मानसिक असन्तुलन कि योजनाबद्ध हत्या? लिन्से क्लान्सीको मुद्दामा जुरीबीच मतभेद
बीबीसी। अअमेरिकालाई तरङ्गित बनाएको लिन्से क्लान्सीको हत्या मुद्दासम्बन्धी फैसलाका लागि गरिएको विचार-विमर्शको छैटौँ दिन तनावपूर्ण बनेपछि न्यायाधीशले जुरी (न्यायनिर्णायक टोली) लाई पुन: सर्वसम्मत निर्णयमा पुग्ने प्रयास जारी राख्न निर्देशन दिएका छन्।
जुरी प्रमुखले न्यायाधीशलाई एउटा नोट पठाउँदै एक जना जुरी सदस्यले शङ्काको सुविधा सम्बन्धी कानुनी निर्देशन पालना नगरेको बताएपछि अदालतमा तनाव उत्पन्न भएको थियो।
बचाउ पक्षका वकिलले ती जुरी सदस्यलाई टोलीबाट हटाउन माग गर्दा इजलासमा उपस्थित मानिसहरू स्तब्ध भएका थिए। तर, न्यायाधीशले उक्त माग अस्वीकार गरिदिए।
३६ वर्षीया क्लान्सीमाथि २४ जनवरी २०२३ मा म्यासाचुसेट्सस्थित आफ्नै घरमा तीन सन्तान— पाँच वर्षीया कोरा, तीन वर्षका डसन र आठ महिनाका क्यालनको हत्या गरेको अभियोगमा ‘फस्ट-डिग्री मर्डर’ का तीनवटा मुद्दा दायर गरिएको छ।
(चेतावनी: यस लेखमा विचलित बनाउने विवरणहरू समावेश छन्)
पूर्व सुत्केरी तथा बाल हेरचाह नर्स समेत रहेकी क्लान्सीले आफ्ना दुई छोरा र एक छोरीको घरको तल्लो तलामा घाँटी थिचेर हत्या गरेको कुरालाई अस्वीकार गरेकी छैनन्।
तर, उनका वकिलले क्लान्सी त्यस समयमा ‘पोस्टपार्टम साइकोसिस’ (प्रसवपछिको मानसिक असन्तुलन) बाट पीडित रहेको र सही तथा गलतबीचको फरक छुट्ट्याउन नसक्ने अवस्थामा रहेको तर्क प्रस्तुत गरेका छन्।
झन्डै छ हप्ता लामो अदालती बहसपछि प्लाइमाउथस्थित नौ महिला र तीन पुरुष सम्मिलित १२ सदस्यीय जुरी टोलीले कुनै निष्कर्षमा नपुगी करिब ३५ घण्टाभन्दा बढी समय विचार-विमर्श गरिसकेको छ।
उक्त टोलीले यसअघि दुई पटक सर्वसम्मत निर्णयमा पुग्न नसकेको भन्दै न्यायाधीशलाई पत्र पठाइसकेको थियो। तर बिहीबारको घटनाले विचार-विमर्श कक्षमा विवाद उत्पन्न भएको स्पष्ट सङ्केत दिएको छ।
क्लान्सीका वकिल केभिन रेडिङ्टनले जुरी प्रमुखले न्यायाधीश विलियम सुलिभानलाई अर्को नोट पठाएर एक जना जुरी सदस्यले शङ्काको सुविधासम्बन्धी कानुन सुन्न अस्वीकार गरेको गुनासो गरेको बताए।
त्यसपछि रेडिङ्टन र सरकारी वकील जेनिफर स्प्रेगबीच अदालतमा न्यायाधीशसँग तीव्र छलफल भएको थियो।
इजलासमा रहेका पत्रकारहरूले उनीहरूबीचको कुराकानी सुन्न नपाए पनि क्लान्सीका वकिलका अनुहारका अभिव्यक्ति र इसाराहरू निकै तनावपूर्ण देखिन्थे।
त्यसपछि रेडिङ्टनले ह्विलचेयरमा रहेकी आफ्नै सेवाग्राही क्लान्सीलाई परिस्थिति स्पष्ट पारेका थिए। आफ्ना बालबालिकाको हत्या गरेपछि दोस्रो तलाको झ्यालबाट फालहाल्दा क्लान्सीको कम्मरभन्दा मुनिको भाग पक्षाघात (Paralysed) भएको छ।
लगत्तै न्यायाधीश सुलिभानले जुरीका प्रत्येक सदस्यलाई व्यक्तिगत रूपमा बोलाएर सोधपुछ गरे।
उनले अभियुक्तलाई दोषी ठहर गर्नका लागि कुनै पनि शङ्का रहनु नहुने र त्यो निर्णय सर्वसम्मत हुनुपर्ने कानुनी व्यवस्था जुरी टोलीलाई पुन: स्मरण गराए। जुरी सदस्यहरू पालैपालो आउँदा केहीले क्लान्सीतर्फ हेरेका थिए भने केहीले हेरेनन्।
जब बचाउ पक्षका वकिलले ती जुरी सदस्यलाई हटाउने आफ्नो मागबारे अदालतलाई जानकारी गराए, तब इजलासमा अविश्वासको वातावरण बनेको थियो।
न्यायाधीश सुलिभानले भने ती असन्तुष्ट जुरी सदस्यलाई टोलीमै राख्न सकिने र छलफल जारी रहने निर्णय सुनाए।
“विचार-विमर्शका क्रममा कुनै एक पक्षको समर्थन गर्नु मेरो लागि उचित होइन,” न्यायाधीशले भने।
सरकारी वकील स्प्रेगले पनि जुरीलाई न्यायाधीशले दिएको निर्देशन उपयुक्त रहेको बताइन्।
“उनीहरूबीच के छलफल भइरहेको छ, को सही छ वा को गलत छ भनेर निर्धारण गर्ने कुनै उपाय छैन र हामीले त्यसो गर्ने प्रयास पनि गर्नु हुँदैन,” उनले भनिन्।
सञ्चारकर्मीहरू इजलासबाट बाहिरिँदै गर्दा क्लान्सीले टाउको झुकाएकी थिइन्।
वकिल रेडिङ्टनले आफ्नी सेवाग्राहीलाई अङ्कमाल गर्दै र ढाड सुम्सुम्याउँदै सान्त्वना दिइरहेको दृश्य देखिएको थियो।
बचाउ पक्षका वकिलले पत्रकारहरूसँग कुरा गर्दै जुरी प्रमुखको पत्रमा एक जना सदस्यले “शङ्काको सुविधासम्बन्धी कानुन मान्न अस्वीकार गरेको” उल्लेख रहेको बताए।
उनले न्यायाधीश समक्ष “कानुनी निर्देशन मान्न अस्वीकार गर्ने जुरी सदस्यलाई हटाउने प्रस्ताव” राखेको जानकारी दिए।
यद्यपि, ती एक्ला जुरी सदस्यले के सोचिरहेका छन् भन्नेबारे आफूलाई कुनै जानकारी नरहेको र ११-१ को विभाजन भएको कुरा पुष्टि गर्न नसकिने उनले बताए।
जुरी सदस्यसँग जोडिएको यो विवादमा शुक्रबार बिहान ९:०० बजे (EST) अदालत पुन: बस्दा छलफल हुने अपेक्षा गरिएको छ।
यदि जुरी कुनै पनि निष्कर्षमा पुग्न नसकेमा र न्यायाधीश सुलिभानले यसलाई ‘मिस्ट्रायल’ (रद्द भएको मुद्दा) घोषणा गरेमा, सरकारी वकीलहरूले मुद्दा पुन: चलाउने वा नचलाउने निर्णय गर्नुपर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment