बुद्ध एयरको नयाँ एटीआर ७२–६०० बाट व्यावसायिक उडान सुरु, सस्तो भाडादर कायमै

डिसी नेपाल
१९ भदौ २०८३ १४:३६

काठमाडौं। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो नयाँ सिरिजको ‘एटीआर ७२–६००’ जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ।

शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ‘९एन–एओएस’ कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रु बोकेर काठमाडौँबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो। गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट ल्याइएको यो जहाज आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरी सेवामा उतारिएको कम्पनीले जनाएको छ।

पूर्ण ग्लास ककपिट, डिजिटल फ्लाइट म्यानेजमेन्ट र आधुनिक नेभिगेसन प्रणालीले सुसज्जित यस जहाजमा ‘आरएनपी–एआर’ प्रविधि जडान गरिएकाले कम भिजिबिलिटीको अवस्थामा पनि सुरक्षित उडान र अवतरण गर्न सहज हुनेछ। वातावरणीय दृष्टिकोणले कम इन्धन खपत गर्ने र कम ध्वनि प्रदूषण गर्ने यस जहाजमा पुराना सिरिजका तुलनामा यात्रु सिट र ओभरहेड बिन फराकिला छन्।

हाल बुद्ध एयरसँग १४ वटा एटीआर–७२–५०० र १ वटा एटीआर–७२–६०० गरी कुल १५ वटा जहाज सञ्चालनमा छन्। कम्पनीले निकट भविष्यमै थप एक एटीआर–७२–६०० जहाज भित्र्याउने तयारी गरेको छ। बुद्ध एयरले दैनिक १४० भन्दा बढी आन्तरिक उडानका साथै भारतको वाराणसी र कोलकातामा समेत नियमित अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।

चाडपर्वसम्म सस्तो भाडादर र निःशुल्क राहत ढुवानी

यसैबीच, गत भदौ १० गते रसुवालगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण राजमार्गहरू अवरुद्ध भएपछि कम्पनीले दशैँ, तिहार र छठपर्वसम्म न्यूनतम तथा सस्तो भाडादरमै उडान सञ्चालन गर्ने निर्णय गरेको छ।

बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले प्राकृतिक विपत्तिका बेला हवाई सेवामार्फत यात्रुलाई सहज विकल्प दिनु कम्पनीको दायित्व भएको बताउँदै नाफा–घाटाभन्दा नागरिकको सेवालाई प्राथमिकता दिइएको बताए।

पछिल्लो सात महिनामा हवाई इन्धनको मूल्य ९६ प्रतिशतले बढेर प्रतिलिटर २४९ रुपैयाँ पुग्दा पनि कम्पनीले आर्थिक भार आफैँ बेहोरेर काठमाडौँ–भैरहवाको भाडादर १४ प्रतिशत मात्र बढाएर ६ हजार ५ सय रुपैयाँ कायम राखेको छ। साथै, बाढीपहिरो प्रभावित क्षेत्रका लागि कम्पनीले देशका विभिन्न जिल्लाबाट हालसम्म ७ हजार ३ सय २२ केजी राहत सामग्री निःशुल्क ढुवानी गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *