विश्वकप २०२६: सह-आयोजक क्यानडालाई स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनलमा
कामाडाैं। सह-आयोजक क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै अफ्रिकी पावरहाउस मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
यो सानदार जितसँगै मोरक्को विश्वकपको इतिहासमा एकभन्दा बढी पटक क्वाटरफाइनल (अन्तिम आठ) मा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्दै नयाँ इतिहास रच्न सफल भएको छ। कडा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा घरेलु टोली क्यानडाले मोरक्कोमाथि निकै दबाब बनाएको थियो।
तर, मोरक्कोका अनुभवी गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए। विशेष गरी क्यानडाका फरवार्ड तानी ओलुवासेयीको प्रहारलाई बोनोले विफल पार्दै पहिलो हाफ गोलरहित बराबरीमा रोक्न मुख्य भूमिका खेले।
पहिलो हाफ दबाबमा बिताए पनि दोस्रो हाफमा मोरक्कोले मैदानमा उत्कृष्ट पुनरागमन गर्यो। खेलको ५० औं मिनेटमा स्टार डिफेन्डर अचरफ हाकिमीको सटिक फ्रिकिक पासमा अजेदिन उनाहीले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै मोरक्कोलाई खेलमा सुरुवाती अग्रता दिलाए।
एक गोलले पछि परेको क्यानडाले खेललाई बराबरीमा ल्याउन आक्रामक प्रयास गरिरहँदा मोरक्कोले त्यसको फाइदा उठायो। खेलको ८२ औं मिनेटमा काउन्टर अट्याकमा ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै उनाहीले व्यक्तिगत दोस्रो गोल गरे र टोलीको जित सुनिश्चित गरे। खेलको इन्जुरी समयको आठौं (९८ औं) मिनेटमा सुफियान राहिमीले अर्को गोल थपेपछि मोरक्कोले ३-० को सानदार र ऐतिहासिक जित पक्का गर्यो।
यस जितसँगै मोरक्कोले विश्वकपमा अफ्रिकी महादेशको तर्फबाट नयाँ कीर्तिमान समेत बनाएको छ। विश्वकपको नकआउट चरणमा कुनै पनि अफ्रिकी देशले हात पारेको कुल ८ जितमध्ये ४ जित मोरक्को एक्लैको नाममा दर्ता भएको छ, जबकि क्यामरुन, सेनेगल, घाना र इजिप्टको नाममा समान १-१ जित मात्र छ।
अर्कोतर्फ, यो पराजयसँगै प्रतियोगिताका तीन सह-आयोजक देश (अमेरिका, मेक्सिको र क्यानडा) मध्ये क्यानडा बाहिरिने पहिलो टोली बनेको छ। फिफा विश्वकप २०२६ को क्वाटरफाइनल समीकरण रोमाञ्चक बन्दै जाँदा अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोले उपाधि दाबेदार फ्रान्सको सामना गर्नेछ।
फ्रान्सले यसअघि नै पाराग्वेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेकाले यी दुई बलिया टोलीबीचको रोमाञ्चक भिडन्त निश्चित भएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment