मनसुन सुस्त हुँदा देशभर धान रोपाइँ प्रभावित, सुदूरपश्चिममा सबैभन्दा बढी प्रगति

डिसी नेपाल
२१ असार २०८३ १२:३०

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ मा मनसुन ढिलो गरी सक्रिय हुनुका साथै पर्याप्त मात्रामा वर्षा हुन नसक्दा देशभर धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार असार १९ गतेसम्म देशभर कुल धान खेती हुने क्षेत्रफलको २४.९ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। नेपालभर कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा हालसम्म ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा मात्र रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।

प्रदेशगत रूपमा हेर्दा यस वर्ष सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी प्रगति देखिएको छ। सुदूरपश्चिमको कुल १ लाख ५४ हजार ९५० हेक्टर धान खेती हुने क्षेत्रमध्ये ८९ हजार ७४२ हेक्टर अर्थात् ५७.९२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ।

यसैगरी गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ३५ हजार ८८१.४ हेक्टर अर्थात् ३८.३३ प्रतिशत र बागमती प्रदेशमा १ लाख १४ हजार ५२४.४ हेक्टरमध्ये ३८ हजार २६.१७ हेक्टर अर्थात् ३३.२१ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ।

यता कर्णाली प्रदेशमा कुल ४३ हजार २९० हेक्टरमध्ये १२ हजार १८५ हेक्टर अर्थात् २८.१५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये २०.८० प्रतिशत अर्थात् ६२ हजार ६७०.८७ हेक्टरमा मात्र रोपाइँ हुन सकेको छ।

देशका प्रमुख अन्न भण्डार मानिने मधेश र कोशी प्रदेशमा भने यस पटक रोपाइँको रफ्तार निकै कमजोर देखिएको छ। मधेश प्रदेशको कुल ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये ६० हजार ३४६.०६ हेक्टर अर्थात् १५.६४ प्रतिशत क्षेत्रमा मात्र धान रोपिएको छ।

त्यस्तै, कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६.७३ हेक्टर धान खेती हुने क्षेत्रफल रहेकामा हालसम्म ४२ हजार ३५७.९६ हेक्टर अर्थात् १५.३३ प्रतिशत भूभागमा मात्र रोपाइँ सम्पन्न भएको कृषि, वन तथा पर्यावरण मन्त्रालयको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *