टर्कीको ‘टाइफुन ब्लक-३’ मिसाइल: समुद्रमा तैरिरहेको जहाजलाई ध्वस्त पार्ने पहिलो एन्टि-शिप ब्यालिस्टिक मिसाइल सफल
काठमाडौँ । टर्कीको अग्रणी रक्षा निर्माता कम्पनी ‘रोकेत्सान’ ले विकास गरेको टाइफुन ब्लक-३ ब्यालिस्टिक मिसाइलले कालो सागरमा गरिएको परीक्षणका क्रममा समुद्रमा तैरिरहेको एक मानवरहित जहाजलाई सफलतापूर्वक ध्वस्त पारेको छ। यो टर्कीको इतिहासमा पहिलो पटक ब्यालिस्टिक मिसाइलमा ‘सीकर हेड’ (निसाना पछ्याउने अत्याधुनिक प्रविधि) जडान गरी गरिएको सफल परीक्षण हो।
टर्कीको प्रेसिडेन्सी अफ डिफेन्स इन्डस्ट्रिजका अनुसार यो सफलतासँगै टर्की विश्वका ती सीमित राष्ट्रहरूको सूचीमा परेको छ, जससँग गइरहेका समुद्री जहाजहरूलाई प्रहार गर्न सक्ने ‘एन्टि-शिप ब्यालिस्टिक मिसाइल’ क्षमता रहेको छ। नेटो सम्बद्ध देशहरूमध्ये टर्की यस्तो क्षमता प्रदर्शन गर्ने पहिलो राष्ट्र बनेको छ।
हाइपरसोनिक गति (आवाजको गतिभन्दा ५ गुणा वा सोभन्दा बढी) मा उडेको यो मिसाइलले समुद्रमा तीव्र गतिमा गइरहेको लगभग ७ मिटर लामो सानो डुङ्गा आकारको मानवरहित जहाजलाई ‘सर्जिकल प्रिसिजन’का साथ सिधै प्रहार गरी पूर्ण रूपमा नष्ट गर्यो।
परम्परागत ब्यालिस्टिक मिसाइलहरूले जमिनमा रहेका निश्चित (स्थिर) स्थानलाई मात्र निसाना बनाउन सक्छन्। तर, ब्लक-३ मा जडान गरिएको उन्नत सीकर हेडले उडानको अन्तिम चरण मा दिशा परिवर्तन गरिरहेको गतिशील निसाना वा जहाजलाई आफैँ पहिचान गरी पछ्याउन र प्रहार गर्न सक्छ।
रोकेत्सानका अनुसार यो मिसाइल प्रणालीमा उच्च इलेक्ट्रोनिक वारफेयर प्रतिरोध क्षमता रहेको छ, जसले गर्दा शत्रु पक्षको जीपीएस ज्यामिङ वा अन्य बाधा पुर्याउने प्रविधिले यसको निसानालाई भ्रमित पार्न सक्दैनन्। यसले जुनसुकै मौसममा दिन वा रात दुवै समयमा प्रभावकारी रूपमा काम गर्न सक्छ।
टर्कीले ‘टाइफुन’ मिसाइल शृङ्खलालाई गोप्य रूपमा विकास गरिरहेको थियो, जसको पहिलो परीक्षण सन् २०२२ मा सार्वजनिक भएको थियो। यसको दायरा लगभग ५०० देखि ८०० किलोमिटरसम्म रहेको अनुमान गरिएको छ।
यसअघि सेनाको इन्भेन्टरीमा सामेल गरिएको ‘ब्लक-२’ भर्सनले जमिनका स्थिर रणनीतिक अखडाहरूलाई मात्र निशाना बनाउन सक्थ्यो। तर, यो नयाँ ‘ब्लक-३’ भर्सनले समुद्री युद्धको रणनीतिलाई पूर्ण रूपमा बदल्ने क्षमता राख्छ। यसले ठूला युद्धपोतहरूका विरुद्ध टर्कीको प्रतिरक्षा शक्तिलाई कडा बनाएको छ।
टर्कीले यसअघि नै १० मिटर लामो र ७ टन तौल भएको अझ बढी घातक र लामो दुरीको टाइफुन ब्लक-४ को समेत खाका अनावरण गरिसकेको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको मिसाइल क्षमतालाई १,००० देखि २,००० किलोमिटरको दायरासम्म पुर्याउने लक्ष्य राखेको संकेत दिएका छन्।
यो पछिल्लो सफल परीक्षणले पूर्वी भूमध्यसागर, पश्चिम एसिया र काला सागर क्षेत्रमा टर्कीको रणनीतिक सैन्य दबदबा लाई अझ बलियो बनाएको रक्षा विश्लेषकहरूले बताएका छन्।






डिसी नेपाल





Facebook Comment