इरानद्वारा होर्मुज जलडमरूमध्य नजिक नयाँ ‘निषेधित क्षेत्र’ घोषणाको तयारी

डिसी नेपाल
२२ भदौ २०८३ १०:०२

तेहरान। इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने पानीजहाजहरूलाई लक्षित गर्दै जलडमरूमध्य बाहिर नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले आगामी केही दिन वा साताभित्र उक्त क्षेत्र घोषणा गरिने जानकारी दिनुभएको हो।

रेजाईका अनुसार उक्त निषेधित क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दीको सीमाबाट सुरु भई होर्मुज जलडमरूमध्य र फारसको खाडीतर्फ विस्तार हुनेछ।

सो क्षेत्रमा प्रवेश गर्ने र पहिचान हुने जुनसुकै पानीजहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने चेतावनी दिइए पनि त्यसको स्पष्ट भौगोलिक सीमा भने खुलाइएको छैन।

अमेरिकी सेनाका अनुसार इरानी बन्दरगाह र तेल निर्यात रोक्ने उद्देश्यले २० भन्दा बढी युद्धपोतको सहयोगमा नाकाबन्दी जारी छ।

यस क्रममा ९२ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराइएको र तीनवटालाई नियन्त्रणमा लिइएको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि दुई देशबीच तनाव उत्कर्षमा पुगेको हो।

यसैबीच, इरानी सञ्चारमाध्यमले होर्मुज जलडमरूमध्यमा एक मानवरहित अमेरिकी पानीजहाजमाथि आक्रमण गरेको दाबी गरे पनि अमेरिकी सेनाले त्यसलाई अस्वीकार गरेको छ।

विश्वकै प्रमुख तेल ढुवानी मार्ग मानिने होर्मुज जलडमरूमध्यलाई इरानले रणनीतिक दबाबको माध्यमका रूपमा प्रयोग गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *