‘पाथीभरा माता’ भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने समिर थापा पक्राउ

डिसी नेपाल
१४ साउन २०८३ ८:१२

रौतहट । सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको तथा धार्मिक आस्थामा आँच पुग्ने सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ निवासी २४ वर्षीय समिर थापा रहेका छन्। उनले सामाजिक सञ्जालमा आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार थापाले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममार्फत आम नागरिकमा भ्रम सिर्जना हुने, धार्मिक आस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा सामाजिक सद्भाव खल्बलिने प्रकृतिका भिडियो र तस्बिरहरू सार्वजनिक गरेका थिए।

प्रहरीका अनुसार उक्त सामग्री सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिन थालेपछि अनुसन्धान अघि बढाइएको थियो। त्यसक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले बुधबार राति करिब ८ः३० बजे वीरेन्द्रनगरबाट थापालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका थापामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। उनीमाथि हिरासतमा राखेर घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिए।

प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा धार्मिक संवेदनशीलता, सामाजिक सद्भाव र कानुनी व्यवस्थाको सम्मान गर्न सबैलाई आग्रह गर्दै यस्ता गतिविधिमाथि कडाइका साथ निगरानी जारी रहने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *