बेल्जियमको ‘स्वर्णिम पुस्ता’ को सुखद अन्त्यबिना बिदाइ
काठमाडौँ । जारी सन् २०२६ को फिफा विश्वकपले फुटबल इतिहासमा थुप्रै अविस्मरणीय कथाहरू लेखिरहेको छ। केप भर्डे जस्तो टोली पहिलोपटक नकआउट चरणमा पुग्नु र ब्राजिललाई स्तब्ध पार्दै नर्वेले क्वार्टरफाइनलको यात्रा तय गर्नु यसैका उदाहरण हुन्। तर, यसै विश्वकपले विगत एक दशकयता विश्व फुटबलमा राज गरेको सबैभन्दा शक्तिशाली टोलीमध्येको एक- बेल्जियमको एउटा सुनौलो कालखण्डलाई सधैँका लागि बन्द गरिदिएको छ।
मुख्य प्रशिक्षक रुडी गर्सियाको नेतृत्वमा रहेको बेल्जियम टोली यसपटक क्वार्टरफाइनलमा स्पेनसँग पराजित हुँदै बाहिरिएको छ। स्पेनका मिकेल मेरिनोको एक उत्कृष्ट गोल बेल्जियमलाई प्रतियोगिताबाट बाहिर राख्न पर्याप्त बन्यो।
यो पराजयसँगै इतिहास रच्ने उद्देश्यका साथ अघि बढेको खेलाडीहरूको एउटा उत्कृष्ट समूहको सुखद अन्त्य गर्ने सपना अधुरै रहन गयो। विगत १२ वर्षदेखि ठूला प्रतियोगिताको मुख्य दाबेदार मानिएका इडेन हाजार्ड, भिन्सेन्ट कोम्पनी र केभिन डे ब्रुइन जस्ता विश्वस्तरीय फुटबलरहरू कुनै पनि ठूलो अन्तर्राष्ट्रिय उपाधि नजिती राष्ट्रिय टोलीबाट बिदा हुने मोडमा पुगेका छन्।
सन् २०१४ को विश्वकपबाट बेल्जियमको यो सुनौलो यात्रा सुरु भएको थियो, जसले सम्पूर्ण देशवासीमा नयाँ आशा जगाएको थियो। सन् २००२ पछि, अर्थात् १२ वर्षको लामो प्रतीक्षा समाप्त गर्दै बेल्जियमले विश्वकपमा पुनरागमन गरेको थियो। त्यतिबेला टोलीमा मरुवान फेलाइनी, भिन्सेन्ट कोम्पनी, एक्सेल विटसेल र ड्रिस मर्टेन्स जस्ता स्थापित खेलाडीहरू थिए भने थिबाउट कोर्टुइस, केभिन डे ब्रुइन, रोमेलु लुकाकु र इडेन हाजार्ड जस्ता युवा प्रतिभाहरू भर्खरै उदाउँदै थिए।
ब्राजिलमा आयोजित उक्त २०१४ को विश्वकपले विश्व फुटबल मञ्चमा एउटा नयाँ शक्तिको उदय भएको सन्देश दियो। समूह चरणमा अपराजित रहँदै शीर्ष स्थान हासिल गरेको बेल्जियमले अन्तिम १६ मा अमेरिकालाई पराजित गर्यो। तर, क्वार्टरफाइनलमा उपविजेता बनेको अर्जेन्टिनासँग पराजित हुँदै टोली बाहिरियो। यहीँबाट बेल्जियमप्रति विश्वको अपेक्षा आकाशियो, जुन अपेक्षाहरू पछि कहिल्यै पूर्ण रूपमा यथार्थमा बदलिन सकेनन्।
त्यसपछिको पहिलो ठूलो धक्का सन् २०१६ को युरो कपमा लाग्यो। विश्वकपको सानदार प्रदर्शनका कारण बेल्जियमलाई उपाधिको बलियो दाबेदार मानिएको थियो। तर, क्वार्टरफाइनलमा वेल्ससँग अप्रत्याशित रूपमा पराजित भएपछि उसको यात्रा टुङ्गियो। समूह चरण सहजै पार गर्दै अन्तिम १६ मा हङ्गेरीलाई ध्वस्त पारेको बेल्जियमको सपनालाई ग्यारेथ बेलको नेतृत्वमा रहेको वेल्सले चकनाचुर पारिदिएको थियो।
यति हुँदाहुँदै पनि टोलीप्रतिको भरोसा डगमगाएको थिएन र सन् २०१८ को रुस विश्वकपमा फुटबल वृत्तमा एउटै नारा गुञ्जियो— “बेल्जियमसँग सावधान”। स्पेनी प्रशिक्षक रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको यो टोलीका अधिकांश खेलाडीहरू युरोपका शीर्ष क्लबहरूमा स्थापित भइसकेका थिए र टोली उपाधि जित्ने सबैभन्दा बलियो उम्मेदवार थियो।
रुस विश्वकपमा इङ्गल्याण्ड सम्मिलित समूहमा अपराजित रहँदै बेल्जियम नकआउट चरणमा प्रवेश गर्यो। अन्तिम १६ मा सङ्घर्षपूर्ण खेलमा जापानलाई पाखा लगाएपछि बेल्जियमले आफ्नो इतिहासकै सबैभन्दा ठूलो जित दर्ता गर्यो- क्वार्टरफाइनलमा नेयमारको नेतृत्वमा रहेको बलियो ब्राजिललाई २–१ ले पराजित गर्दै बेल्जियम सन् १९८६ को मेक्सिको विश्वकपपछि पहिलोपटक सेमिफाइनलमा पुग्न सफल भयो। तर, सेमिफाइनलको अग्निपरीक्षामा एन्टोइन ग्रिजम्यान र युवा किलियन एम्बाप्पे सम्मिलित फ्रान्सेली टोलीसँग पराजित भएपछि बेल्जियम फाइनल पुग्नबाट चुक्यो। यही नतिजा नै बेल्जियमको ‘स्वर्णिम पुस्ता’ को ओरालो यात्राको सुरुवात बन्न पुग्यो।
युरो कप २०२० मा पनि बेल्जियमले पुरानै नियति भोग्नुपर्यो। समूह चरणका तीनवटै खेल जितेर र अन्तिम १६ मा साविक विजेता पोर्चुगललाई पाखा लगाए पनि क्वार्टरफाइनलमा इटलीसँग पराजित हुँदै टोली बाहिरियो।
बिस्तारै बेल्जियमको टोलीमा समयको प्रभाव देखिन थाल्यो। भिन्सेन्ट कोम्पनी र फेलाइनीले संन्यास लिए भने टोलीका मेरुदण्ड मानिएका हाजार्ड, टोबी एल्डरवेइरेल्ड र जान भर्टोन्घेन जस्ता खेलाडीहरूको खेल स्तर खस्किन थाल्यो।
परिणामस्वरुप, सन् २०२२ को कतार विश्वकपमा मोरोक्को, क्रोएसिया र क्यानडा रहेको समूह चरणबाटै बेल्जियम बाहिरिन पुग्यो। त्यसपछि प्रशिक्षक रोबर्टो मार्टिनेजले पद छोडे र नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोको नेतृत्वमा मैदान उत्रिएको बेल्जियम युरो २०२४ को अन्तिम १६ मा पुनः फ्रान्ससँगै पराजित भयो।
यसपटक स्पेनविरुद्धको खेलमा रुडी गर्सियाको टोलीले फेरि एकपटक विश्वकपको सेमिफाइनलमा पुग्ने आशा जगाएको थियो। खेलको लामो समयसम्म बेल्जियमले स्पेनलाई कडा टक्कर दिए पनि अन्तिम समयमा लागेको चोटले उसलाई पुनः रित्तो हात फर्किन बाध्य बनायो।
यस पराजयसँगै बेल्जियम फुटबलको एउटा यस्तो सुनौलो युगको अन्त्य भएको छ, जसले विश्वलाई अनगिन्ती उत्कृष्ट खेलहरू र ऐतिहासिक खेलाडीहरू दियो तर ट्रफी क्याबिनेटमा कुनै उपाधि थप्न सकेन। सन् २०१८ को विश्वकपमा हात पारेको तेस्रो स्थान नै यो पुस्ताको इतिहासमा सबैभन्दा ठूलो उपलब्धि भएर रहनेछ, तर जुन स्वर्ण पदकका लागि यो पुस्ता हकदार मानिन्थ्यो, त्यो कहिल्यै प्राप्त हुन सकेन।
कोर्टुवा, डे ब्रुइन र लुकाकु जस्ता खेलाडीहरूका लागि सन् २०३० को विश्वकपमा अन्तिम मौका हुन सक्छ, तर त्यतिबेलासम्म उनीहरू उमेरको चालीसौँ वर्षको नजिक पुग्नेछन्। त्यसैले आगामी दिनमा उनीहरूको उपस्थिति आफैँमा एउटा आश्चर्य हुनेछ।
तर, अब जे भए पनि, विगत एक दशकभन्दा बढी समयसम्म बेल्जियमले जुन ‘फेभरेट’ (उपाधिको हकदार) टोलीको साख कमाएको थियो, त्यो साख र चमक पुनः फर्काउनु अब असम्भव जस्तै देखिन्छ।






डिसी नेपाल





Facebook Comment