आध्यात्मिक प्रवचन: मानिसको लक्ष्य के हो?

शंकरप्रसाद रिजाल
१३ असार २०८३ ७:३९

मानिसको लक्ष्य केवल खाने, पिउने र भोगविलास गर्ने मात्र होइन। यसको मूल लक्ष्य त भगवद्भक्ति गरी परमेश्वरको अनुभूति गर्नु हो, जो सधैँ परमानन्दमा रहनुहुन्छ। मानिसको अगाडि दुईवटा मार्गहरू छन्-एक मुक्ति र अर्को बन्धन। बन्धन भनेको मायाको जालो हो।

मायाबाट ‘म’ अर्थात् अहंकार उत्पन्न हुन्छ र त्यसैबाट घमण्ड, लोभ, रिस एवं ईर्ष्या जस्ता विकारहरू जन्मिन्छन्, जसका कारण मानिसले कहिल्यै पनि मुक्ति पाउँदैन। अर्को मुक्ति मार्ग हो, जसले ‘म’ लाई त्यागेर नम्रतालाई अंगाल्छ।

हाम्रा हरेक भगवान्‌का प्रार्थनामा ‘नमः’ शब्दलाई ठुलो मान्यता दिइएको पाइन्छ; जस्तै-रामाय नमः, कृष्णाय नमः, ब्रह्मणे नमः र शिवाय नमः। यी सबै मन्त्र जपमा ‘म’ को सट्टा ‘नमः’ शब्दले पुकारिएको हुन्छ। घमण्डले ‘म’ शब्दको मात्र बोली फुट्छ, तर ‘नमः’ शब्दले ‘म’ भन्ने भावलाई त्यागी आफूलाई सानो र विनम्र बनाउँछ।

घमण्ड भएको कुनै पनि पूजा र अर्चना सफल हुन सक्दैन। जड भरतको जस्तो भगवान् प्रतिको अविचल आस्थाबाट मात्र भगवान्‌को अनुकम्पा प्राप्त गर्न सकिन्छ। घमण्डयुक्त बोली र व्यवहारले गरिने कुनै पनि पूजा-आराधनाको खासै महत्त्व हुँदैन।

केवल भगवान् नारायणको नाम मात्र स्मरण गर्दा, कुसंगतका कारण बिग्रेका अजामिललाई लिन यमराजका दूतहरूको सट्टा भगवान्‌का दूतहरू (विष्णुदूत) आएर लगेको कुरा पुराणमा प्रस्ट उल्लेख भएको देखिन्छ।

न्त्र स्पष्ट र शुद्ध भए मात्र त्यसले सकारात्मक फल दिँदछ, नत्र जे जप्यो त्यस्तै विपरीत फल पाइन्छ। जस्तै-‘भार्याम् रक्षतु भैरवी’ (भैरवीले मेरी श्रीमतीको रक्षा गरून्) भन्नुपर्ने ठाउँमा उच्चारण बिग्रिएर ‘भार्याम् भक्षतु भैरवी’ (भैरवीले मेरी श्रीमतीलाई भक्षण गरून्) भन्दा त्यस्तो जप गर्ने मानिसको श्रीमतीको निधनसमेत हुन सक्छ। तर परम भगवान्‌को स्मृति वा नाम उच्चारण उल्टो-सुल्टो जे गरे पनि फल सधैँ राम्रो र कल्याणकारी नै प्राप्त हुन्छ।

भगवान्‌को स्तुति दैनिक रूपमा नगर्नेहरूलाई अप्रत्यक्ष रूपमा जीवनमा धोकै धोका मात्र हुन्छ र उनीहरूले जीवनमा कहिल्यै पनि वास्तविक शान्ति पाउँदैनन्। जबसम्म हाम्रो सृष्टिको यो सानो बिन्दु भगवान् रूपी सिन्धु (समुद्र) मा मिल्न सक्दैन, तबसम्म परमात्माप्रतिको प्रेम, प्रीति र सच्चा भक्ति जागृत हुँदैन।

मानिस हुनुका दुईवटा गुण छन्-एक सद्गुण र अर्को दुर्गुण। सद्गुण भनेको मानिसले परमात्माको भक्ति, ज्ञान, कथा र पुराण सुनेर आफ्नो जीवनलाई धन्य बनाउन सक्नु हो। तर त्यही मानिस फेरि आफ्नो काम, क्रोध, लोभ, मोह र घमण्डका कारण मनलाई वशमा राख्न नसकी कुसङ्गत र गलत व्यवहारमा फसेर आफ्नो जीवनलाई निरर्थक वा अर्थहीन पनि बनाउन सक्छ।

यो सबै आफ्नो मनको स्वभाव र अभावको खेलोमेलो मात्र हो। मनलाई अभ्यासद्वारा बिस्तारै आफ्नो वशमा ल्याउन सकिएन भने आखिरमा यसले मानिसलाई उन्मत्त घोडाका रूपमा कुदाएर भिरबाट खसाली जीवन नै अन्त्य गरिदिन पनि सक्छ। तसर्थ, भगवान्‌को विराट स्वरूपको भक्ति र आराधना गर्ने मानिसका सबै दुर्गुणहरू बिस्तारै आफैँ लोप हुँदै जान्छन्।

मानिसलाई सत्कर्म गर्न र भगवान्‌को नाम स्मरण गर्न संसारको कुनै पनि चिजले छेक्दैन। हरेक काम गर्दा परमात्माको नाम स्मरण गर्नाले उक्त कार्य सफल हुनुका साथै लगाउने, खाने र सुत्ने कुराहरूमा पनि एक किसिमको मधुमय स्वादको अनुभूति हुन्छ।

जुन भोजन भगवान्‌लाई पहिले भोग लगाई प्रसादका रूपमा ग्रहण गरिन्छ, त्यो खाना अमृतमय बन्दछ। तर भगवान्‌लाई भोग नलगाई उपभोग गरिएका समस्त चिजहरू स्वादविहीन हुन्छन् र त्यस्ता बेस्वादि थिचोमिचोका परमाणुहरूले जीवनलाई विषाक्त बनाई बेचैन गराइदिन्छन्।

यदि मानिस जीवनको बन्धन देखि मुक्त हुन चाहन्छ भने उसले श्रीमद्भगवद्गीता र श्रीमद्भागवत महापुराणको सुमिरन गरी त्यसलाई आफ्नो जीवनमा अनुसरण गर्नुपर्छ, जसबाट जीवन अवश्य धन्य हुन जान्छ। जसले आफ्नो आत्मालाई बुझ्न सक्दैन, उसले परमात्माको अनुभूति कहिल्यै गर्न सक्दैन।

गायन र शारीरिक बलले मानिसमा घमण्ड पैदा गर्न सक्छ, तर भक्तिभावले घमण्ड र अहंकर रूपी बललाई क्षीण गराइदिन्छ। यो संसारमा भगवान्‌को तप गर्नु नै एकमात्र मुक्तिको मार्ग हो। यहाँ तप भन्नाले कठिन तपस्या होइन, केवल ध्यान हो।

ध्यानमा अन्तरध्यान हुन सक्नु नै परमात्माको अनुभूतिका लागि मार्ग प्रशस्त गर्नु हो। परमात्माको भक्ति गरी उहाँको निकट हुनका लागि भगवान् प्राप्तिको औजार नै प्रयोग गर्नुपर्दछ।

जसरी टाढा-टाढा रहेका मानिसहरूसँग एकआपसमा कुरा गर्न इन्टरनेट वा नेटवर्कको प्रयोग नगरी सम्भव हुँदैन, त्यसरी नै भगवान्‌को अनुभूति गर्न मोह, लालसा र घमण्डको त्याग गरी भक्ति, ज्ञान र वैराग्यलाई अंगाल्नु अनिवार्य छ; यस बिना भगवान् प्राप्तिको अनुभूति गर्न सकिँदैन।

परमात्मा प्राप्तिको लक्ष्यमा पुग्नका लागि परमात्मा जति व्यापक हुनुहुन्छ, आफूलाई पनि (आफ्नो सोच र प्रेमलाई) त्यति नै व्यापक बनाएर हिँड्नु पर्दछ। संसारमा भएका नश्वर चिजहरूलाई प्राप्त गर्न साधारण प्रयासले पुग्छ, तर भगवान् प्राप्त गर्नका लागि अथाह र अनन्य भक्तिको नितान्त आवश्यकता पर्दछ; जसरी मीराले कृष्ण भगवान्‌लाई प्राप्त गरिन् र जसरी शबरीले अनन्य भक्तिले भगवान् रामचन्द्रलाई प्राप्त गरिन्।

यति भन्दाभन्दै, मानिसले आफ्नो कर्म र धर्मलाई पछाडि राखी केवल भक्तिलाई मात्र सर्वोपरि मान्दा कर्म र धर्म फेरि ओझेलमा परी भक्ति नै अलपत्र पर्ने ठुलो सम्भावना रहन्छ। त्यसैले भक्ति, ज्ञान, कर्म र धर्मलाई समानुपातिक र सन्तुलित तवरले जीवनमा उतार्दा मात्र सबै कुरामा पूर्ण सफलता मिल्दछ।

जे गर्दा पनि ‘जपो राम नाम’ भन्ने कुरालाई हरदम हृदयङ्गम गरी कर्म गरेमा भगवान्‌ले अवश्य पनि राम्रो र कल्याणकारी फल दिनु निश्चित छ। विशेष गरेर नेपाल र भारतमा अनेकौँ ऋषिमुनि, सन्त-महन्त र सज्जनवृन्दहरूले ठुलो भक्ति, ध्यान र तपस्या गरी परमात्माको नजिक पुगेका सयौँ उदाहरणहरू पाइन्छन्।

मानिसले जीवनभरि प्रभुको भक्ति गरेपछि, यो भौतिक शरीर अन्त्य भए तापनि उसको निष्ठाको लेखाजोखा गरेर भगवान्‌ले स्वयं ऊप्रति आफ्नो अनुग्रह सुरु गर्नुहुन्छ। वास्तवमा हाम्रो भौतिक जीवनको अन्त्यपछि नै भगवान्‌को हामीप्रतिको दिव्य लीला सुरु हुन्छ र यही नै मुक्ति मार्गको असली रूप र प्रक्रिया हो।

संसारमा जति पनि सृष्टि भएका छन्, ती सबै नश्वर छन्। ऋतु, काल र समय परिवर्तनको साथसाथै यहाँका सबै भौतिक कुराहरू क्षीण भएर जान्छन्। यो जन्मने र मर्ने संसारको एक अकाट्य र निरन्तर चलिरहने प्रक्रिया हो। तर परमात्मा सधैँ एकैनाश हुनुहुन्छ।

उहाँ सधैँ चिन्मय मुद्रामा स्थिर रहनुहुन्छ र सृष्टिको आदि एवं अन्त्यको साक्षी बनेर बसिरहनुभएको हुन्छ। तसर्थ, ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनेझैँ मानव जीवनको सच्चा उद्देश्य र लक्ष्य भनेको परमात्माकै खोज, चिन्तन र आराधना गर्नु हो। यसैलाई वास्तविक आध्यात्मिक चिन्तन र मनन भनिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *