हुन नसकेको आफ्नो मान्छे

सी चञ्चली
१३ असार २०८३ १०:५४

एउटा अधबैंसे व्यक्ति । टाउकोमा थोरै मात्र कपाल बाँकी । चस्मा लगाएको, तीक्ष्ण आँखा र चम्किलो अनुहार भएको, सेतो टि–सर्ट र जिन्स लगाएर युकेबाट आएको भोलिपल्टै भेट्न आउने हुन्छन्। म भने साधारण प्यान्टमा हुन्छु। हाम्रो भेट सामाजिक सञ्जालमार्फत भएको हो।

अहिलेसम्म हाम्रो कुराकानी सामान्य नै भइरहेको छ। जब हामी भेट्छौं, मुखले त केवल औपचारिक कुरा मात्र गर्छौं तर उसको चम्किलो आँखाले धेरै कुरा भनिरहेको हुन्छ र मेरो हाउभाउले पनि धेरै कुरा व्यक्त गरिरहेको हुन्छ। पहिलो भेटमा हामी कफी खान्छौं, साधारण कुराकानी हुन्छ र समय मिले फेरि भेट्ने बाचा गर्दै छुटिन्छौं।

उहाँलाई भेटेर आएको दिनदेखि नै उहाँको सम्झना बारम्बार आइरहन्छ र म आफैँले नै फेरि भेटौँ न भनेर मेसेज पठाउँछु। तुरुन्तै जवाफ आउँछ—“हुन्छ नि !”

मलाई लाग्यो, उसलाई पनि म जत्तिकै छटपटी भएको होला! अब हाम्रो च्याट अझ बाक्लो हुँदै जान्छ, धेरै कुरा सेयर हुन्छ। यही क्रममा थाहा हुन्छ कि हामी दुवै जना विवाहित छौं तर दुवै जना आफ्ना पार्टनरसँग बेखुसी छौं। पारिवारिक भन्दा पनि सामाजिक बन्धनमा बाँधिएका हामी अनि अघोषित एक्लो।

पारिवारिक दायित्वले भरिएको र सामाजिक बन्धनमा बाँधिएको अघोषित एकल जीवन बिताइरहेका हामी दुईको भेटप्रति सम्भवतः हामी दुवै जना भगवानप्रति कृतज्ञ भयौं। र यो पनि प्रण गर्‍यौं कि हामी दुईजनाको सम्बन्धले हाम्रो पारिवारिक जीवनमा कुनै आँच नआओस्। एक प्रकारले अलिखित सम्झौता नै हुन्छ हाम्रो बीच।

अब कुरा अझै अगाडि बढ्दै जान्छ। च्याट अनुसार हाम्रो सम्बन्ध साथीको भन्दा अलि नजिकको दिशातिर जाँदैछ भन्ने स्पष्ट अनुभव भइरहेको छ र यो रमाइलो पनि लागिरहेको छ।

दोस्रो भेट हुनुभन्दा अगाडि हाम्रो बाक्लो च्याटबाट हामीले एकअर्कालाई मन पराएको आभास हुन्छ। आज हाम्रो दोस्रो भेट हुँदैछ। मैले जानेजति नक्कल पार्दै, आफूलाई लागेको राम्रो लुगा लगाएर तयार हुँदैछु। किन मन यति फुरुङ्ग भइरहेको छ, म आफैं छक्क परिरहेकी छु। यस्तो उमेरमा पनि माया–प्रेम हुन सक्छ र भनेर आफैंलाई सोधिरहेकी छु। यो माया हो कि क्षणभरको आकर्षण हो?

मलाई त्यो मान्छेलाई कतिखेर भेटूँ जस्तो भइरहेको छ। उसलाई भेट्नका लागि मभित्र आएको चञ्चलता बयान गर्न सक्दिनँ म। तर रमाइलो लागिरहेको छ है मलाई। कस्तो उकुसमुकुस भएको, कहिले भेटूँ जस्तो भएको। समय नै नबढेजस्तो लागिरहेको छ।

कस्तो अचम्म! झन्डै ५० वर्षकी युवती, पहिल्यै विवाहित मलाई पनि यो उमेरमा यस्तो हुँदो रहेछ।
ऊ मलाई लिन ट्याक्सीमा आउँछ। ट्याक्सीमा बस्नासाथ म उसको हातमा माया गर्छु। मेरो लिपस्टिकको दाग उसको हातमा मज्जाले देखिन्छ। ऊ दंग पर्छ तर प्रतिउत्तरमा केही गर्दैन। एकदम भलाद्मी भएर बस्छ। मलाई झन् मन पर्छ यो मान्छे!

हामी एउटा रेस्टुरेन्टमा जान्छौँ, चिया–कफी अर्डर गर्छौँ अनि भलाकुसारी गर्न थाल्छौँ। आफ्ना–आफ्ना जीवनका उकालो–ओरालाका कुराहरू आदानप्रदान गर्छौँ। लाग्छ, हामी दुवै जनालाई एउटा सच्चा साथीको आवश्यकता थियो, जससँग हर कुरा खुलेर बाँड्न मिलोस्।

यही कुराकानीको क्रममा हामी एकअर्काको बारेमा अझ धेरै थाहा पाउँछौँ, र एकअर्काको साथी भएकोमा कृतज्ञ पनि हुन्छौँ।

चिया कफी खाँदा–खाँदै समय सकियो, अब हामी छुट्टिने बेला आयो। केही बेर अघिसम्म यही समय किन बित्दैन जस्तो लागेको थियो भने अहिले चाहिँ यही समय किन यति छिट्टै बित्यो भन्ने महसुस भयो। एकछिन रोकिए पनि हुन्थ्यो जस्तो लाग्यो। मानिसको मानसिकता कति छिट्टै परिवर्तन हुँदो रहेछ। सबै कुरा आफ्नै पक्षमा होस् जस्तो लाग्ने।

मेरो विचारमा, उसले भद्र र भलाद्मी व्यवहार देखाए पनि उसको र मेरो मनोदशा उस्तै भएको हुनुपर्छ, किनभने मैले उसलाई जानुअघि फेरि “एक–एक कप चिया खाऔँ” भन्दा उसले “हुन्छ” भनेर सहजै जवाफ दियो। आधा घण्टा भए पनि ऊसँग अझै बस्न पाइने भयो भनेर म भित्रभित्रै निकै खुशी भएँ। जाने बेला भयो। उसले मेरो हात समातेर बिस्तारै जानुस् भन्यो। मैले केही बोलिनँ, केवल टाउको हलाएँ मात्रै।

अब हामी आ–आफ्नो घर गयौँ, तर मनमा भने केही बेरअघिका कुराकानी र दृश्यहरू लगातार घुमिरहे। ती सम्झनाहरू झन् तीव्र रूपमा मनभरि दौडिरहे। पचास वर्षको उमेरमा पनि मनमा यस्तो चञ्चलता आउँदो रहेछ भन्ने देखेर म आफैँ अचम्मित भएँ। “यो के हुँदैछ?” भन्ने प्रश्न मनमा बारम्बार उठिरह्यो।

तर वास्तविकता त त्यही थियो। उसलाई फेरि भेटूँ जस्तो लाग्ने, फेरि देखूँ जस्तो लाग्ने—यो जीवनमा कस्तो अनौठो अनुभूति पो हुँदै रहेछ!

अब स्वाभाविक रूपमा च्याट बढ्ने नै भयो। अब हामी “तपाईं/हजुर” बाट “तिमी” मा सर्नेछौँ। ऊ खासमा १५ दिनका लागि मात्रै आएको हो। दुई पटक त भेटिसक्यौँ। ऊ आफ्नो जरुरी पारिवारिक कामले नेपाल आएको थियो। बिचरा निकै व्यस्त थियो, त्यही पनि मेरो लागि समय निकाल्यो। अझ भनौँ, हाम्रो लागि समय निकालेर दुई पटक भेट गर्‍यौँ।

मैले फेरि पनि कफीका लागि भेटौँ भनेर अनुरोध गरेँ। म एकदम इमान्दारीका साथ भन्छु—मैले नै हाम्रो मनको कुरा बुझेर पहल गरिरहेको छु। किनभने हामी दुवै जना एउटै मनस्थितिमा छौँ। मैले भेट्ने कुरा गर्दा उसले तत्काल “हुन्छ” भनेर जवाफ दियो।

अब हाम्रो टेक्स्ट च्याट भिडियो कलमा परिवर्तन हुन थालेको छ। समय मिल्नासाथ हामी भिडियो कल गर्छौँ। रमाइला कुराकानी हुन्छन्, जोक गर्छौँ, र हाँस्छौँ। ऊसँग कुरा गरेपछि मेरो मुड नै फ्रेश भएको जस्तो अनुभव हुन थाल्छ।

म उसलाई आफैं भन्छु, “मलाई हरेक दिन गुड मर्निङ टेक्स्ट पठाइदेऊ, ताकि मलाई मेरो कोही छ भन्ने फिल होस्।” उसले पनि सधैँ “हुन्छ” भनेर मानेको हुन्छ। दिनप्रतिदिन ऊ आज्ञाकारी छात्र बन्दै गइरहेको छ, र म भने झन् झन् खुशी हुँदै गएको छु। अब हामी साना–साना कुरा पनि सेयर गर्छौँ र एकअर्काको आइडिया पनि लिन्छौँ। जीवन सजिलो भएको जस्तो महसुस हुन थालेको छ।

नारायण गोपालको “एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा” भन्ने गीत जस्तै मेरो जीवनमा पनि ठूलो परिवर्तन आएको छ। जिन्दगी सजिलो र रमाइलो लाग्न थालेको छ।
उसले मेरो एउटा पनि कल मिस गर्दैन। यसबाट मैले यो पनि बुझेको छु कि सायद यो गीत उसको जीवनमा पनि लागू भइरहेको छ।

अब हाम्रो तेस्रो भेट हुनेछ, सायद नेपाल बसाइको अन्तिम भेट पनि होला। हामी चिया–कफी खान्छौँ, साना–साना कुराहरू गर्छौँ, र रमाइलो पलहरू बिताउँछौँ। एकअर्कासँग नजिक भएर समय बिताउँछौँ। कति राम्रो क्षण हो त्यो। यो पललाई एकछिन रोकिदिए हुन्थ्यो जस्तो पनि लाग्छ, तर ऊसँग धेरै समय नभएको कारण हामी करिब १ घण्टा मात्र नजिकैको क्याफेमा बस्छौँ।

आफ्नो व्यस्तताका बाबजुद पनि मसँग भेट्न आएकोमा म खुशी व्यक्त गर्छु। म कफीको पैसा तिर्न खोज्छु, तर उसले “आइ एम योर म्यान” भनेर आफैं तिर्छ। म एक स्वतन्त्र महिला हुँ, अहिलेसम्म आफ्नो बिल आफैं तिर्ने बानी भएकी म । उसले यस्तो भनेपछि मलाई गर्वको अनुभूति हुन्छ।

मलाई साँच्चै खुशी लाग्छ—मेरो पनि कोही आफ्नै व्यक्ति रहेछ जस्तो महसुस हुन्छ। यो पैसा को कुरा पटक्कै होइन, यो त साथको कुरा थियो मेरो लागि।

थोरै दिनको बसाइपछि ऊ आफ्नो कर्मभूमि जाने दिन आउँछ। त्यो दिन हाम्रो भेट त हुँदैन, तर हामी मज्जाले भिडियो कलमा गफिन्छौँ र म उसलाई शुभ यात्राको सन्देश पनि दिन्छु। त्यो बेला मन भने भारी भएको हुन्छ, दुःखी भएको हुन्छ। मलाई नबिर्स है भनेर उसले भन्छ र हाम्रो भिडियो कलको अन्त्य पनि। आँखामा आँसु आएको पत्तै पाउँदिन। हिजोसम्म कोही थिएन, आज बिछोड हुनु पर्दा कस्तो पीडा भएको मलाई।

कस्तो अचम्म! एक अपरिचित मान्छेले आज यति थोरै दिनमै मेरो जीवनमा कस्तो ठूलो भूमिका खेलेको जस्तो लाग्छ। जति नै नरमाइलो लागे पनि, ऊ आज जाँदैछ भन्ने कुरा भने पक्का हो।
यता बिहान हुँदा उता दिउँसो हुने, समय नै नमिल्ने भएकाले हामीले मज्जाले कुरा गर्न नै पाउँदैनौँ। तर टेक्स्ट भने आदानप्रदान भइरहन्छ। अब म उसलाई “प्यारो मान्छे” वा “बाबा” भनेर बोलाउन थालेकी छु। ऊ भने मलाई “माया” भनेर बोलाउन थाल्छ।

समय मिल्नासाथ हामी झुलुक्क भए पनि कल अथवा भिडियो कल गर्छौँ। उसको समयमै प्रतिक्रिया दिने बानीले मलाई लाग्छ कि हामी दुवै जना उत्तिकै गहिराइमा छौँ। तर म आफूप्रति स्पष्ट छु कि म उसलाई धेरै मिस गर्दैछु। अब फेरि कहिले भेट होला भन्ने कुरा मनमा खेलिरहन्छ।
उसको “गुड मर्निङ” मेसेज हेर्न म तड्पिन्छु। म उसलाई लभ इमोजी पठाउँछु, ऊ पनि मलाई प्रतिउत्तरमा त्यस्तै लभ इमोजी पठाउँछ। त्यति एउटा इमोजीले दिएको प्रसन्नता त म बयान नै गर्न सक्दिनँ। कति खुसी लागेको! त्यो इमोजीको मूल्य यो उमेरमा आएर बुझ्दै छु।

कति याद आएको हो प्यारो मान्छेको? म आफैँलाई सोध्छु — म, एक विवाहित महिलालाई, फेरि पनि कसैसँग माया हुन सक्छ? के यो सामान्य हो? म माया पाउन योग्य छु? कि म बिग्रिएकी महिलाको दर्जामा पर्छु?

यदि यो साँच्चिकै माया हो भने, अब मेरो बाटो कता मोडिन्छ? यो उमेरमा माया पाउने र गर्ने अधिकार मलाई छ कि छैन? यी कुराहरू मनमा बारम्बार खेल्छन्।

यी प्रश्नहरूको उत्तर धेरै नसोची फेरि म उसैलाई मिस गरिरहेकी हुन्छु। अनि तुरुन्तै मेसेज गर्छु —
“मेरो हुन नसकेको आफ्नो मान्छे, बाबा, तिमीसँग पेटभरि भिडियो कल गर्ने इच्छा छ।” अनि एउटा लभ इमोजी पनि पठाउँछु! ❤️❤️
चञ्चली

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *