७० लाखको हीराको औँठी निलेका पेशेवर चोरले बान्ता गरेर फिर्ता गरे
काठमाडौं । कुनै हलिउडको क्राइम-थ्रिलर चलचित्रको दृश्यजस्तै लाग्ने एउटा अचम्मको आपराधिक घटना लन्डनको प्रसिद्ध ‘ह्याटन गार्डन’ मा घटेको छ। पक्राउ पर्ने डरले एउटा शातिर चोरले बहुमूल्य प्रमाण नै निलेको यो घटनाले लन्डन प्रहरी र आम सर्वसाधारणलाई चकित बनाएको छ भने सुनचाँदी व्यवसायीहरूका लागि एउटा ठूलो पाठसमेत सिकाएको छ।
चोरी भएको उक्त औँठी कुनै साधारण गहना नभई ३५ हजार पाउन्ड (करिब ७० लाख नेपाली रुपैयाँ बराबर) मूल्यको प्लाटिनमको औँठी थियो। जसमा एउटा ठूलो र महँगो ‘प्रिन्सेस-कट’ हीराका साथै अन्य थुप्रै साना हीराहरू जडान गरिएका थिए। यति ठूलो र तिखो कुना भएको औँठीलाई विना पानी सिधै निल्नु स्वास्थ्यका दृष्टिकोणले निकै प्राणघातक र जोखिमपूर्ण मानिन्छ। तर, चोरी गर्ने उद्देश्यले आएका ती व्यक्तिले ज्वेलर्सको आँखा छलेर उक्त औँठी निलेका थिए।
औँठी गायब भएलगत्तै ती आरोपीले आफूलाई निर्दोष प्रमाणित गर्न पसलभित्रै ‘भिक्टिम कार्ड’ को प्रयोग गर्दै नाटक सुरु गरेका थिए। उनले पसलेसँग आफैँ आक्रोशित हुँदै आफ्नो गोजीसमेत जाँच गर्न प्रस्ताव गरे, ताकि पसलेहरूको ध्यान अन्तै भटकोस् र आफू सहजै उम्किन सकियोस्। तर, ज्वेलरी पसलका सञ्चालकहरूको सूझबूझ र पसलमा जडान गरिएको सीसीटीभी क्यामेराका कारण उनको त्यो चलाखी धेरै बेर टिक्न सकेन। फुटेजमा उनले औँठी मुखमा हालेर निलेको दृश्य प्रस्ट रूपमा कैद भइसकेको थियो।
आफू रङ्गेहात समातिएको र पुलिस बोलाउने तयारी भइरहेको थाहा पाएपछि ती चोरको सातो गयो। कानुनी फन्दा र जेल सजायबाट बच्न अन्ततः उनले आफ्नै गलामा औँला घुसाएर जबर्जस्ती उल्टी गरे र उक्त बहुमूल्य औँठी पसलका सञ्चालकहरूलाई बुझाउन बाध्य भए।
पसलका मालिक जुनैद हसनका अनुसार ती व्यक्ति कुनै सिकारु नभई पेशेवर अपराधी थिए। समातिएको खण्डमा बचाउनका लागि उनको मोबाइलमा पहिलेदेखि नै एकजना साथीको नम्बर ‘ब्याकअप’ का रूपमा तयार राखिएको थियो, जसले पसलेसँग माफी मागेर कुरा मिलाउन सकोस्।
ज्वेलरी सञ्चालक हसनले एक सामान्य मानिसले विना पानी एउटा सानो सिटामोलको गोलीसमेत निल्न गाह्रो मान्ने अवस्थामा, यति ठूलो र धारिलो हीराको औँठी निल्नु कुनै पेशेवर र क्रूर अपराधीले मात्र गर्न सक्ने दाबी गरे। हाल यो घटना सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ भने यसले विश्वभरका ज्वेलर्सहरूलाई यस्ता ‘हाई-टेक’ र खतरनाक चोरहरूबाट सतर्क रहन बलियो चेतावनी दिएको छ।






डिसी नेपाल





Facebook Comment