‘हिमालयन चितुवा’ अविरल घिमिरे जापानमा फ्रान्सेली बक्सरविरुद्ध रिङमा उत्रिँदै
काठमाडौँ। नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ जापानमा आयोजना हुने अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।
जापानको करिया सहरमा यही भदौ २० गते आयोजना हुने ‘हिट किक बक्सिङ–५९ अन्तरराष्ट्रिय प्रतियोगिता’मा घिमिरेले फ्रान्सका बक्सर माथन स्वीनार्डसँग प्रतिस्पर्धा गर्नेछन्। उनी अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का) को वल्र्ड मेन इभेन्टअन्तर्गत हुने उक्त भिडन्तमा रिङमा उत्रिन लागेका हुन्।
‘हिमालयन चितुवा’का रूपमा परिचित घिमिरेले यसअघि हिट किक बक्सिङमा चारपटक टाइटल डिफेन्स गरिसकेका छन्। उनले चारपटक हिट किक बक्सिङ टाइटल म्याच तथा अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसनको टाइटल म्याचमा सफलता हासिल गरेका छन्। त्यस्तै, केवान क्रस १७५ र १८२ का दुईवटा टाइटल म्याचसमेत आफ्नो नाममा पार्न उनी सफल भएका छन्।
घिमिरेले हालसम्म २८ भन्दा बढी अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। तीमध्ये २० प्रतियोगितामा उनले जित हासिल गरेका छन्। अन्तरराष्ट्रिय किक बक्सिङको प्रतिस्पर्धात्मक यात्रामा लगातार सफलता हासिल गर्दै उनले नेपाली खेलकुदलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
आफ्नो अदम्य साहस, उत्कृष्ट प्रदर्शन र आत्मविश्वासका कारण घिमिरे नेपाली किक बक्सिङका चर्चित खेलाडीका रूपमा स्थापित भएका छन्। अन्तरराष्ट्रिय रिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले आगामी प्रतियोगितामा पनि जितका लागि आफूलाई तयार पारेका छन्।
नेपालको प्रतिनिधित्व गर्दै जापानमा रिङमा उत्रिन लागेका घिमिरेको आगामी भिडन्तलाई नेपाली खेलप्रेमीले चासोका साथ हेरेका छन्। फ्रान्सेली बक्सर स्वीनार्डविरुद्धको प्रतिस्पर्धामा ‘हिमालयन चितुवा’ले आफ्नो अन्तरराष्ट्रिय सफलताको यात्रालाई थप मजबुत बनाउने लक्ष्य राखेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment