ट्युनिसियामाथि नेदरल्यान्डस्को सानदार जित, समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश
काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को आफ्नो अन्तिम खेलमा ट्युनिसियालाई ३-१ गोल अन्तरले पराजित गर्दै नेदरल्यान्डस् समूह विजेता बनेको छ।
अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा सम्पन्न यस खेलमा रोनाल्ड कोम्यानको टोली नेदरल्यान्डस्ले सुरुवाती समयदेखि नै खेलमा आफ्नो वर्चस्व कायम गरेको थियो। यो जितसँगै नेदरल्यान्डस्ले कुल ७ अंक जोड्दै शीर्ष स्थान सुरक्षित गरेको हो, जसमा दुई जित र एक बराबरी सामेल छन्।
खेलको सुरुवाती तेस्रो मिनेटमै ट्युनिसियाका इलएस सखिरीले आत्मघाती गोल गरेपछि नेदरल्यान्डस्ले अप्रत्याशित अग्रता लिएको थियो। दबाबमा परेको ट्युनिसियाविरुद्ध खेलको सातौँ मिनेटमा नेदरल्यान्डस्का युवा फरवार्ड ब्रायन ब्रोबेले उत्कृष्ट गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए।
पहिलो हाफमा २-० ले पछि परेको ट्युनिसियाले दोस्रो हाफमा केही सुधारात्मक खेल प्रदर्शन गर्यो। खेलको ५४ औँ मिनेटमा ट्युनिसियाका हाजेम मस्तुरीले हेडरमार्फत गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए र टोलीमा आश जगाए। तर, ट्युनिसियाको त्यो खुसी धेरै समय टिक्न सकेन।
खेलको ६२ औँ मिनेटमा नेदरल्यान्डस्का डिफेन्डर जान पल भान हेक्केले कर्नरमार्फत आएको बललाई हेड गर्दै टोलीका लागि तेस्रो गोल प्रहार गरे र नेदरल्यान्डस्को जित सुनिश्चित गरे।
समूह ‘एफ’ कै अर्को रोमाञ्चक खेलमा जापान र स्विडेनले १-१ गोलको बराबरी खेलेका छन्। उक्त बराबरी खेलपछि जापान ५ अंकसहित समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो भने स्विडेन ४ अंकका साथ तेस्रो स्थानमा रहँदै अर्को चरणका लागि छनोट हुन सफल भएको छ।
यता प्रतियोगिताभरि एकै खेल पनि जित्न नसकेको ट्युनिसिया भने समूह चरणबाटै बाहिरिन पुग्यो। अब नकआउट चरण अर्थात् राउन्ड अफ ३२ मा नेदरल्यान्डस्ले समूह ‘ई’ को टोली मोरक्कोको सामना गर्नेछ भने उपविजेता बनेको जापानले बलियो प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्ने तालिका तय भएको छ।






डिसी नेपाल





Facebook Comment