गद्यकविता : चटक
गजबको कलाकार रहेछौ,
थाहा थिएन।
तिम्रो चटक देखेर,
सिनेमा हल जान छोडेँ,
फिलिम हेर्न छोडिदिएँ अचेल।
नाटक, ती लीला, त्यो अभिनयलाई
रङ्गमञ्चमा उतारे हुने हो,
सुहाउँथ्यो।
अहिलेको जमात त्यस्तै छ,
ठ्याक्कै तिमी जस्तै।
भर्चुअल इन्टरनेट जस्तो,
माया पनि डिजिटल भएछ।
अनलाइनको म्यासेज झैँ,
भित्र खोक्रो भए पनि
बाहिर चिटिक्क सजिएको,
बुझ्नै गाह्रो!
देखावटीपन बेजोडको छ,
अभिनय उस्तै।
मनको सुन्दरता पाइँदैन अचेल,
न खोजेर भेटिन्छ,
न खानपानले हो,
न रहनसहनले हो,
न देखासिखीले नै।
कृत्रिमता स्पष्टै झल्किन्छ,
अस्वाभाविक लाग्छ,
हाँसो उठ्छ।
किन यति सस्ता हुन्छौ हँ?
प्रश्न गर्न मन लाग्छ,
तर सोच्छु-
के चासो?
उत्तर आयो भने?
अनि मौनता साँध्छु।
हुन त भरि गाग्री बज्दैन,
शान्त रहन्छ,
आवाज गर्ने त रित्तो गाग्रीले हो।
सम्झन्छु-
भुक्ने कुकुरले खासै टेक्दैन (टोक्दैन),
भन्छु-
वजनदार त सधैँ मजबुत रहन्छ।
भिड त त्यसको पछि लाग्छ,
जसको मूल्य नै कम हुन्छ।
उनीसँग बोल्दा सोच्न नपरोस्,
न अड्किन,
न अड्कलान,
न त वरिपरिको माहोल हेर्न।
सहज अनि आफू सुहाउँदो खोज्छन्
सबैले,
दुनियाँ यस्तै छ।
प्रेममा ठगी, व्यापारमा ठगी,
आफन्तको नाममा ठगी।
अपनत्व अनि लेनदेनमा,
अरू के-केमा हो झन्?
मौलाएको छ
उत्तिकै।
फाइदा सबैलाई चाहिएको छ,
नाफामुखी छन्।
बिना कमिसन काम नहुने भयो
जमाना!
महँगीले हो या स्वभावले,
बाँच्नका लागि हो या आवश्यकताले,
मान्छे सजिला रहेनन् अचेल।
व्यापार जस्तो,
हरेक फाँटमा मिसावट छ,
छ्यासमिस छ,
शुद्ध छैन।
मौलिकता हराएको छ
अचेल।
स्वार्थै स्वार्थले भरिएको परिवेशमा
को आफ्नो, को पराई पहिल्याउनै गाह्रो!
सोझाको त जमानै रहेन,
जहाँको त्यहीँ घुमिरहन्छ,
गुटबन्दीको घेरामा
ऊ नाचिरहन्छ।
काइदा अचम्मको छ,
बिना फाइदा कोही नजिकिँदैन।
बस, शान्त रहनु छ,
मौनता साँध्नु छ,
अनि ‘तेरो-मेरो’को परिधिबाट टाढा रहनु छ।
सही गन्तव्य पहिल्याई,
आफूले आफैँलाई चिन्नु छ,
केवल चिन्नु!!
कविता : मन्थन
लेखेथेँ चिठी लेख्न त,
शीतल आभास गर्न।
सन्देश पठाएँ तर,
हावाको झोक्का आएन। (१)
थिए होलान् हजार,
गलतीहरू पो यहाँ।
पठाएँ सन्देश तर,
सौगात-पोको आएन। (२)
सबलाई खुसी राख्छु,
मान सबको गर्छु।
आँटिलो छु भन्थे तर,
लेखाजोखा भएन। (३)
स्वार्थी जमाना रहेछ,
निःस्वार्थ उसमा खोजेँ।
बेचैनी भयो मन,
माया चोखो रहेन। (४)
सहेँ अनेक चोट,
ज्वारभाटा आए त्यस्तै।
समुद्र मन्थन भयो,
मनमा धोको रहेन। (५)
अबूझ मनले बुझ्यो,
झुटो संसार-लीला।
देख्यो सत्य आत्माले,
मन भोको भएन। (६)
सृष्टिको अद्भुत लीला,
चल्नु छ प्रकृति यहाँ।
प्रपञ्च रच्यो मायाको,
कोही चोखो रहेन। (७)












Facebook Comment