मेसीको सम्मानमा अर्जेन्टिनाका सबै फुटबल खेल १०औं मिनेटमा रोकिने

डिसी नेपाल
२१ भदौ २०८३ १२:४२

काठमाडौं। राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरेका अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीको सम्मानमा यस सप्ताहन्त हुने देशका सबै फुटबल खेल पहिलो हाफको १०औँ मिनेटमा एक मिनेटका लागि रोकिने भएका छन्।

अर्जेन्टिना फुटबल सङ्घ (एएफए) का अनुसार पुरुष तथा महिला दुवै डिभिजनका सबै विधाका खेलमा १०औँ मिनेटमा ६० सेकेन्डसम्म ताली बजाएर मेसीको योगदानको कदर गरिनेछ।

१०औँ मिनेटको यो समय मेसीले राष्ट्रिय टोलीमा लगाएको चर्चित १० नम्बरको जर्सीप्रति समर्पित गरिएको हो। साथै, रङ्गशालाका ठुला स्क्रिनमा खेल सुरु हुनुअघि एएफएको संस्थागत विशेष भिडियोसमेत प्रदर्शन गर्न निर्देशन दिइएको छ।

३९ वर्षीय मेसीले गत सोमबार राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका थिए। सन् २००५ मा सिनियर टोलीबाट डेब्यु गरेका उनी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

सुरुवाती वर्षहरूमा सन् २०१४ को विश्वकप र २०१६ को कोपा अमेरिका फाइनलमा पराजय व्यहोरे पनि मेसीको कप्तानीमा अर्जेन्टिनाले ऐतिहासिक सफलताहरू हासिल गर्‍यो। उनले टोलीलाई सन् २०२१ को कोपा अमेरिका, सन् २०२२ को कतार विश्वकप र सन् २०२४ को कोपा अमेरिकाको उपाधि दिलाए।

सन् २००६ देखि २०२६ सम्मका छ वटा विश्वकप संस्करण खेलेका मेसीले विश्वकपका ३४ खेलमा २१ गोल गरेका छन्। आठ पटकका बालोन डी’ओर विजेता मेसीले राष्ट्रिय टोली छाडे पनि अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट क्लब फुटबल भने निरन्तर खेल्नेछन्।

संन्यासपछि मेसीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट बिदा हुने निर्णय आफ्नो आत्माका लागि पीडादायी भए पनि यो नै उपयुक्त समय भएको उल्लेख गर्दै अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सर्वस्व दिएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *