विश्वकपको प्रि-क्वार्टरफाइनल समीकरण पूरा, राउण्ड अफ १६ मा को-को भिड्नेछन् ?

डिसी नेपाल
२० असार २०८३ ११:११

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ का खेलहरू समाप्त भएसँगै प्रि-क्वार्टरफाइनल (राउन्ड अफ १६) को समीकरण पूर्ण रूपमा तयार भएको छ। इतिहासमै पहिलो पटक ४८ टोलीहरू सहभागी गराएर सञ्चालन गरिएको यस विश्वकपको संशोधित संरचनाअनुसार समूह चरण पार गरेर आएका ३२ टोलीबीच ऐतिहासिक नकआउट भिडन्त भएको थियो। जुलाई ३ सम्म चलेको ‘राउन्ड अफ ३२’ को कडा प्रतिस्पर्धाबाट १६ वटा टोलीले प्रतियोगितामा आफ्नो यात्रा सुरक्षित राख्दै ‘राउन्ड अफ १६’ मा स्थान बनाएका छन् भने बाँकी १६ टोली घर फर्किएका छन्।

यस पटकको नकआउट चरणमा साविक विजेता अर्जेन्टिनासहित विश्व फुटबलका पावरहाउसहरू ब्राजिल, फ्रान्स, स्पेन, इङ्गल्याण्ड र पोर्चुगलले आ-आफ्नो खेल जित्दै अघिल्लो चरणको यात्रा तय गरेका छन्। राउन्ड अफ ३२ को खेलमा जर्मनी जस्तो बलियो टोली पराग्वेसँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै बाहिरिनु यस विश्वकपको अहिलेसम्मकै सबैभन्दा ठूलो उलटफेर बन्न पुग्यो। अर्कोतर्फ, पहिलो पटक विश्वकप खेलिरहेको सानो अफ्रिकी मुलुक केप भर्डेले अर्जेन्टिनालाई अतिरिक्त समयसम्म ३–२ को स्कोरमा टक्कर दिँदै विश्वभरका फुटबल प्रेमीहरूको मन जित्न सफल भयो।

असार २० गते (जुलाई ४) देखि सुरु हुने ‘राउन्ड अफ १६’ मा विश्व फुटबलका परम्परागत प्रतिद्वन्द्वीहरूबीच निकै रोचक महाभिडन्तहरू तय भएका छन्। यस चरणको सबैभन्दा प्रतिक्षित खेलहरूमध्ये एकमा पोर्चुगल र स्पेन आमनेसामने हुँदैछन्। त्यस्तै, दक्षिण अमेरिकी महारथी ब्राजिलको सामना युरोपेली टोली नर्वेसँग हुनेछ भने आयोजक संयुक्त राज्य अमेरिकाले बलियो बेल्जियमको चुनौती सामना गर्नेछ। साविक विजेता अर्जेन्टिनाले भने यस चरणमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने समीकरण बनेको छ।

फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ को पूर्ण खेल तालिका (नेपाली समयअनुसार):

  • क्यानडा विरुद्ध मोरक्को: जुलाई ४, राति १०:४५ बजे (ह्युस्टन)

  • पराग्वे विरुद्ध फ्रान्स: जुलाई ५, बिहान २:४५ बजे (फिलाडेल्फिया)

  • ब्राजिल विरुद्ध नर्वे: जुलाई ६, बिहान १:४५ बजे (न्यूयोर्क न्यूजर्सी)

  • मेक्सिको विरुद्ध इङ्गल्याण्ड: जुलाई ६, बिहान ५:४५ बजे (मेक्सिको सिटी)

  • संयुक्त राज्य अमेरिका विरुद्ध बेल्जियम: जुलाई ७, बिहान ५:४५ बजे (सिएटल)

  • अर्जेन्टिना विरुद्ध इजिप्ट: जुलाई ७, राति ९:४५ बजे (एटलान्टा)

  • पोर्चुगल विरुद्ध स्पेन: जुलाई ७, राति १०:४५ बजे (डलास)

  • स्विट्जरल्याण्ड विरुद्ध कोलम्बिया: जुलाई ८, बिहान १:४५ बजे (भ्यानकुभर)

यस चरणमा जित हासिल गर्ने आठ टोलीहरू सिधै क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आगामी जुलाई १९ मा न्यूयोर्क न्यूजर्सीस्थित मेटलाइफ स्टेडियममा खेलाइनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *