कंगाेमा इबोला प्रकोपको तीव्र विस्तार: २७७ जनाको मृत्यु, छिमेकी देश युगान्डामा पनि संक्रमण पुष्टि

डिसी नेपाल
१० असार २०८३ १२:१२

काठमाडौं। डेमोक्र्याटिक रिपब्लिक अफ कंगाे (डीआरसी) मा गत मे १५ मा घोषणा गरिएको इबोला प्रकोप तीव्र गतिमा फैलिरहेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलबार जारी गरेको आधिकारिक तथ्यांक अनुसार कंगाेमा हालसम्म १ हजार ९४ जनामा इबोला संक्रमण पुष्टि भइसकेको छ भने २७७ जनाको मृत्यु भएको छ।

अहिले ३८७ जना बिरामीहरू विभिन्न अस्पतालमा उपचाररत छन् भने ११५ जना निको भएर घर फर्किएका छन्। यसबाहेक कंगाेका अधिकारीहरूले ४४ जनाको शंकास्पद मृत्युसहित थप १३१ वटा शंकास्पद घटनाहरूको रिपोर्ट गरेका छन्।

कंगाेको स्वास्थ्य मन्त्रालयले जारी गरेको दैनिक महामारी रिपोर्ट अनुसार सामुदायिक प्रसारणका कारण साप्ताहिक रूपमा पुष्टि हुने संक्रमणको संख्यामा लगातार वृद्धि भइरहेको छ।

महामारी विज्ञान, प्रयोगशाला निगरानी र निदान क्षमताको विकेन्द्रीकरणसहित चालिएका तीव्र जनस्वास्थ्य उपायहरूले रोग चाँडै पत्ता लगाउन मद्दत गरे पनि यसले विस्तारित सामुदायिक संक्रमणको डरलाग्दो अवस्थालाई पुष्टि गरेको छ।

डब्ल्यूएचओका “हेल्थ इमर्जेन्सी अलर्ट एन्ड रेस्पोन्स अपरेसन” का निर्देशक अब्दिराहमान महामुदले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा अफ्रिकामा इबोला प्रकोपको पहिलो महिनामा पुष्टि भएका घटनाहरूको यो हालसम्मकै सबैभन्दा ठूलो संख्या भएको बताएका छन्।

रोगको फैलावट निकै तीव्र भए पनि विगत दुई हप्तामा उपचार र परीक्षण क्षमतामा व्यापक सुधार गरिएको महामुदले जानकारी दिए। सुरुमा १९ वटा स्वास्थ्य क्षेत्रहरूबाट ५०० भन्दा बढी शय्यासहित सेवा सुरु गरिएकोमा अहिले प्रयोगशाला क्षमता पनि विस्तार गरिएको छ।

प्रकोपको सुरुवातमा राजधानी किन्शासामा प्रतिदिन लगभग ३० जनाको मात्र परीक्षण हुने गरेकोमा हाल इटुरी, उत्तरी किवु र दक्षिण किवु प्रान्तहरूमा आठ वटा विकेन्द्रीकृत प्रयोगशालाहरूको सञ्जालमार्फत प्रतिदिन दुई हजारभन्दा बढीको परीक्षण सम्भव भएको छ।

यसैबीच, डीआरसीका राष्ट्रपति फेलिक्स त्सेसेकेदीले आफू चाँडै उच्च प्रकोप रहेको इटुरी प्रान्त पुगेर त्यहाँको प्रतिक्रिया सञ्चालनको अनुगमन गर्ने बताएका छन्। बुरुन्डीका राष्ट्रपति एभारिस्ट नदाइसिमियीसँग किन्शासामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।

पत्रकार सम्मेलन अघि दुवै नेताहरूले राष्ट्रिय इबोला प्रतिक्रिया टास्क फोर्सको बैठकमा महामारीको अवस्था र नियन्त्रणका उपायहरूबारे जानकारी लिएका थिए।

राष्ट्रपति त्सेसेकेदीले प्रकोप नियन्त्रणका लागि रोकथाम, महामारी विज्ञान निगरानी र द्रुत सूचना–साझेदारीमा आधारित बलियो क्षेत्रीय सहयोगको आह्वान गरे भने बुरुन्डीका राष्ट्रपति नदाइसिमियेले अन्तर्राष्ट्रिय समुदायलाई सीमा बन्द नगर्न आग्रह गरे।

कंगाेको इटुरी प्रान्त, जहाँ कुल संक्रमणको लगभग ९० प्रतिशत हिस्सा रहेको छ, त्यसको सिमाना जोडिएको छिमेकी देश युगान्डामा पनि इबोलाको संक्रमण भित्रिएको छ।

युगान्डाको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार त्यहाँ २० जनामा संक्रमण पुष्टि भएकोमा १४ जना निको भएका छन् र दुई जनाको मृत्यु भएको छ। युगान्डामा देखिएका संक्रमणमध्ये १५ वटा घटनाहरू आयातित (बाहिरबाट आएका) हुन्।

महामारीविरुद्ध लड्न मंगलबार युगान्डा र डीआरसीले सीमापार सहयोगको सुरुवात गरेका छन्, जसअन्तर्गत साझा निगरानी, द्रुत प्रतिक्रिया टोली, मोबाइल प्रयोगशालाहरू र इबोला उपचार केन्द्रहरूको संयुक्त परिचालन गरिनेछ।

नयाँ स्वास्थ्य क्षेत्रहरूमा प्रकोप निरन्तर विस्तार भइरहेकाले कंगाे र सीमापार कोरिडोरका कारण युगान्डामा समेत स्वास्थ्य जोखिम उच्च रहेको डब्ल्यूएचओले चेतावनी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *