मनसुनी वायु सक्रिय: गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं। देशभर मनसुनी वायु पूर्ण रूपमा सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने प्रक्षेपण गर्दै ती क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।
हाल देशभर मनसुनी वायुको प्रस्ट प्रभाव देखिएकाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको छ। आज दिउँसो हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराई क्षेत्रतर्फ लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार आज रातिको समयमा वर्षाको गतिविधि अझ बढ्ने देखिन्छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यसैगरी कोशी, मधेश र बागमती प्रदेशका पहाडी क्षेत्रका केही तथा तराईका थोरै स्थानमा पनि वर्षाको अनुकूलता देखिएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको समेत उच्च जोखिम रहेकाले नदी–नाला आसपासका क्षेत्र, पहिरोको जोखिम भएका पहाडी भूभाग तथा डुबान हुन सक्ने तराईका स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई पूर्वसतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।






डिसी नेपाल





Facebook Comment