फ्रान्सका कप्तान एमबाप्पेसँग हात नमिलाएपछि पराग्वेका गोलकिपरले पिठ्युँमा बलले हाने
काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ अन्तर्गत फ्रान्स र पराग्वेबीचको खेल सकिएलगत्तै मैदानमा एक अप्रत्याशित र विवादित दृश्य देखिएको छ। खेल सकिएपछि परम्परागत रूपमा खेलाडीहरूले एकापसमा हात मिलाउने क्रममा फ्रान्सका कप्तान किलियन एमबाप्पेले पराग्वेका गोलकिपर ओर्लान्डो गिलसँग हात नमिलाएपछि विवाद उत्पन्न भएको हो।
एमबाप्पेको यस व्यवहारबाट आक्रोशित बनेका गोलकिपर गिलले उनको पिठ्युँमा बलले हिर्काएका छन्। अत्यन्तै तनावपूर्ण र शारीरिक रूपमा आक्रामक खेलमा फ्रान्सले पराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो। खेल अवधिभर पराग्वेका खेलाडीहरूको कडा ट्याकल र फलको सामना गरेका एमबाप्पेले अन्तिम सिट्टी बजेपछि विजयको उत्सव मनाइरहेका थिए।
सोही समयमा पराग्वेका २६ वर्षीय गोलकिपर गिल उनीसँग हात मिलाउन अघि बढेका थिए। तर, एमबाप्पेले उनलाई पूर्ण रूपमा बेवास्ता गर्दै अघि बढेपछि आक्रोशित बनेका गिलले हातमा रहेको म्याच बल एमबाप्पेको पिठ्युँमा प्रहार गरे। एमबाप्पेले भने यस घटनामा कुनै उग्र प्रतिक्रिया नजनाई आफ्नो उत्सव जारी राखेका थिए।
घटनाको केही समयपछि गोलकिपर ओर्लान्डो गिलले आफूले आवेगमा आएर त्यसो गरेको स्वीकार्दै माफी मागेका छन्। खेलपछिको प्रतिक्रियामा गिलले भने, “मैले खेल भावना दर्साउन उनीसँग हात मिलाउन खोजेको थिएँ, तर उनले म त्यहाँ भए जस्तै व्यवहार गरेनन्। खेल हार्नुको पीडा र रिसको झोँकमा मैले आत्मनियन्त्रण गुमाएँ, तर पछि म शान्त भइसकेको थिएँ।”
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले पराग्वेले खेल जित्नका लागि मैदानमा ‘हरेक हत्कण्डा’ अपनाएको र खेल निकै कठिन भएको बताए। यसअघि खेलको ७०औं मिनेटमा डेसिरे डोउमाथि डी-बक्सभित्र फल भएपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा फ्रान्सले पेनाल्टी प्राप्त गरेको थियो।
उक्त पेनाल्टीलाई एमबाप्पेले सजिलै गोलमा परिणत गर्दै टोलीलाई जित दिलाए। यो गोलसँगै एमबाप्पे यस विश्वकपमा ७ गोल गर्दै लियोनेल मेस्सीसँगै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा उक्लिएका छन्। साथै, विश्वकप करियरमा उनको कुल गोल संख्या १९ पुगेको छ। पराग्वेलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा पुगेको फ्रान्सले अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोको सामना गर्नेछ।






डिसी नेपाल





Facebook Comment