कंगाेमा इबोलाको भयानक रूप: संक्रमितको संख्यामा १५ सय नाघ्यो, समुदायस्तरमै फैलिँदा नियन्त्रणमा चुनौती

डिसी नेपाल
२१ असार २०८३ १२:०४

एजेन्सी। अफ्रिकी मुलुक ‘डेमोक्रेटिक रिपब्लिक अफ द कंगाे’ मा घातक इबोला भाइरसको पछिल्लो प्रकोप तीव्र गतिमा समुदायस्तरमै फैलिने क्रम जारी रहेको छ।

कंगाेका जनस्वास्थ्य अधिकारीहरूले शनिबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार देशमा कुल सङ्क्रमितको संख्या एक हजार ५२८ पुगेको छ भने यस महामारीका कारण ज्यान गुमाउनेको संख्या ४९२ पुगिसकेको छ। यस तथ्यांकले कंगाेमा इबोलाको संक्रमण नियन्त्रणबाहिर जान लागेको खतरालाई औंल्याएको छ।

स्वास्थ्य मन्त्रालय र स्थानीय अधिकारीहरूका अनुसार हालसम्म संक्रमितमध्ये २३९ जना निको भएर घर फर्किएका छन् भने ६२८ जना बिरामीहरू अझै पनि विभिन्न आइसोलेसन केन्द्र तथा अस्पतालहरूमा उपचाररत रहेका छन्।

यसका साथै समुदायमा अन्य १८५ जना शंकास्पद बिरामीहरूको पहिचान गरिएको र उनीहरूलाई कडा निगरानीमा राखिएको जनाइएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार पछिल्ला साताहरूमा नयाँ संक्रमित थपिने दर निरन्तर बढ्दै गएको छ।

महामारीको गणनाअनुसार २५औं र २६औं सातामा मात्रै प्रत्येक हप्ता ३०० भन्दा बढी नयाँ संक्रमण पुष्टि भएको छ, जसले समुदायस्तरमा भाइरस अझै पनि अत्यधिक सक्रिय रूपमा फैलिरहेको संकेत गर्दछ।

कंगाेमा यो महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूले अनेकौं जटिल चुनौतीहरूको सामना गर्नु परिरहेको छ। विशेष गरी उत्तर किभु क्षेत्रमा रहेका इबोला उपचार केन्द्रहरूको सीमित क्षमता र स्रोतसाधनको अभाव मुख्य समस्याका रूपमा देखिएको छ।

कतिपय दुर्गम क्षेत्रहरूमा मृत्युपश्चात् मृतकको नमूना संकलन गर्न जाँदा स्थानीय समुदायले असहयोग गर्ने गरेका छन्। यसका साथै संक्रमित व्यक्तिको सम्पर्कमा आएका (कन्ट्याक्ट ट्रेसिङ) हरूको प्रभावकारी खोजी गर्न नसकिनु र प्रयोगशाला परीक्षणमा हुने ढिलाइले संक्रमणलाई थप बल पुर्‍याएको छ।

प्रभावित क्षेत्रहरूमा व्याप्त असुरक्षा, औषधि तथा संक्रमण नियन्त्रणसम्बन्धी सामग्रीको चरम अभाव र विकट भौगोलिक अवस्थाका कारण राहत तथा स्वास्थ्य टोलीको सीमित पहुँचले महामारी नियन्त्रणका प्रयासहरू नराम्ररी प्रभावित भएका छन्।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको जानकारीअनुसार कंगाेमा देखा परेको ‘बुन्डिबुग्यो’ भाइरस प्रजातिबाट हुने इबोलाको सम्भावित उपचार खोज्नका लागि क्लिनिकल परीक्षण सुरु गरिएको छ।

यसअघिका अन्य प्रजाति विरुद्ध खोप विकास भए पनि हाल कंगाेमा फैलिएको ‘बुन्डिबुग्यो’ भाइरसका कारण हुने इबोलाका लागि हालसम्म कुनै पनि स्वीकृत खोप वा विशिष्ट औषधि उपलब्ध छैन।

त्यसैले यस क्लिनिकल परीक्षणको प्रभावकारिता मूल्यांकनलाई विश्वभर निकै चासोका साथ हेरिएको छ र यसले आगामी दिनमा महामारी नियन्त्रणमा नयाँ आशा जगाउने विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *