अविरल वर्षा र पहिरोले पृथ्वी, बिपी र पासाङल्हामुसहित प्रमुख राजमार्ग अवरुद्ध
काठमाडौं।अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यका तथा बागमती प्रदेश जोड्ने प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले पछिल्लो सडक अवस्थाबारे जानकारी दिँदै अत्यावश्यक कामबाहेक यात्रा नगर्न र लामो दूरीमा निस्कनुअघि सम्बन्धित जिल्लाको प्रहरी वा ट्राफिक कन्ट्रोलरुममा सम्पर्क गरेर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा खसेको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा ठप्प बनेको छ।
सोही राजमार्गको गजुरी गाउँपालिका-२ स्थित परेवा भीरमा साना सवारीसाधन एक लेनबाट मात्र सञ्चालन भइरहेका छन् भने जवाङखोला र कमेरेभीर क्षेत्रमा पनि एकतर्फी रूपमा मात्र यातायात चलेको छ।
काठमाडौं जोड्ने अर्को मुख्य मार्ग बिपी राजमार्गको काभ्रे खण्डमा बाढीको उच्च जोखिमलाई ध्यानमा राखेर सवारी सञ्चालनमा समयसीमा तोकिएको छ।
महाशाखाका अनुसार १० टनसम्मका मालवाहक सवारीसाधनलाई साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न दिइने र दिउँसोको समयमा सडकको अवस्था हेरेर मात्र अनुमति दिइनेछ।
हिमाली जिल्ला रसुवा जोड्ने त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकअन्तर्गत उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीले सडक बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। रसुवाका अन्य मुख्य सडकमार्गहरूसमेत अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएका छन्।
यस्तै नुवाकोटतर्फ जाने टोखा-छहरे सडकखण्डको घट्टेखोलामा पहिरोको उच्च जोखिम रहेकाले राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
सिमटारस्थित पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ। काठमाडौं प्रवेश गर्ने चन्द्रागिरि नगरपालिका-२ स्थित चिसापानीमा खसेको पहिरो हटाइएकाले काठमाडौं-धादिङ सडकखण्ड भने हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
प्रहरीले अवरुद्ध बनेका विभिन्न राजमार्ग तथा सडक खण्डहरू छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन डोजर तथा प्राविधिक टोली निरन्तर खटाइएको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment