नेपालले भोगेको क्षतिमा ४४ देशको ऐक्यबद्धता, हानि-नोक्सानी न्यायाधिकरण गठनको माग

डिसी नेपाल
१९ भदौ २०८३ १४:४१

काठमाडौं। अति कम विकसित मुलुकहरूको समूहले नेपालमा हालै जलवायु परिवर्तनका कारण हिमनदी र चट्टान खसेर आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएको छ

इस्ट टिमोरको डिलीमा आयोजित एलडीसी समूहका मन्त्रीस्तरीय बैठकपछि जारी ३ सेप्टेम्बर २०२६ को संयुक्त घोषणापत्रमा नेपालको सो प्राकृतिक विपद्को उल्लेख गर्दै जलवायु संकटका कारण साना तथा जोखिमयुक्त देशहरूले अप्रत्याशित क्षति भोग्नुपरेको औंल्याइएको छ

घोषणापत्रमा जलवायु परिवर्तनमा नगण्य योगदान रहेका अति कम विकसित मुलुकहरू नै यसको प्रत्यक्ष र भयानक मारमा परिरहेको भन्दै विकसित तथा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूसँग विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न तत्काल उत्सर्जन कटौती गर्न माग गरिएको छ

साथै, पेरिस सम्झौता अनुरूप अल्पविकसित देशहरूलाई अनुकूलन, प्रविधि हस्तान्तरण तथा जलवायु वित्तमा प्रत्यक्ष र सहज पहुँच उपलब्ध गराउन आग्रह गरिएको छ

जलवायुजन्य विपद्का कारण एलडीसी राष्ट्रहरूमा भइरहेको ठूलो हानि र नोक्सानीको भरपाईका लागि एउटा छुट्टै ‘नोक्सानी तथा क्षति न्यायाधिकरण’  स्थापनाको सम्भावनावारे अध्ययन गर्न कानुनी विज्ञहरूको टोली गठन गर्नेसमेत घोषणापत्रमा उल्लेख छ

विश्वव्यापी रूपमा ऋणको बोझ र महँगो पूँजीका कारण संकटमा परेका साना राष्ट्रहरूलाई जलवायु वित्तलाई अनुदानका रूपमा बढाउनुपर्ने र सन् २०३५ सम्ममा वार्षिक कम्तीमा १.३ ट्रिलियन अमेरिकी डलर बराबरको वित्तीय सहायता परिचालन हुनुपर्नेमा मन्त्रीस्तरीय बैठकले जोड दिएको छ

सम्मेलनमा सहभागी ४४ अल्पविकसित देशका प्रतिनिधिहरूले जलवायु न्याय, विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरेका छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *