समयको अनलिखित कथा

डा. मेदनी पी. भण्डारी
१३ असार २०८३ ७:२२

१. जन्म र मृत्युको बीचमा

जन्म र मृत्युबीचको यो क्षणभरिको बाटो,
देखिन्छ सानो, तर
ब्रह्माण्डभन्दा ठूलो।
सासको प्रत्येक
धुनमा अनन्तको उज्यालो,
क्षण-क्षणभित्रै
लुकेको युगौँको आँधीबेहरी खोलो।
समय नदी हो-नरोकिने, नथाक्ने,
हामी त त्यसका
किनाराका बगर हौँ।
कसैले सुन
टिप्छ, कसैले ढुङ्गा बोक्छ,
आफ्नै कर्मले
आफ्नै संसार कोर्छौँ।

२. समयको मूल्य

समयलाई सुनसँग जोख्न मिल्दैन,
हीराको चमकले
यसको मूल्य छुँदैन।
राज्य बेचेर
पनि एक पल फर्किन्न,
मृत्युले
बोलेपछि समय कतै झुक्दैन।
एक मिनेटको हत्या-
के त्यो केवल
घडीको सुई रोक्नु हो?
त्यो त
सम्भावनाको हत्या हो,
भोलिको
सूर्योदयलाई अँध्यारोमा थुन्नु हो।
एक सेकेन्डमा जन्मन्छ विचार,
एक क्षणमै ढल्छ
साम्राज्य।
त्यही क्षणले
रच्दछ इतिहास,
त्यही क्षणले
बन्छ नयाँ सभ्यताको प्रारम्भ।

३. उमेरको मौनता

उमेर त शरीरको पात्रमा लेखिएको संख्या,
आत्माको
यात्रालाई कसले गन्न सक्छ?
कपालमा फुलेको
चाँदीले के बताउँछ-
मनभित्र अझै
बालक मुस्कुराइरहेछ।
वर्षहरू घट्दैनन्,
तिनीहरू त
अनुभवका बोट बन्छन्।
घामले पोल्दा
जराहरू गहिरिन्छन्,
अनि आँधीले पनि
तिनलाई ढाल्न सक्दैन।

४. भाग्य र दुर्भाग्य

भाग्य कुनै आकाशबाट झरेको अक्षर होइन,
हातका
रेखाभन्दा कर्मको मसी बलियो हुन्छ।
दुर्भाग्य त
कहिलेकाहीँ शिक्षक बन्छ,
असफलताको
पीडाले नै चेतनाको ढोका खोल्छ।
भाग्यले फूल दिन सक्छ,
तर सुगन्ध त
मनले दिनुपर्छ।
दुर्भाग्यले
काँडा रोप्न सक्छ,
तर फूल फुलाउने
शक्ति पनि हामीमै हुन्छ।

५. बाटो पछ्याउने कि नयाँ बाटो बनाउने?

धेरैले हिँडेको बाटो सुरक्षित होला,
तर इतिहास
त्यहाँ लेखिँदैन।
जहाँ पाइला
पुगेका छैनन्,
त्यहीँ
भविष्यका नक्साहरू कोरिन्छन्।
कसैले सिद्धान्त दिए,
कसैले पद्धति, कसैले दर्शन।
तर प्रश्न अझै
बाँकी छ-
मेरो सत्यको
बाटो कसले कोर्छ?
ज्ञान उधारो लिन सकिन्छ,
तर चेतना उधारो
हुँदैन।
सिद्धान्त पढ्न
सकिन्छ,
तर नयाँ
सिद्धान्त त साहसले जन्माउँछ।
अस्तित्वको माटोमा आफ्नै पाइला कोर,
अरूले बनाएको
पुल तर्न सिक,
तर नदीमाथि
नयाँ पुल पनि बनाऊ-
जसबाट भोलिका
पुस्ताले यात्रा गरून्।

६. ज्ञानको रूपान्तरण

ज्ञान पुस्तकमा थुनिएको शब्द होइन,
जीवनले बाँचेर
लेखेको महाकाव्य हो।
ज्ञान नदीझैँ
बग्नुपर्छ,
नत्र पोखरीझैँ
गन्हाउन थाल्छ।
सिद्धान्त जन्मिन्छ प्रश्नबाट,
प्रश्न
जन्मिन्छ पीडाबाट।
रूपान्तरण सुरु
हुन्छ त्यही क्षण,
जब मानिसले
डरभन्दा सत्य रोज्छ।
एपिस्टेमोलोजीले सोध्छ-
“तिमीले कसरी जान्यौ?”
ओन्टोलोजीले
सोध्छ-
“तिमी वास्तवमा को हौ?”
मैले भनेँ-
“म समयको यात्रु हुँ,
सत्यको खोजीमा
निस्किएको
क्षणहरूको एउटा
दीपक।”

७. संसारको पीडा

संसार किन यति धेरै रुँदैछ?
किन करुणाभन्दा
क्रोध ठूलो भयो?
किन सत्यभन्दा
आवाज ठूलो भयो?
किन मानिसले
मानिसलाई बिर्सियो?
युद्धले समय जलाउँछ,
घृणाले भविष्य
जलाउँछ।
लोभले पृथ्वी
बेच्छ,
अनि मानवता
नीलामीमा उभिन्छ।
हे समय!
तिमी किन यति
मौन छौ?
वा हामी नै
बहिरा भयौँ-
तिम्रो
फुसफुसाहट सुन्न नसक्ने?

८. मेरो जीवन-दर्शन

म भन्छु-
जीवन जित्नु
होइन,
जीवन बाँड्नु
हो।
धन कमाउनु होइन,
विश्वास कमाउनु
हो।
नाम कमाउनु होइन,
मानवताको
उज्यालो छर्नु हो।
म विश्वास गर्छु-
हरेक जीव आफन्त
हो,
हरेक रुख
परिवार हो,
हरेक नदी आमाको
गीत हो,
हरेक पहाड मौन
ऋषि हो।
बाँच,
र अरूलाई पनि
बाँच्न देऊ।
सिक,
र सिकेको
समाजलाई फिर्ता देऊ।
त्यही नै अमरता हो।

९. अन्तिममा

जब अन्तिम साँझ ओर्लिन्छ,
घडीका काँटाले
यात्रा रोक्दैनन्।
तब प्रश्न एउटै
रहन्छ-
कति वर्ष बाँचेँ भनेर होइन,
कति जीवन
उज्यालो बनाएँ भनेर।
समय त गयो भन्ने भ्रम हो,
समय त
हामीभित्रै बसिरहन्छ।
हामी मर्छौँ,
तर असल कर्मको
समय कहिल्यै मर्दैन।
यसैले-
एक क्षण पनि व्यर्थ नफाल,
एक मिनेट पनि
नमार।
किनकि प्रत्येक
क्षणमा
एउटा नयाँ
ब्रह्माण्ड जन्मन सक्छ।
र जब तिम्रो पाइला रोकिन्छ,
तिम्रो बाटो
भने जीवित रहोस्-
त्यो बाटो
जहाँ
सिद्धान्तले जीवन भेटोस्,
ज्ञानले करुणा
भेटोस्,
र मानवताले
समयलाई अमरतामा
रूपान्तरण गरोस्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *