युक्रेनमा पोर्नोग्राफीलाई वैध बनाउने प्रस्ताव: करबाट युद्धका लागि ३० हजार ड्रोन किन्ने लक्ष्य
काठमाडौं । रूसविरुद्ध युद्ध लडिरहेको युक्रेनमा पोर्नोग्राफी (अश्लील सामग्री) लाई कानुनी मान्यता दिने प्रस्ताव अघि सारिएको छ। युक्रेनी सांसद यारोस्लाव जेलेज्नियाकको समर्थन रहेको एक विधेयकले ‘एडल्ट इन्टरटेनमेन्ट इन्डस्ट्री’ (वयस्क मनोरञ्जन उद्योग) लाई कानुनी अर्थतन्त्रको हिस्सा बनाउने प्रयास गरिरहेको छ। जेलेज्नियाक युक्रेनी संसद्को वित्त समितिका सभापति हुन्।
‘वाल स्ट्रिट जर्नल’ को प्रतिवेदन अनुसार जेलेज्नियाकले पोर्नोग्राफीलाई वैध बनाउँदा सरकारले करका रूपमा करिब २ करोड ५० लाख अमेरिकी डलर आम्दानी गर्न सक्ने अनुमान गरेका छन्। उनका अनुसार यो रकम युद्धका लागि करिब ३० हजार वटा ड्रोन खरिद गर्न पर्याप्त हुन सक्छ।
युक्रेनमा हाल पोर्नोग्राफी बनाउनु, राख्नु वा त्यसको वितरण गर्नु गैरकानुनी मानिन्छ। यसका लागि सात वर्षसम्मको कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ। यद्यपि, प्रतिवेदनका अनुसार यति हुँदाहुँदै पनि एडल्ट कन्टेन्ट उद्योग निरन्तर फस्टाउँदै गएको छ र भ्रष्ट प्रहरी अधिकारीहरूको संरक्षणमा यसको कारोबार चल्दै आएको छ।
अहिले कर अधिकारीहरूले एडल्ट कन्टेन्ट क्रिएटरहरूबाट कर असुली गर्ने प्रयास सुरु गरेका छन्। तर यहाँ एउटा अनौठो स्थिति सिर्जना भएको छ। आफ्नो आम्दानी सार्वजनिक गर्ने क्रिएटरहरूले स्वयम् कानुनी रूपमा अपराध मानिने गतिविधिहरूको विवरण अधिकारीहरूसम्म पुर्याइरहेका छन्।
जेलेज्नियाकले यसलाई ‘दुःखद तथा हास्यास्पद’ (ट्रेजिकोमिक) अवस्थाका रूपमा वर्णन गरेका छन्। उनका अनुसार महिलाहरूका सामू कि त कर नतिर्दा आपराधिक कारबाहीको जोखिम छ, कि त कर तिर्दा पोर्नोग्राफीसम्बन्धी कानुन अनुसार कारबाही भोग्नुपर्ने बाध्यता छ।
प्रतिवेदनमा ‘ओन्लीफ्यान्स’ को मातृ कम्पनी फिनिक्स इन्टरनेसनलको तथ्याङ्कलाई उद्धृत गर्दै सन् २०२३ मा ७,९०० युक्रेनीहरूले ओन्लीफ्यान्समार्फत १३ करोड १० लाख डलर (१३१ मिलियन डलर) भन्दा बढी कमाएको उल्लेख गरिएको छ।
कर अधिकारीहरूको कारबाहीपछि केही क्रिएटरहरूलाई कर छली र अवैध एडल्ट कन्टेन्ट बनाएको आरोपमा नोटिससमेत पठाइएको थियो। ओन्लीफ्यान्स क्रिएटर स्वितलाना ड्वोर्निकोभाले प्रहरीले आफ्नो घरमा छापा मारेर २० हजार डलर नगदका साथै ल्यापटप र हार्डड्राइभ जफत गरेको दाबी गरिन्। उनले मुद्दा सामसुम पार्ने नाममा प्रहरीले घुस मागेको तर आफूले अस्वीकार गरेको आरोपसमेत लगाएकी छन्।
करसम्बन्धी अधिवक्ता लेसिया मिखालेङ्कोका अनुसार युद्धका बेला यस्ता क्रिएटरहरूमाथि मुद्दा चलाउनु सरकारी स्रोत र साधनको सही सदुपयोग होइन। अर्कातर्फ, ड्वोर्निकोभाले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको वेबसाइटमा एक निवेदन (याचिका) दर्ता गराउँदै आफूलाई ‘इमानदार करदाता’ का रूपमा प्रस्तुत गरेकी छन्। उनले आफूले करिब ९ लाख डलर कर तिरिसकेको दाबी गरेकी छन्।
प्रतिवेदनका अनुसार उक्त याचिकामा एक हप्ताभित्रै २५ हजारभन्दा बढी मानिसले हस्ताक्षर गरेका थिए। त्यसपछि राष्ट्रपति जेलेन्स्कीले संसद्ले जेलेज्नियाकको पोर्नोग्राफीलाई वैध बनाउने प्रस्तावमाथि विचार गर्ने बताएका छन्। सो विधेयकले गत जुलाईमा संसद्को पहिलो चरण (फर्स्ट रिडिङ) पार गरिसकेको छ र अब दोस्रो चरणको पर्खाइमा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment