टिप्पणी

विभाजन र वैधानिकताको संकटमा नेपाली कांग्रेस: १५औं महाधिवेशन कि विसर्जनको संघार?

डिसी नेपाल
२२ भदौ २०८३ ११:२९

काठमाडौं। नेपाली कांग्रेसकाे आठ दशक लामो इतिहासमा अनेकौं विभाजन, गुटबन्दी र पुनर्मिलनका अध्यायहरू लेखिएका छन्।

तर, १४औं महाधिवेशनपछिका घटनाक्रम र पछिल्लो समय चर्किएको आन्तरिक राजनीतिक तुफानले पार्टीलाई पुनः एकपटक विचार र वैधानिकताको संकटपूर्ण दोबाटोमा ल्याएर उभ्याएको छ।

विशेष महाधिवेशन, नेतृत्व परिवर्तन, निर्वाचनको परिणाम र त्यसपछि सर्वोच्च अदालतसम्म पुगेको वैधानिकताको लडाइँले नेपाली काङ्ग्रेस ‘सही ट्र्याक’मा छ कि विसर्जनतर्फ जाँदैछ भन्ने गम्भीर प्रश्न उब्जाएको छ।

पाँचपटक मुलुकको प्रधानमन्त्री बनिसकेका र पटक-पटक पार्टी फुटको साक्षी तथा कारक रहेका शेरबहादुर देउवा अहिले आफ्नो राजनीतिक जीवनको सबैभन्दा कमजोर र अप्ठ्यारो मोडमा छन्।

८० वर्ष नाघिसकेका देउवाका लागि यो समय आफ्ना निकटस्थहरूलाई संरक्षण गर्ने मात्र होइन, कांग्रेसको संस्थापन विरासत कसलाई हस्तान्तरण गर्ने भन्ने पनि हो।

यस्तो अवस्थामा डा. शेखर कोइरालाको बढ्दो सक्रियताले पार्टीभित्र नयाँ शक्ति सन्तुलन सिर्जना गरेको छ। शेखर-देउवा समूहको गठजोड अहिले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई चुनौती दिन ऐक्यबद्ध बनेको छ।

तर, प्रश्न उठ्छ-देउवाले शेखरसँग कति कम्प्रमाइज गर्लान्? देउवा आफ्ना पक्षका पुराना नेताहरू (पत्नी आरजू राणा, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण आदि) को राजनीतिक भविष्य सुरक्षित नभएसम्म पुरै साँचो शेखरको हातमा सुम्पिन तयार हुनेछैनन्।

यदि सर्वोच्च अदालतको पुनरावलोकनले गगन थापा नेतृत्वलाई नै आधिकारिकता दियो भने देउवाले शेखरलाई अगाडि सारेर १५औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउन सक्छन्।

तर, संस्थापन पक्षको सम्पूर्ण नियन्त्रण शेखरलाई बुझाउनुभन्दा देउवाले आफ्नो गुटको हितलाई नै अन्तिमसम्म प्राथमिकता दिने देखिन्छ।

बीपी कोइरालाका पुत्र डा. शशांक कोइराला लामो समयसम्म देउवा गुटको आशीर्वादमा संस्थापन पक्षको ‘उत्तराधिकारी’ वा ‘सर्वमान्य अनुहार’ बन्ने होडमा थिए। तर, उनको सुस्त र अनिर्णायक राजनीतिक शैलीका कारण उनी नेतृत्वको दौडबाट क्रमशः बाहिरिए।

शशांक आउट भएर शेखर कोइराला मुख्यधारमा आउनुले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा दुईवटा स्पष्ट असर पारेको छ। शशांकको लचिलोपनले गुटहरूबीचको सीमा धमिलो बनाएको थियो। शेखर आएसँगै देउवा इतरको ‘इतर पक्ष’ले एउटा स्पष्ट र आक्रामक नेता पाएको छ।

शेखरले केवल कोइराला थरको विरासत मात्र नभई सांगठनिक पकड र कार्यकर्तामाझको प्रभावलाई आधार बनाएका छन्। यसले गर्दा १५औं महाधिवेशन वा समानान्तर महाधिवेशनको स्थितिमा देउवा गुटले शेखरलाई बाइपास गरेर अघि बढ्न नसक्ने अवस्था सिर्जना भएको छ।

२०८२ को पुसको दोस्रो विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व हातमा लिएर निर्वाचनमा होमिएका गगन थापाका लागि पछिल्ला घटनाक्रम भारी बनेका छन्।

“आफ्नै पालामा पार्टी फुटको अवस्था आयो, निर्वाचनमा सोचे जस्तो सफलता मिलेन र पुराना नेताहरू अदालत धाउनुपर्ने स्थिति बन्यो” भन्ने तथ्यले गगनमाथि गम्भीर नैतिक प्रश्न खडा गरेको छ।

गगन थापालाई कत्तिको कर्तव्यबोध होला त? गगनले कांग्रेसमा आमूल परिवर्तन र रूपान्तरणको जोखिम उठाएका थिए। युवा पुस्ताको समर्थन पाए तापनि उनले परम्परागत कांग्रेसको विशाल सांगठनिक संरचना (क्याडर बेस) लाई पूर्णतः समेट्न सकेनन्।

पार्टीभित्र ‘विद्रोही’को बिल्ला गुमाएर ‘संस्थापक र अभिभावक’ बन्नुपर्ने चुनौतीमा गगन छन्। चुनावको निराशाजनक नतिजा र पार्टीको आन्तरिक विग्रहले उनलाई आत्मसमीक्षा गर्न बाध्य तुल्याएको छ। “नेतृत्व लिनु मात्र ठूलो कुरा होइन, पार्टी एकढिक्का राख्नु मुख्य कर्तव्य हो” भन्ने यथार्थ गगनका लागि अहिलेको सबैभन्दा ठूलो पाठ बनेको छ।

के कांग्रेस एक भएर फेरि एकता महाधिवेशन होला त?

यही प्रश्नको उत्तर पहिल्याउन सकिने हो भने समाधान टाढा छैन। तर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने अवसर छाडेर पुनः नेतृत्वको मोहमा लागेको अनुभूति हुन्छ।

उनले त्यो दाबी नगरी संरक्षकको भूमिका स्वीकार गर्ने र नयाँ/पुराना दुवै पक्षलाई स्वीकार्य हुने वातावरण बनाउने हो भने समाधान ढोकामै छ। गगन थापाको रूपान्तरणको एजेण्डा र डा. शेखर कोइरालाको साङ्गठनिक सन्तुलनबीच सहकार्य हुनु अनिवार्य छ। यी दुई नेता छुट्टिएमा कांग्रेसको दोस्रो र तेस्रो पुस्ता नै ध्वस्त हुनेछ।

विशेष महाधिवेशनका निर्णयहरूलाई कानुनी वा राजनीतिक सहमतिद्वारा परिमार्जन गरी सर्वपक्ष सहभागी हुने १५औं महाधिवेशन गराउनु नै पार्टी जोगाउने एक मात्र व्यावहारिक विकल्प हो।

त्यसैले यो समय काङ्ग्रेसका लागि निकै संवेदनशील छ। कांग्रेस अहिले विचारको संकटभन्दा पनि अहंकार र पुस्तान्तरणको व्यवस्थापन गर्न नसक्दाको संकटबाट गुज्रिरहेको छ।

देउवाले पाँचपटक प्रधानमन्त्री बन्दा आर्जन गरेको सत्ता-राजनीतिको अनुभवलाई पार्टी जोगाउन प्रयोग गर्छन् कि फेरि विभाजनको इतिहास दोहोर्‍याउँछन्, त्यो हेर्न बाँकी छ। गगन थापाले विद्रोही भावना छाडेर परिपक्वता देखाउनुपर्नेछ भने शेखर कोइरालाले सबैलाई जोड्ने पुलको काम गर्नुपर्नेछ।

यदि यी तीनै पक्षले विगतका गल्तीबाट पाठ सिकेर अघि बढे भने मात्र कांग्रेस एक भएर एकता महाधिवेशन सम्भव छ। अन्यथा इतिहासले काङ्ग्रेसको पुनरागमन होइन, विसर्जनको अर्को नमीठो अध्याय लेख्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *