राहत सामग्री कुहिने, जनता भोकै बस्नुपर्ने अवस्था किन? : एमाले प्रचार प्रमुख निरज आचार्य
काठमाडौं। नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण कार्य अत्यन्तै भद्रगोल भएको भन्दै सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्।
नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री थन्किएर कुहिने अवस्था आउनुले राज्यको विपद् व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको उनले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ को प्रभावकारितामाथि प्रश्न उठाएका छन्। स्थानीय तह र प्रदेश सरकारप्रतिको अविश्वासका कारण सरकारले राहत वितरणको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई सुम्पेको हो कि भन्दै उनले जिज्ञासा व्यक्त गरेका छन्।
विपद्का बेला सेनालाई उद्धार तथा ज्यान बचाउने काममा मात्रै केन्द्रित गराउनुपर्नेमा राहत बाँढ्न लगाउनु व्यावहारिक नभएको उनको तर्क छ। “नेपाली सेनाको मुख्य काम विपद्मा परेकाको ज्यान बचाउने हो कि चामल बाँड्ने?” आचार्यले प्रश्न गरेका छन्।
सेनालाई प्राथमिकताका साथ उद्धार कार्यमा खटाएर राहत वितरणका लागि नागरिक समाज, स्थानीय तह र प्रदेश सरकारको समन्वयमा छुट्टै टोली परिचालन गर्न सकिने आचार्यको सुझाव छ। यस्तो व्यवस्थित प्रणाली बनाउन सके राहत सामग्री गोदाममै कुहिने र बाढीपीडित नागरिक भोकै बस्नुपर्ने नियति अन्त्य हुने उनले उल्लेख गरेका छन्।
विपद् व्यवस्थापनमा राज्यका विभिन्न निकायहरूलाई स्पष्ट जिम्मेवारी नदिँदा र संस्थागत प्रणाली निर्माण गर्न नसक्दा हरेकपटक यस्तै समस्या दोहोरिने गरेको बताउँदै उनले लेखेका छन्, “सबैलाई आ-आफ्नो जिम्मेवारी नदिने र बलियो सिस्टम नबनाउने हो भने हामीले सधैँ यस्तै नियति भोगिरहनुपर्नेछ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment