बाढीले डाइभर्सन बगाएपछि बिपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध

डिसी नेपाल
२१ असार २०८३ १८:२६

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोलामा बाढी आउँदा बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। बाढीले सडकको अस्थायी डाइभर्सन बगाएपछि आइतबार अपराह्न ३ बजेदेखि सवारी आवागमन बन्द गरिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार ठूलो वर्षासँगै रोशी र दाप्चा खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो। राजमार्गको चौकीडाँडा र घुमाउने खण्डमा सडक बगेर क्षति पुगेकाले तत्कालका लागि सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ आउँदै गरेका र पूर्वतर्फ जाँदै गरेका सवारी साधनहरू बीचमै रोकिएका छन्। प्रहरीले काभ्रेपलाञ्चोकतर्फ काभ्रेभञ्ज्याङ र मंगलटार तथा सिन्धुलीतर्फ नेपालथोकमा सवारी साधनहरूलाई होल्ड गरेको जनाएको छ।

सडकको अवस्था सामान्य नभएसम्म र डाइभर्सन पुनर्निर्माण नभएसम्म सवारी साधन सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *