एसिसी प्रिमियर कप: लगातार तेस्रो जितको खोजीमा नेपाल, आज साउदी अरेबियासँग भिड्दै
काठमाडौं। एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत समूह चरणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियाको सामना गर्दैछ। मलेसियाको वायुमास ओभरलमा जारी प्रतियोगितामा नेपाल र साउदीबीचको यो प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान ७:१५ बजेदेखि सुरु भएको छ।
प्रतियोगितामा सुखद सुरुआत गरेको नेपाली टोली लगातार तेस्रो जित दर्ता गर्दै सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। यसअघि खेलिएका आफ्ना पहिलो दुई खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बहराइनलाई सात विकेट र आयोजक मलेसियालाई छ विकेटले पराजित गरेको थियो।
दुई खेलबाट चार अंक जोडेको समूह ‘ए’ को नेपाल तालिकाको दोस्रो स्थानमा छ। अर्कोतर्फ, तीन खेलमध्ये दुईमा हार र एकमा जित निकालेको साउदी अरेबिया दुई अंकका साथ समूहको पुछारतर्फ छ।
नेपाल र साउदी अरेबियाबीच यसअघि भएका दुई आमनेसामनेमा नेपालले एक खेलमा जित दर्ता गरेको थियो भने अर्को खेल वर्षाका कारण रद्द भएको थियो। ऐतिहासिक तथ्यांक र वर्तमान लयका आधारमा नेपाल साउदीभन्दा बलियो स्थितिमा देखिएको छ।
कुल १० टोली सहभागी यस प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।
समूह चरणको अन्तिम खेलमा नेपालले भदौ २३ गते चिरपरिचित प्रतिस्पर्धी हङकङको सामना गर्नेछ। ५० ओभरको ढाँचामा हङकङविरुद्ध नेपालको कीर्तिमान मिश्रित छ, जहाँ चार भिडन्तमा नेपालले एक जित र दुई हार व्यहोरेको छ।
दुवै समूहका शीर्ष दुई-दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् भने प्रतियोगिताको विजेता टोलीले सन् २०२७ मा आयोजना हुने एसिया कपमा सिधै छनोट हुने सुनौलो अवसर पाउनेछ। नेपाली टोली यही मुख्य लक्ष्यसहित मलेसिया पुगेको हो।
सेमिफाइनल यात्रा सहज बनाउन नेपालका लागि आजको खेल जित्नु अनिवार्य मानिएको छ; अन्यथा अन्तिम खेलको नतिजा र रनरेटको जटिल गणितमा निर्भर हुनुपर्ने जोखिम रहन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment