जिउँदो मान्छेको फोटो पैसामा छाप्न नपाइने कानुन छल्दै अमेरिकी डलरमा ट्रम्पको फोटो छापियो

डिसी नेपाल
२१ भदौ २०८३ १२:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अब एक डलरको सिक्कामा देखिने भएको छ। अमेरिकी निकायहरूमा आफ्नो प्रभाव वा छाप छाड्ने ट्रम्पको यो पछिल्लो प्रयास हो।

बुधबार अमेरिकी मिन्ट (टक्सार) ले एक डलरको सिक्का सार्वजनिक गरेको छ। यसमा ट्रम्पको तस्बिरका साथै ‘लिबर्टी’ (स्वतन्त्रता) र ‘इन गड वी ट्रस्ट’ (हामी ईश्वरमाथि विश्वास गर्छौँ) कोरिएको छ।

यो सिक्का अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको हो।

मुद्रा छाप्ने अमेरिकी मिन्टले यी सिक्काहरूलाई दैनिक कारोबार वा प्रयोगका लागि नल्याइएको, बरु सङ्कलन (कलेक्सन) का लागि बिक्री भइरहेको जनाएको छ।

कानुनले जीवित व्यक्तिहरूको फोटो अमेरिकी मुद्रामा छाप्न रोक लगाउँछ।

बिक्रीका लागि बनाइएका २५ वटा सिक्काको एक रोलको मूल्य ६१ डलर र १०० वटा सिक्काको एक ब्यागको मूल्य १५४.५० डलर राखिएको छ।

बिक्री सुरु भएको केही घण्टामै मिन्टको वेबसाइटमा यी सिक्काहरू ‘आउट अफ स्टक’ (सकिएको) देखिन थालेका थिए। यद्यपि, वेबसाइटमा थप सिक्काहरू बनाइँदै गरिएको उल्लेख छ।

यी सिक्काहरू वासिङ्टन डिसीस्थित अमेरिकी मिन्टका आउटलेटमा राखिएका भेन्डिङ मेसिनहरूमार्फत पनि बिक्री भइरहेका थिए।

बीबीसीले थप जानकारीका लागि अमेरिकी मिन्ट, अमेरिकी अर्थ मन्त्रालय र ह्वाइट हाउससँग सम्पर्क गरेको छ।

अमेरिकी मिन्टले यो सिक्का देशको यस ऐतिहासिक उपलब्धिलाई मनाउनका लागि बनाइएको बताएको छ।

उसले यो वार्षिकोत्सवका लागि तयार पारिएको डिजाइन भएको र यसले आधुनिक सिक्काहरूको सङ्ग्रहमा खास स्थान बनाउने जनाएको छ।

यी सिक्काहरूको रङ सुनौलो छ, तर यिनमा असली सुन भने छैन। अमेरिकी मिन्टका अनुसार यिनमा ८८.५ प्रतिशत तामा छ। बाँकी भाग जिंक, निकेल र म्याङ्गनिज ब्रासको बाहिरी तहबाट बनेको छ।

यी सिक्काहरू सर्वसाधारणको नियमित चलनचल्तीमा नरहे पनि यिनबाट ऋण र कर तिर्न सकिन्छ, किनभने यी कानुनी मुद्रा (लीगल टेन्डर) हुन्।

तर सङ्घीय कानुन अनुसार व्यापारीहरूले यी सिक्का स्वीकार गर्ने वा नगर्ने निर्णय आफैँ गर्न सक्छन्।

गत मे महिनामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो मन्त्रालयले राष्ट्रपति ट्रम्पको तस्बिर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने योजना बनाइरहेको बताएका थिए।

त्यतिबेला बेसेन्टले यसअघि पनि एक जना जीवित अमेरिकी राष्ट्रपति देशको मुद्रामा देखा परिसकेको जानकारी दिएका थिए।

अमेरिकाको १५०औँ वार्षिकोत्सवका अवसरमा सन् १९२६ मा जारी गरिएको आधा डलरको सिक्कामा तत्कालीन राष्ट्रपति क्याल्भिन कुलिजको तस्बिर अंकित थियो।

ट्रम्प प्रशासनले सन् २०२० को ‘सर्कुलेटिङ कलेक्टिबल क्वाइन रिडिजाइन एक्ट’ को समेत हवाला दिएको छ। यो कानुन ट्रम्पको पहिलो कार्यकालमा बनेको थियो।

यस कानुनले सिक्काको पछिल्लो भागमा जीवित व्यक्तिहरूको तस्बिर राख्न रोक लगाउँछ। तर यसमा सिक्काको अघिल्लो भागमा त्यस्तो रोकबारे स्पष्ट उल्लेख छैन।

नयाँ एक डलरको सिक्कामा ट्रम्पको तस्बिर यही अघिल्लो भागमै कोरिएको छ।

गत मार्चमा अर्थ मन्त्रालयले अमेरिकी कागजी नोटमा चाँडै नै ट्रम्पको हस्ताक्षर रहने घोषणा गरेको थियो। बहालवाला अमेरिकी राष्ट्रपतिका लागि यो पनि पहिलो पटक हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *