बाढी प्रभावितलाई निःशुल्क आकस्मिक उपचारसहित स्वास्थ्य सेवा उपलब्ध गराउँदै नेपाल मेडिसिटी

डिसी नेपाल
१९ भदौ २०८३ १०:१०

ललितपुर। रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले नेपाल मेडिसिटी अस्पतालले विशेष राहत तथा स्वास्थ्य सहयोग अभियान सञ्चालन गर्ने भएको छ।

स्ट्यान्डिङ विथ नेपाल मानवीय अभियानअन्तर्गत नेपाल मेडिसिटीले मेडिकल पार्टनरका रूपमा Lions International MD 325 Nepal, Khalsa Aid International र Sood Charity Foundation सँग सहकार्य गर्दै प्रभावित परिवारहरूलाई आवश्यक राहत तथा स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो।

यस अभियानसम्बन्धी आयोजित पत्रकार सम्मेलनमा प्रख्यात भारतीय अभिनेता तथा मानवतावादी व्यक्तित्व सोनु सूदको पनि सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै सूदले विपद्को समयमा प्रभावित समुदायको सहयोगका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

नेपालका बाढी प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै उहाँले समयमै राहत, सहयोग र मानवीय साथ पुर्‍याउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

नेपाल मेडिसिटीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावित परिवारहरूका लागि आवश्यक राहत तथा स्वास्थ्य सामग्री संकलन गरिरहेको छ, जसमा अस्पतालका कर्मचारीहरूसमेत सक्रिय रूपमा जुटेका छन्।

सहयोगका लागि चिकित्सा तथा स्वास्थ्य सामग्री, खाद्यान्न, अत्यावश्यक वस्तु, लत्ताकपडा, सरसफाइका सामग्री र दैनिक प्रयोगका सामानहरू संकलन भइरहेको छ।

अस्पतालले प्रभावित क्षेत्रमै पुगेर ‘मेडिकल रिलिफ क्याम्प’ (स्वास्थ्य शिविर) सञ्चालन गर्ने तयारीसमेत गरेको छ। सो शिविरमार्फत प्रभावितहरूलाई स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिनेछ।

पत्रकार सम्मेलनमा नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. अमित तोमरले अस्पताल र सम्पूर्ण कर्मचारीहरू प्रभावित समुदायको सहयोगका लागि प्रतिबद्ध रहेको बताए।

उनले कठिन परिस्थितिमा समुदायलाई केवल सहानुभूति मात्र नभई वास्तविक सहयोग आवश्यक पर्ने उल्लेख गर्दै अस्पतालको जिम्मेवारी चार पर्खालभित्र मात्र सीमित नभएको स्पष्ट पारे।

बाढीबाट प्रभावित व्यक्तिहरूलाई आवश्यक निःशुल्क आकस्मिक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल मेडिसिटी पूर्ण रूपमा प्रतिबद्ध रहेको र यस कठिन परिस्थितिमा स्वास्थ्य सेवाका लागि अस्पतालका ढोकाहरू खुला रहने उनीहरूले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *