वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने पाँच जना काठमाडौंबाट पक्राउ
काठमाडाैं। वैदेशिक रोजगारीका लागि विभिन्न प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने पाँच जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ४२ वर्षीय वाङ्दी लामा, रामेछाप घर भई भक्तपुरको मध्यपुर थिमी बस्ने ३८ वर्षीय ललित बहादुर तामाङ, धादिङ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने ३४ वर्षीया सन्तोषी लामा रहेका छन्।
यसैगरी काठमाडौंकै चन्द्रागिरीका ४१ वर्षीय रामदास महर्जन र काठमाडौं महानगरपालिका-१५ का २९ वर्षीय सरिब गिरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्तिहरूले पीडितहरूलाई अजरबैजान, कोसोभो, स्पेन, युएई र क्यानडा जस्ता आकर्षक मुलुकहरूमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै मोटो रकम असुल गरेर सम्पर्कविहीन भएका थिए।
आरोपी मध्ये वाङ्दी लामाले अजरबैजान पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५० हजार रुपैयाँ र ललित बहादुर तामाङले कोसोभो पठाउने प्रलोभनमा दुई लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए।
त्यस्तै सन्तोषी लामाले स्पेन पठाइदिने भन्दै १५ लाख रुपैयाँ, रामदास महर्जनले युएई पठाइदिन्छु भन्दै सात जना पीडितहरूबाट कुल ४५ लाख रुपैयाँ र सरिब गिरीले क्यानडा पठाइदिने बहानामा एक जना पीडितबाट २० लाख रुपैयाँ लिई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रकम बुझाएपछि अभियुक्तहरू सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
पीडितहरूको सोही उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई फरक-फरक दिन र स्थानबाट पक्राउ गरेको हो।
जसअनुसार वाङ्दी लामालाई काठमाडौँ-४ बाट आइतबार, ललित बहादुर तामाङलाई काठमाडौँ-१२ बाट तथा सन्तोषी लामालाई काठमाडौँ-१५ बाट शनिबार नियन्त्रणमा लिइएको थियो। यस्तै रामदास महर्जन काठमाडौँ-१४ बाट शुक्रबार र सरिब गिरी काठमाडौँ-१५ बाट सोमबार पक्राउ परेका हुन्।
पक्राउ परेका सबै जनालाई थप आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएकोछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment