गृहमन्त्री भन्छन्- एक रुपैयाँ घुस खाएको थाहा पाए आफैँ एक्सनमा उत्रिन्छु
गोरखा । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ अपनाउने भन्दै मातहतका कर्मचारीहरूलाई कडा चेतावनी दिएका छन्।
शुक्रबार साँझ गोरखास्थित जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूसँगको भेटमा गृहमन्त्री गुरुङले एक रुपैयाँ घुस खाएको थाहा पाए पनि आफू स्वयं कारबाहीका लागि मैदानमा उत्रिने बताए।
‘मेरो मातहतको देशभरिको कुनै पनि कर्मचारीले एक रुपैयाँ वा एक सुका मात्रै घुस खाएको थाहा पाएँ भने म आफैं एक्सनमा उत्रिन्छु,’ उनले भने।
बिचौलियामार्फत काम मिलाउने वा नागरिकता जस्ता सेवाका काममा घुस माग्ने काम आफ्नो कानमा पर्नासाथ व्यक्तिगत रूपमा एक्सन लिने चेतावनी दिँदै उनले अहिलेका नागरिकहरू निकै सचेत भइसकेकाले कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिए।
उनले आफूलाई सुशासन कायम गर्नकै लागि जनताले जिताएर पठाएको स्मरण गराउँदै कर्मचारीको इज्जत जोगाउने जिम्मा आफ्नो भए पनि त्यसका लागि कर्मचारीहरूले इमानदारिता प्रदर्शन गर्नुपर्ने बताए।
सो अवसरमा गृहमन्त्री गुरुङले जनताको सेवा नै आफ्नो मुख्य कर्तव्य रहेको बताउँदै कर्मचारीहरूलाई जनतासँग मिठो बोली र राम्रो व्यवहार गर्न निर्देशन दिए।
‘तपाईंहरू जनताको सेवा गर्नुस्, जनतालाई पर्ने गाह्रो-अप्ठ्यारो सल्ट्याउने जिम्मा मेरो हो,’ उनले भने। उनले कुनै पनि ठाउँमा काम गर्दा समस्या वा ‘ग्याप’ देखिए आफूलाई जानकारी दिन आग्रह गर्दै सकारात्मक सन्देशको सुरुवात आफ्नै गृहजिल्लाबाट गर्नुपर्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment