विदेश भ्रमणमा गएका फ्रान्सका राष्ट्रपति बसेको होटल नजिकै विष्फोट
काठमाडौँ । सिरियाको राजधानी दमास्कसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ को औपचारिक भ्रमणकै क्रममा उनी बसेको होटल नजिकै दुईवटा शक्तिशाली बम विस्फोट भएका छन्। सिरियामा बसर अल-असदको सत्ता पतन भई अहमद अल-शाराको नेतृत्वमा नयाँ सरकार गठन भएपछि सिरिया भ्रमण गर्ने म्याक्रोँ युरोपेली सङ्घका पहिलो प्रमुख नेता हुन्।
विस्फोट दमास्कसको केन्द्रभागमा अवस्थित ‘फोर सिजन्स’ होटल नजिकै पर्यटन मन्त्रालय र राष्ट्रिय सङ्ग्रहालयको बीचमा भएको थियो। फ्रान्सेली राष्ट्रपति म्याक्रोँ त्यही होटलमा नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गरिरहेका थिए ।
सिरियाली सञ्चारमाध्यमका अनुसार यी विस्फोटहरूमा परी चार प्रहरी अधिकारीसहित कम्तीमा १८ जना घाइते भएका छन्। पहिलो विस्फोट राष्ट्रपति म्याक्रोँको सवारी लस्कर राष्ट्रपती भवनतर्फ प्रस्थान गरेलगत्तै सडकको फोहोर फाल्ने भाँडोमा भएको थियो भने दोस्रो विस्फोट त्यहाँ उद्धारका लागि आइपुगेको एम्बुलेन्स नजिकै भएको थियो।
फ्रान्सेली राष्ट्रपतिको कार्यालय ‘एलिसी प्यालेस’ ले घटनाको पुष्टि गर्दै राष्ट्रपति म्याक्रोँ पूर्ण रूपमा सुरक्षित रहेको र उनको सवारी टोलीले विस्फोटको आवाज समेत नसुनेको जनाएको छ।
विस्फोटका बाबजुद राष्ट्रपति म्याक्रोँले सिरियाली राष्ट्रपति अहमद अल-शारासँग पूर्वनिर्धारित भेटवार्ता गरेका छन् । म्याक्रोँले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, “कुनै पनि कुराले सिरियाली नागरिकहरूको सार्वभौम, सुरक्षित र एकताबद्ध देशमा बाँच्ने चाहनालाई दबाउन सक्दैन, मेरो भ्रमण जारी रहनेछ।”
विस्फोटलगत्तै सिरियाली आन्तरिक सुरक्षा बलले दमास्कसका मुख्य सडकहरू सिल गरेर उच्च सुरक्षा सतर्कता अपनाएको छ। अहिलेसम्म कुनै पनि आतङ्ककारी वा सशस्त्र समूहले यस आक्रमणको जिम्मेवारी लिएका छैनन्।
सुरक्षा अधिकारीहरूले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेका छन्। गत हप्ता मात्रै दमास्कसकै एक क्याफेमा भएको बम विस्फोटमा ९ जनाको मृत्यु भएको थियो, जसको पछाडि ‘इस्लामिक स्टेट’ को हात रहेको आशङ्का गरिएको थियो।






डिसी नेपाल





Facebook Comment