दोस्रो खेलमा पनि नेपालको कसिलो बलिङ, मलेसिया १०३ रनमै अलआउट
काठमाडौँ। एसीसी पुरुष प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा पनि नेपालले उत्कृष्ट बलिङ प्रदर्शन जारी राखेको छ। नेपालको घातक बलिङसामु निरिह बनेको आयोजक मलेसिया ३२.३ ओभरमा मात्र १०३ रनमा समेटिएको छ।
मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजक टोलीलाई सस्तैमा समेट्न नेपालका बलरहरूले पहिलो खेलको लयलाई निरन्तरता दिएका हुन्। मलेसियाका लागि सायेद अजिजले सर्वाधिक ३० रन र अकिल वाहिदले २४ रन जोडे पनि अन्य ब्याटरहरूले नेपाली बलरसामु टिकेर खेल्न सकेनन्।
नेपालका लागि मध्यम गतिमा बलिङ गर्दै करण केसीले उत्कृष्ट प्रदर्शन गरे। उनले ७.३ ओभरमा २ मेडन राख्दै मात्र २३ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै, स्पिनर ललित राजवंशीले ६ ओभरमा १९ रन दिएर २ विकेट हात पारे भने सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले १-१ विकेट लिँदै मलेसियाली ब्याटिङ लाइनअप ध्वस्त पारे।
यसअघि प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले बहराइनविरुद्ध यस्तै सानदार र कसिलो बलिङको नमूना पेस गरेको थियो। पहिलो खेलमा नेपालले बहराइनलाई ३६.२ ओभरमा मात्र ८७ रनमा अलआउट गरेको थियो।
उक्त खेलमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४ मेडनसहित मात्र १४ रन खर्चेर ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए भने करण केसीले २ र ललित राजवंशीले ३ विकेट लिएका थिए। बहराइनले दिएको ८८ रनको सहज लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै पहिलो जित दर्ता गरेको थियो।
लगातार दोस्रो खेलमा पनि प्रतिपक्षी टोलीलाई कम योगफलमै रोक्न सफल भएपछि नेपालले प्रतियोगितामा आफ्नो बलियो पकड बनाउँदै लगातार दोस्रो जिततर्फ कदम बढाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment