पुष्प राज पाण्डेय भन्छन्- कथाका मेरा शब्दले ‘किनार’मा उभिएकाहरूको वेदना बोल्छन्

डिसी नेपाल
२० असार २०८३ ७:१७

सुदूरपश्चिमको माटो, त्यहाँको रहनसहन र समाजका यथार्थ कथाहरूलाई लिपिबद्ध गर्दै उदाएका लेखक हुन्, पुष्प राज पाण्डेय। गजल र गीतका माध्यमबाट साहित्यमा पाइला टेकेका पाण्डेयले हालै आफ्नो कथासंग्रह ‘किनार’ बजारमा ल्याएका छन्। विशेषगरी सुदूरपश्चिमको परिवेश, त्यहाँका सीमान्तकृत वर्गका दुःख, पीडा र सामाजिक यथार्थलाई आफ्नो लेखनको केन्द्रमा राख्ने पाण्डेयसँग गरिएको कुराकानीको सारसंक्षेप:

“किनार” लेख्ने प्रेरणा कहाँबाट प्राप्त भयो?

सुनिएका र अनुभूतिमा आएका कैयौँ घटना तथा किस्साहरू मन र हृदयको सङ्ग्रहालयमा पर्खेर बसेका थिए। यी अनुभूतिहरूले मलाई सधैँ प्रभावित बनाइरहे। यिनलाई बाहिर पोखेर म हलुका हुन चाहन्थेँ। ती घटनाहरू शब्दमा पोख्दापोख्दै “किनार” को जन्म भएको हो।

पहिलो कृतिका रूपमा कथासंग्रह नै किन रोज्नुभयो?

मेरो साहित्यको आरम्भ गजल, गीत र कविताबाट भएको हो। यी विधाहरूमा शब्दको सीमितता हुन्छ। धेरै कुरा मनभित्रै छुट्दा रहेछन्। कथामा भने शब्द पोख्ने मैदान ठुलो हुने भएकाले मैले पहिलो कृतिका रूपमा कथा विधा अर्थात् “किनार” रोजेको हुँ।

कथाकार बन्ने यात्रा कहिलेदेखि सुरु भयो?

कथाहरू सबैसँग हुन्छन्। जीवन भनेकै कथाहरूको सँगालो हो। लेख्दै जाँदा “किनार” जन्मिएको हो। कथाकार बन्नकै लागि भनेर मैले कथाहरू लेखेको होइन। यद्यपि, लेख्ने काम भने चार वर्षअघिदेखि आरम्भ भएको हो।

तपाईं साहित्यतर्फ कसरी आकर्षित वा प्रेरित हुनुभयो?

साहित्य र सङ्गीतप्रतिको रुचि सानैदेखि थियो। म साहित्यतिर कसरी तानिएँ भन्ने कुरा यकिन गरेर भन्न सक्दिनँ। साहित्य सायद मेरो डिएनए (DNA) मै थियो कि जस्तो लाग्छ।

“किनार” तयार गर्न कति समय लाग्यो?

लेख्न त दुई वर्षमै सकिएको थियो, तर प्रकाशित गर्न केही समय लाग्यो।

“किनार” का कथा र यसको कथानकबारे आफ्ना अनुभूति पाठकसामु साट्न चाहनुहुन्छ?

मेरो सङ्गत सधैँ भुइँमान्छेहरूसँगै भयो। भुइँमान्छेहरू जे बोल्छन्, मनैदेखि बोल्छन्। साधारण मानिसहरूसँग मेरो विशेष आकर्षण रहन्छ, किनकि उनीहरू बनावटी जीवन बाँच्दैनन्। उनीहरूको दुःख, पीडा र आँसु मैले नजिकबाट देखेको छु। “किनार” तिनै भुइँमान्छेका भोगाइका कथाहरूको जीवन्त चित्र हो।

कथाका पात्रहरू वास्तविक जीवनबाट प्रभावित छन् कि पूर्णतः काल्पनिक?

“किनार” का पात्रहरूको नाम काल्पनिक भए पनि उनीहरूको भोगाइ वास्तविक हो। प्राविधिक रूपमा पात्रहरूको नाम मात्र परिवर्तन गर्नुपरेको हो। पुस्तकका ७५ प्रतिशत पात्रहरू वास्तविक जीवनबाटै प्रभावित छन्।

सुदूरपश्चिमको भाषा, संस्कृति र जीवनशैलीलाई कथामा समेट्नुको उद्देश्य के थियो?

सुदूरपश्चिम भाषा, साहित्य र संस्कृतिको उर्वर भूमि हो। तर यहाँको साहित्य, गीत र कलाका विविध आयामहरू केन्द्रसम्म पुग्न सकेका छैनन्। सुदूरपश्चिमको जीवनशैली, अभाव र यहाँका मानिसहरूको निर्दोष एवं सोझोपनको वास्तविक तस्बिर उजागर गर्नु नै मेरो मुख्य उद्देश्य हो।

कथाहरूमा देखिएका वर्गीय असमानता र सामाजिक विभेदबारे तपाईंको दृष्टिकोण के छ?

देशमा धेरै राजनीतिक परिवर्तनहरू भए तर हाम्रो समाजमा व्याप्त वर्गीय असमानता र सामाजिक विभेदमा उल्लेख्य परिवर्तन हुन सकेको छैन। रूपमा केही परिवर्तन देखिए पनि सारमा खासै भिन्नता आएको छैन। यसमा सुधार हुनुपर्छ भन्ने आशय “किनार” ले समेटेको छ।

धनगढीमा बसेर लेख्दा राजधानी केन्द्रित साहित्यिक गतिविधिबाट टाढा भएको अनुभूति हुन्छ कि हुँदैन?

अहिले हामी डिजिटल युगमा छौँ। यसले गर्दा राजधानी र मोफसलको दुरी केही हदसम्म त साँघुरिएको छ। तर पनि धनगढीका साहित्यिक गतिविधिहरूलाई मूलधारका सञ्चारमाध्यमहरूले अझै राम्ररी समेट्न सकेका छैनन्।

सुदूरपश्चिमका कथाकारहरूले नेपाली साहित्यमा कस्तो योगदान दिएका छन्?

नेपाली साहित्यमा सुदूरपश्चिमका कथाकारहरूको ठुलो योगदान रहेको छ। यहाँका कथाकृतिहरूले नेपालकै प्रतिष्ठित पुरस्कारहरू मात्र पाएका छैनन्, बरु पाठकहरूले अत्यधिक मन पराएका पनि छन्।

स्थानीय परिवेशलाई राष्ट्रिय साहित्यमा स्थापित गर्न के गर्नुपर्छ जस्तो लाग्छ?

स्थानीय परिवेशलाई राष्ट्रिय साहित्यमा स्थापित गर्न सबैभन्दा पहिले साहित्यको गुणस्तरमा ध्यान दिनुपर्छ। लेखनशैलीमा नवीनता र नयाँ-नयाँ विषयमा साहित्य लेखिनु आवश्यक छ। साथै, उत्पादित कृतिको बजार व्यवस्थापन र सबै ठाउँमा उपलब्धता पनि हुनुपर्छ।

सुदूरपश्चिमको समाजमा कथाका लागि सबैभन्दा शक्तिशाली विषय के लाग्छ?

कुनै एउटा विषय मात्र शक्तिशाली भन्ने हुँदैन। कथाकारले यथार्थको जगमा नयाँ शैलीमा प्रस्तुत गर्न सक्यो भने त्यो विषय आफैँ शक्तिशाली बन्न पुग्छ। तैपनि सुदूरपश्चिमले भोगेका युगीन यथार्थहरूलाई विषयवस्तु बनाउन सकियो भने त्यो निकै बलियो हुन्छ।

कथा लेख्नुअघि तपाईं पात्र बनाउनुहुन्छ कि कथावस्तु?

कथा लेख्नुअघि विशेषतः म कथावस्तुको निर्माण गर्छु र त्यो कथावस्तुसँग मिल्ने पात्रहरूको चयन गर्छु। तर कहिलेकाहीँ कुनै पात्र मात्रले पनि कथावस्तु बोकिदिन्छ। अर्थात् पात्र यति शक्तिशाली भइदिन्छ कि उसैलाई केन्द्रमा राखेर कथा निर्माण हुन्छ।

कुनै कथा लेख्दा सबैभन्दा चुनौतीपूर्ण पक्ष के हुन्छ?

मलाई सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको कथाको अन्त्य लाग्छ। यदि कथा सही तरिकाले टुङ्गिएन भने कथाको समग्र सौन्दर्य नै हराउँछ। अर्को कुरा, कथावस्तु अनुसारका उपयुक्त पात्रहरूको चयन गर्नु पनि त्यत्तिकै चुनौतीपूर्ण कार्य हो।

“किनार” पढेपछि पाठकले के लिएर फर्कून् भन्ने चाहनुहुन्छ?

“किनार” पढेपछि पाठकले कथामा नवीन प्रयोग पाउनेछन्। कथा पढ्दा पाठकहरूलाई कतिपय अवस्थामा कथाका पात्रहरू म आफैँ हुँ कि जस्तो अनुभूति हुनेछ। समग्रमा “किनार” मा पाठकवर्गले समाजको विविध विषयहरू समेटिएको यथार्थ चित्रण भेटाउनेछन्।

पाठकबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?

पाठकको प्रतिक्रिया धेरै नै उत्साहजनक छ। पाठकहरूले सामाजिक सञ्जालमार्फत आफ्ना प्रतिक्रियाहरू दिइरहनुभएको छ। सञ्चारमाध्यमहरूले पनि “किनार” लाई उल्लेख्य स्थान दिएका छन्। विभिन्न साहित्यिक संस्था र विद्यालयहरूले पुस्तकमाथि छलफल चलाइसकेका छन् भने धेरै ठाउँबाट कार्यक्रमहरूको निम्तो आइरहेको छ। पुस्तक प्रकाशन भएको दुई महिनाभित्रै एक हजार थान बिक्री भइसकेको छ। अब हामी छिट्टै दोस्रो संस्करणको तयारीमा छौँ। दिनप्रतिदिन “किनार” को लोकप्रियता बढ्दै गइरहेको छ।

आलोचनालाई कसरी लिनुहुन्छ?

आलोचनालाई म हृदयदेखि नै स्वीकार गर्छु। आलोचनात्मक प्रतिक्रिया दिने पाठकहरू नै असली पाठक हुन्। रचनात्मक आलोचनाले एउटा लेखकलाई सधैँ सही दिशानिर्देश गर्छ।

आगामी दिनमा कथा, उपन्यास वा अन्य विधामा लेख्ने के योजना छ?

अहिले म एउटा उपन्यासमा काम गरिरहेको छु, त्यसैले आगामी दिनमा उपन्यास नै प्रकाशित गर्ने योजनामा छु।

निकट भविष्यमा उपन्यास ल्याउने योजनाबारे केही थप जानकारी दिनुहुन्छ कि?

अहिले नै ठ्याक्कै विषय त भन्न नमिल्ला, तर मेरो आगामी उपन्यास सामाजिक यथार्थको जल्दोबल्दो विषयमा नै आधारित हुनेछ।

लेखक पुष्प राज पाण्डेयलाई सबैभन्दा बढी छुने सामाजिक विषय कुन हो?

गरिबी, अभाव र हिंसा।

अन्त्यमा, पाठकहरूलाई के भन्न चाहनुहुन्छ?

सम्पूर्ण पाठकवर्गलाई “किनार” पढेर आफ्ना अमूल्य प्रतिक्रिया दिनका लागि अनुरोध गर्न चाहन्छु। किनकि जुनसुकै लेखकको अस्तित्व पनि पाठकहरूमा नै निर्भर रहेको हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *