अनुसार, इरानी टोलीले इजरायललाई लेबनानमा भइरहेका आक्रमणहरू रोक्न बाध्य पार्नेसहितका अमेरिकी प्रतिबद्धताहरू पूर्ण रूपमा पालना हुनुपर्ने माग गर्नेछ।
वार्ताको मुख्य मध्यस्थकर्ता मुलुक पाकिस्तानको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै समझदारी पत्रमा हस्ताक्षर भएपछिको अनुगमन स्वरूप आइतबार स्विट्जरल्यान्डको बर्गेनस्टोकमा प्राविधिक स्तरको वार्ता हुने पुष्टि गरेको छ।
उक्त वार्तामा पाकिस्तानी र कतारी मध्यस्थकर्ताहरू समेत अमेरिका र इरानका प्रतिनिधिहरूसँगै सहभागी हुनेछन्। यसै सिलसिलामा पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वीले शनिबार तेहरानमा इरानी विदेशमन्त्री सैयद अब्बास अरघचीसँग भेटवार्ता गरी कूटनीतिक सम्पर्कको समीक्षा गरेका छन्।
उता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शनिबार एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै इरानसँगको वार्ता आइतबारदेखि नै सुरु हुन सक्ने र हालसम्मका संवादहरू सहज रूपमा अघि बढिरहेको दाबी गरेका छन्।
उनले आफू पनि आगामी दिनमा स्विट्जरल्यान्डको यात्रामा जान सक्ने सङ्केत गरेका छन्। यद्यपि, भान्सले इरानले हर्मुज जलडमरू बन्द गरिरहेको ठोस प्रमाण अमेरिकाले फेला नपारेको जिकिर गरे। लेबनान र इजरायलबीच शुक्रबार दिउँसो ४ बजेदेखि लागू हुने गरी युद्धविराम सम्झौता भए तापनि दुवैतर्फबाट आक्रमण र प्रत्याक्रमणका घटनाहरू रोकिएका छैनन्।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार शुक्रबार राति र शनिबार बिहान दक्षिणी लेबनानमा भएका इजरायली हवाई तथा ड्रोन आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने इजरायली सेनाले हिजबुल्लाहले रातभरमा आफ्ना सैनिकहरू लक्षित गरी ५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। यी घटनाक्रमले मध्यपूर्वी शान्ति प्रक्रियालाई अझ जटिल बनाएको छ।







डिसी नेपाल







Facebook Comment