इरानमा अमेरिकी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, १४२ जना घाइते

डिसी नेपाल
१८ भदौ २०८३ ११:५२

काठमाडौं । इरानको स्वास्थ्य मन्त्रालयका जनसम्पर्क निर्देशक हुसेन करमानपुरले मङ्गलबार भएका अमेरिकी हवाई आक्रमणमा परी मृत्यु तथा घाइते हुनेहरूको नयाँ आँकडा सार्वजनिक गरेका छन्।

बीबीसी फारसी सेवाका अनुसार करमानपुरले यी आक्रमणहरूमा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको र घाइतेको सङ्ख्या १४२ पुगेको जानकारी दिएका छन्।

मृतकहरूमा एक बालक र दुई महिला समावेश छन्। घाइते हुनेहरूमा ६१ जना महिला र १८ वर्षमुनिका ४४ जना बालबालिका तथा किशोरकिशोरी रहेका छन्।

अमेरिकाले केही हप्ताको अन्तरपछि इरानमाथि पुनः आक्रमण सुरु गरेको हो। बुधबार इरानको सिरिकमा एक विवाह समारोहमा भएको आक्रमणमा सुरुमा चार जनाको मृत्यु भएको खबर आएको थियो।

इरानी रेड क्रिसेन्टले सिरिकमा विवाह समारोह चलिरहेको एक घरमा अमेरिकी मिसाइलका टुक्राहरू खस्दा चार जनाको मृत्यु भएको जनाएको थियो।

अमेरिकी सैन्य आक्रमणको प्रतिवाद गर्दै इरानले जोर्डन, कुवेत, इराक र बहराइनमा रहेका अमेरिकी सैन्य अख्डाहरूमा मिसाइल तथा ड्रोन प्रहार गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *