‘मिसेस ग्राण्ड इन्टरनेशनल-२०२६’: नेपालको प्रतिनिधित्व गर्दै प्रतिक्षा थापा म्यान्मार प्रस्थान

डिसी नेपाल
२० साउन २०८३ १३:१८

काठमाडौं। प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्राण्ड इन्टरनेशनल-२०२६’ मा नेपालको प्रतिनिधित्व गर्न ‘मिसेस ग्राण्ड इन्टरनेशनल नेपाल–२०२६’ प्रतिक्षा थापा बुधवार म्यान्मारतर्फ प्रस्थान गरेकी छन्। आगामी बिहीबार आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट म्यान्मार उडेकी हुन्।

म्यान्मार प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रतिक्षाले विश्वका विभिन्न देशका विवाहित महिलाहरूको सहभागिता रहने यस मञ्चमा नेपालको मौलिक संस्कृति, परम्परा, सौन्दर्य, आत्मविश्वास र महिला सशक्तिकरणको सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरिन्। प्रतियोगितामा सहभागी हुन उनीसँगै मिसेस ग्राण्ड इन्टरनेशनल नेपालकी नेशनल डाइरेक्टर ओशिमा बानु पनि म्यान्मार प्रस्थान गरेकी छन्।

आयोजक संस्थाका अनुसार प्रतिक्षाले प्रतियोगिताका लागि लामो समयदेखि विशेष तयारी गरेकी छन्। उनले रनवे वाक, व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, फिटनेस, स्टाइलिङ, फोटोसुट तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न तालिमहरू पूरा गरिसकेकी छन्। उनी पूर्ण आत्मविश्वासका साथ नेपालको प्रतिनिधित्व गर्न तयार रहेको आयोजकको भनाइ छ।

थापाले आफूलाई केवल एक प्रतियोगीका रूपमा मात्र नभई नेपाली महिलाको साहस, क्षमता, आत्मविश्वास र दृढ संकल्पको प्रतिनिधिको रूपमा प्रस्तुत गर्ने बताएकी छन्। प्रतियोगिताका क्रममा नेपालको राष्ट्रिय झण्डा, कला, संस्कृति र नेपाली महिलाको प्रतिभालाई विश्वसामु गर्वका साथ प्रस्तुत गर्ने उनको तयारी छ।

उमेरभन्दा पनि आत्मविश्वास, मेहनत र निरन्तरको प्रयास नै सफलताको मुख्य आधार हो भन्ने सन्देश दिँदै उनको यो सहभागिताले अन्तर्राष्ट्रिय सौन्दर्य मञ्चमा नेपालको उपस्थितिलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्षाको म्यान्मार यात्राको अवसरमा उनका परिवार, शुभेच्छुक, ‘हाउस अफ फेसन नेपाल’ पेजेन्ट समुदायका सदस्यहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले सफलताको शुभकामना व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शनमार्फत देशको प्रतिष्ठा अभिवृद्धि गर्ने विश्वासका साथ उनलाई सर्वत्र शुभकामना दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *