मुस्ताङमा लेक लागेर एक वर्षमा १० भारतीयसहित १६ जनाको मृत्यु: उच्च उचाइका कारण जोखिम बढ्दो

डिसी नेपाल
२६ असार २०८३ १३:१७

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को एक वर्षको अवधिमा लेक लागेर १० जना भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ।

प्रदेश अस्पताल जोमसोमका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म मुस्ताङ भ्रमणमा आएका पर्यटकमध्ये १० जना भारतीय, ५ जना नेपाली र १ जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’ का कारण ज्यान गएको हो।

मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार गत भदौ र असोजमा एक–एक, कात्तिकमा तीन, मङ्सिरमा दुई, चैतमा दोई, वैशाखमा चार र जेठ महिनामा तीन जनाको लेक लागेर मृत्यु भएको थियो।

हाईअल्टिच्युडका कारण ज्यान गुमाउनेहरूमा ५० वर्षदेखि ८४ वर्ष उमेर समूहका पर्यटक तथा तीर्थयात्री रहेका छन्। गत आर्थिक वर्ष २०८१/०८२ मा भने लेक लागेर ९ जनाको मृत्यु भएको थियो, जसमा ५ जना भारतीय, ३ जना नेपाली र १ जना अमेरिकी नागरिक थिए।

मुस्ताङ पुग्ने पर्यटक तथा तीर्थयात्रीहरूले स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा यो मानवीय क्षति हुन पुगेको हो।

देश तथा विदेशका समथर भूभागबाट एक्कासि हिमाली जिल्लामा यात्रा गर्दा अक्सिजनको मात्रा कम भई लेक लाग्ने समस्या देखिने गरेको डा. कँडेलले बताए।

विशेषगरी शारीरिक रूपले अशक्त, ज्येष्ठ नागरिक र दीर्घरोगका कारण नियमित औषधि सेवन गरिरहेका पर्यटकहरूमा हाईअल्टिच्युडको जोखिम उच्च रहने गरेको छ।

पर्यटकहरूलाई तल्लो क्षेत्रमा केही समय होल्ड गराउँदै बिस्तारै उचाइतर्फ लैजानुपर्नेमा सिधै मुक्तिनाथ पुर्‍याइँदा लेक लाग्ने जोखिम अझ बढेको पाइएको छ। यस सम्बन्धमा यातायात व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एजेन्सीहरूले पर्यटकलाई समयमै सचेत गराउनुपर्ने आवश्यकता अस्पतालले औँल्याएको छ।

जोखिम न्यूनीकरणका लागि एक्याप, प्रदेश स्वास्थ्य कार्यालय, अस्पताल, स्थानीय निकाय, मुक्तिनाथ विकास समिति र सुरक्षा निकायले म्याग्दी र मुस्ताङको सीमानाका घाँसादेखि लेते, खन्ती, मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ लगायतका स्थानमा सचेतनामूलक होर्डिङ बोर्ड र पर्चा पम्प्लेट वितरण गर्ने कार्य गर्दै आएका छन्।

यसका साथै पर्यटकको स्वास्थ्य रक्षाका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमा हाईअल्टिच्युड उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएका छन्।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार हाल मुक्तिनाथ मन्दिरमा अक्सिजनको व्यवस्थासहित दुई जना हेल्थ असिस्टेन्ट चौबीसै घण्टा परिचालित भइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *