अस्ट्रेलियाले इंग्ल्यान्डलाई हराउँदै सातौँ पटक महिला टी–२० विश्वकप जित्यो
लन्डन।अस्ट्रेलियाले प्रतिष्ठित आईसीसी महिला टी-२० विश्वकपको उपाधि सातौँ पटक आफ्नो नाममा लेखाएको छ। आइतबार राति लन्डनको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा भएको फाइनल खेलमा चिर प्रतिद्वन्द्वी इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधि जितेको हो। अस्ट्रेलियाले इंग्ल्यान्डले दिएको १५१ रनको विजयी लक्ष्य १७.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
टस जितेर पहिले बलिङ गर्ने अस्ट्रेलियाको निर्णय निकै प्रभावकारी सावित भयो। अस्ट्रेलियाली बलरहरूले कसिलो बलिङ गर्दै इंग्ल्यान्डको ब्याटिङ लाइनअपलाई २० ओभरमा ४ विकेटको क्षतिमा १५० रनमा सीमित राखे। इंग्ल्यान्डका लागि कप्तान नेट साइभर-ब्रन्टले ५३ बलमा ५८ रनको महत्वपूर्ण इनिङ्स खेलिन् भने फ्रेया केम्पले ४४ र एलिस क्याप्सीले २३ रनको योगदान दिइन्। अस्ट्रेलियाका लागि कप्तान सोफी मोलिनक्स, किम गार्थ, लुसी ह्यामिल्टन र एनाबेल सदरल्यान्डले समान एक-एक विकेट लिए।
१५१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको सुरुवात निकै सानदार रह्यो। टोलीको जितमा बेथ मुनी र फोबे लिचफिल्डले निर्णायक भूमिका खेले। मुनीले ४९ बलमा १० चौकाको मद्दतले ६४ रन बनाइन् भने लिचफिल्डले ३५ बलमा ४८ रनको योगदान दिइन्। यी दुईको उत्कृष्ट साझेदारीले अस्ट्रेलियाको जितको आधार तय गरेको थियो। खेलको अन्त्यतिर टोलीले १७.१ ओभरमा लक्ष्य भेट्टाउँदै सातौँ पटक विश्व विजेताको ट्रफी उचाल्न सफल भयो।
महिला टी-२० विश्वकपको इतिहासमा अस्ट्रेलियाको यो दबदबा कायम नै रहेको छ। प्रतियोगितामा आफ्नो निरन्तर उत्कृष्ट प्रदर्शनका कारण अस्ट्रेलियाले महिला क्रिकेटको विश्व मञ्चमा फेरि एकपटक आफूलाई सर्वोत्कृष्ट साबित गरेको छ।






डिसी नेपाल





Facebook Comment