फिफा विश्वकप: केप भर्डेमाथि अर्जेन्टिनाको रोमाञ्चक जित
काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगितामा साविक विजेता अर्जेन्टिना पराक्रमी प्रदर्शन गर्दै अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ।
अमेरिकाको मियामीस्थित रंगशालामा आज बिहान सम्पन्न निकै रोमान्चक, तनावपूर्ण र उतारचढावले भरिएको खेलमा केप भर्डेलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले स्तब्ध पार्दै अर्जेन्टिनाले अघिल्लो चरणको यात्रा सुरक्षित गरेको हो।
निर्धारित ९० मिनेटको नियमित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णयका लागि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो, जहाँ अर्जेन्टिनाले बाजी मार्न सफल भयो।
विश्वकपको उपाधि रक्षा गर्ने दाउमा रहेको अर्जेन्टिनाले खेलको सुरुवाती समयदेखि नै बलमाथि नियन्त्रण राख्दै आक्रामक रणनीति बुनेको थियो। खेलको २९औँ मिनेटमा टोलीका भेट्रान कप्तान लियोनल मेसीले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई १-० को सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा मियामी स्टेडियममा उपस्थित हजारौँ समर्थकलाई उत्साहित बनाएको अर्जेन्टिना दोस्रो हाफमा भने केही दबाबमा देखियो। रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै खेलको ५५औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले उत्कृष्ट गोल गरेर खेललाई १-१ को रोमाञ्चक बराबरीमा ल्याए। त्यसपछिको नियमित समयमा दुवै टोलीबाट गोलका केही राम्रा अवसरहरू सिर्जना भए पनि फिनिसिङ हुन नसक्दा खेल थप ३० मिनेटको अतिरिक्त समयतर्फ धकेलियो।
अतिरिक्त समय सुरु हुनेबित्तिकै अर्जेन्टिनाले पुनः दबाब बढाउन थाल्यो। खेलको ९२औँ मिनेटमा डिफेन्डर लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-१ को महत्त्वपूर्ण अग्रता दिलाए। तर, जुझारु खेल खेलिरहेको केप भर्डेले सहजै हार मानेन।
खेलको १०३औँ मिनेटमा केप भर्डेका सिड्नी काब्रालले सानदार गोल फर्काउँदै खेललाई फेरि २-२ को बराबरी स्थितिमा पुर्याएर साविक विजेतालाई ठुलो झट्का दिए। दुवै टोली पेनाल्टी सुटआउटतर्फ उन्मुख भइरहेका बेला खेलको १११औँ मिनेटमा अर्जेन्टिनाका तर्फबाट भएको एउटा तीव्र प्रहारलाई बचाउने क्रममा केप भर्डेका डाइनी बोर्जेसले आत्मघाती गोल गर्न पुगे।
यही दुर्भाग्यपूर्ण आत्मघाती गोलको मद्दतले अर्जेन्टिनाले खेलमा ३-२ को निर्णायक अग्रता बनायो र बाँकी समयमा उक्त अग्रता जोगाउँदै जित दर्ता गर्यो। यो कठिन जितसँगै अर्जेन्टिनाको अघिल्लो चरणको यात्रा तय भएको छ भने अब अन्तिम १६ को भिडन्तमा अर्जेन्टिनाले अस्ट्रेलियालाई पराजित गरेर आएको अफ्रिकी राष्ट्र इजिप्टको सामना गर्नेछ।






डिसी नेपाल





Facebook Comment