देशभर मनसुनको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
१८ असार २०८३ ६:४४

काठमाडाैं। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव परिरहेको छ। यसको असर स्वरूप अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण रूपमा बादल लागेको छ भने कोशी र मधेश प्रदेशमा साधारणतया बदली रहेको छ।

यतिबेला बागमती र गण्डकी प्रदेशका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूका साथै कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम रूपको वर्षा भइरहेको छ।‌

आज दिउँसो पनि देशभरको मौसममा अधिकांश बदली रहने अनुमान गरिएको छ। दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ।

यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा तथा मधेश र कोशी प्रदेशको तराईका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ। विशेष गरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भने आज दिउँसो भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ।

आज रातिको समयमा पनि देशभर साधारणतया बादल लागिरहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थान र कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ।

यसैगरी कोशी र कर्णालीको पहाडी भूभाग, बागमती, गण्डकी र सुदूरपश्चिमको पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ। मधेश र कोशीको तराई एवं लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना छ।

रातिको समयमा गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *