सुशासनको अभाव र मौलाउँदो अराजकता
सुशासन, कानुनी राज्य र लोकतन्त्रको मुख्य मेरुदण्ड हो। सुशासनले नै लोकतन्त्र र मानव अधिकारजस्ता आधारभूत मूल्य-मान्यताहरूलाई मौलाउन र सुदृढ हुनका लागि उर्वर भूमि प्रदान गर्दछ।
तर आज कानुनी शासनको उपहास गर्दै, मानव अधिकार र लोकतन्त्रको आवरणमा हाम्रो समाज उच्छृङ्खल र अराजकतातर्फ उन्मुख भइरहेको देखिन्छ।.
एकातिर देशमा दण्डहीनता र विधिहीनता चरम रूपमा मौलाएको छ भने अर्कोतिर सत्य, न्याय, धर्म, विवेक र भ्रातृत्व भाव क्रमैसँग लोप हुँदै गएको अवस्था छ। यस्तो संवेदनशील परिवेशमा जिम्मेवार पदमा बसेका व्यक्तिहरूबाट भएका क्रियाकलाप तथा निर्णयहरू पनि देश र जनताको हितमा अनुकूल देखिएका छैनन्।
यसै सन्दर्भमा महाभारतकालीन एक महत्त्वपूर्ण प्रसंग उल्लेख गर्नु उपयुक्त हुन्छ। “कुनै पनि राष्ट्रको विनाश वा मृत्युको मुख्य कारण के हो?” भनी यक्षले सोधेको प्रश्नमा युधिष्ठिरको उत्तर थियो- “अराजकता”।
यस प्रसंगबाट स्पष्ट हुन्छ कि अराजकता कुनै पनि समाज र राष्ट्रका लागि कतिसम्म घातक हुन्छ। तर दुर्भाग्यवश, आज सडकदेखि सदनसम्म अराजक तत्वहरूकै बाहुल्य र प्रभाव देखिन थालेको छ।
वर्तमान समयमा देशको राजनीतिक, आर्थिक र सामाजिक स्थितिलाई नियाल्ने हो भने सर्वत्र निराशा, बेथिति र अराजकता व्याप्त छ। आम नागरिकमा उत्पन्न भएको यो तीव्र वितृष्णा एकाएक आएको भने होइन।
यो त वर्षौंदेखिको कुशासन, राजनीतिक अस्थिरता, दण्डहीनता र मौलाउँदो भ्रष्टाचारको दुष्परिणाम हो। यस्तो संकटग्रस्त अवस्थाबाट देशलाई जोगाएर दीर्घकालीन शान्ति, स्थिरता र समृद्धिको मार्गमा दोहोर्याउन कडा एवं प्रभावकारी कदमहरू चाल्नु अति आवश्यक भइसकेको छ।
सुशासन स्थापना र भ्रष्टाचारविरुद्ध आवाज उठाएर सम्पन्न भएको ‘जेन-जी’ आन्दोलनको जगमा २०८२ फागुनमा भएको आम निर्वाचन र त्यसपछि निर्मित झन्डै दुई-तिहाइ बहुमतको निर्वाचित वर्तमान सरकार पनि सुशासन कायम गर्ने मामलामा उस्तै सुस्त देखिनु विडम्बनापूर्ण छ।
सुशासन कायम हुन नसक्नाका मुख्य कारणहरू
राजनीतिक अस्थिरता र संकीर्ण दलीय स्वार्थ्र
वि.सं. २०५० देखि नै देश निरन्तर राजनीतिक अस्थिरताको चक्रव्यूहमा फस्दै आएको हो। स्पष्ट बहुमत प्राप्त गरेका दलहरूले समेत पूर्ण कार्यकाल सत्ता सञ्चालन गर्न सकेनन्।
देशमा सरकार फेरबदलको अनन्त खेलले निरन्तरता पाइरह्यो। जनहितभन्दा संकीर्ण दलीय र व्यक्तिगत स्वार्थ हाबी हुँदा नीतिगत स्थायित्व कायम हुन सकेन, जसको प्रत्यक्ष असर देशको विकास निर्माणमा पर्याे।
वर्तमान समयमा झन्डै दुई-तिहाइको जनमतसहितको शक्तिशाली सरकार विद्यमान छ, तैपनि भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चालिएको र सुशासनतर्फ ठोस प्रगति भएको अनुभूति जनताले गर्न पाएका छैनन्।
त्यसैले वर्तमान सरकारले नागरिकलाई प्रत्यक्ष सुशासनको अनुभूति गराउने किसिमका काम-कारबाहीहरू अविलम्ब अघि बढाउनु पर्छ।
भ्रष्टाचार र दण्डहीनता
यस देशभित्र यस्तो कुनै निकाय वा क्षेत्र (अदालत, सिंहदरबारदेखि स्थानीय तहसम्म) बाँकी छैन जहाँ भ्रष्टाचारले गाँजेको नहोस्। भ्रष्टाचार आज देशव्यापी रूपमा क्यान्सर रोगझैं फैलिरहेको छ। ठूलो आर्थिक घोटालाका फाइलहरू खुल्ने र पुनः सामसुम भई बन्द हुने क्रम जारी छ।
निष्पक्ष र सर्वस्वीकार्य कारबाही नहुने प्रवृत्तिका कारण अपराधीहरूले सहजै उन्मुक्ति पाउने संस्कृति फस्टाएको छ। भ्रष्टाचारीहरूमाथि निर्मम भएर कारबाही गर्न यो शक्तिशाली सरकारलाई आखिर कसले रोकेको छ? यदि अहिले पनि कारबाही गर्न सकिँदैन भने कहिले गर्ने? यो आम नागरिकको टड्कारो प्रश्न हो।
बेरोजगारी र युवा पलायन
स्वदेशमा पर्याप्त रोजगारीका अवसरहरू उपलब्ध नहुँदा दैनिक हजारौं युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य छन्।
देशको मेरुदण्डका रूपमा रहेका युवाशक्ति बाहिरिएसँगै गाउँघरहरू रित्तिएका छन्, खेतीयोग्य जग्गाजमिन बाँझो बनेका छन् भने समग्र अर्थतन्त्र पूर्ण रूपमा विप्रेषण (रेमिट्यान्स) मा निर्भर हुन पुगेको छ।
विप्रेषणले तत्कालका लागि केही आर्थिक राहत दिएजस्तो देखिए तापनि दीर्घकालीन दृष्टिकोणबाट हेर्दा यो अत्यन्तै भयानक र कहालीलाग्दो भविष्यको संकेत हो। तसर्थ, बाध्यताले विदेशीएका युवाहरूलाई स्वदेश फर्काउने र देशभित्रै औद्योगिक तथा व्यावसायिक वातावरण निर्माण गर्ने कार्यमा अब अलिकति पनि ढिलाइ गर्नु हुँदैन।
कमजोर कानुनी शासन
न्याय प्रणाली र प्रशासनिक संयन्त्रमा हुने अनावश्यक राजनीतिक हस्तक्षेपका कारण सर्वसाधारण नागरिकहरूले सहज रूपमा न्याय र सेवा-सुविधा पाउन सकिरहेका छैनन्।
सर्वत्र दलीय कार्यकर्ता र पहुँचवालाहरूकै हालीमुहाली तथा रजगज छ। यसरी सिर्जित दण्डहीनता र विधिहीनताको परिणामस्वरूप नागरिकमा निराशा चुलिएर अराजकताले प्रश्रय पाएको छ।
अब देशमा शान्ति, स्थिरता र सुशासन कायम गरी विद्यमान संकटबाट पार पाउन तत्काल निम्न कडा कदमहरू चालिनुपर्छ:
कानुनको कठोर र निष्पक्ष कार्यान्वयन
कानुन सबैका लागि समान हुनुपर्छ। पद, पहुँच र राजनीतिक आडमा हुने अपराधलाई छुट दिने परिपाटीको पूर्ण अन्त्य गर्दै विधिको शासन कायम गर्न सुरक्षा निकाय र न्यायपालिकालाई राजनीतिक दबाबमुक्त बनाइनुपर्छ। सुरक्षा निकाय र न्यायालयमा दलीय कार्यकर्ता तथा भागबन्डाका आधारमा नियुक्ति गर्ने गलत परम्पराको अविलम्ब अन्त्य हुनैपर्छ।
भ्रष्टाचारप्रति शून्य सहनशीलता
सार्वजनिक पदमा बहाल रहेको जोसुकै व्यक्ति किन नहोस्, भ्रष्टाचारमा संलग्न देखिएमा उसलाई कडाभन्दा कडा कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायहरूमा स्वतन्त्र, निष्पक्ष र सक्षम व्यक्तिहरूलाई नियुक्त गरी ती संस्थालाई पूर्ण स्वायत्त र साधन-सम्पन्न बनाइनुपर्छ।
उत्पादनमुखी अर्थतन्त्र र रोजगारी सिर्जना
युवाहरूलाई देशभित्रै रोक्नका लागि कृषि क्षेत्रको आधुनिकीकरण, लघु तथा घरेलु उद्योग र सूचना प्रविधिका क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी बढाउनुपर्छ। आयातमा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नु आजको मुख्य आवश्यकता हो।
राजनीतिक सुशासन र उत्तरदायित्व
राजनीतिक दल र तिनका नेतृत्व वर्गले आफ्नो परम्परागत कार्यशैलीमा व्यापक सुधार ल्याउनुपर्छ। राज्यका विभिन्न निकायहरूमा योग्यता, क्षमता र गुणका आधारमा जिम्मेवारी सुम्पिने परिपाटी बसाल्नुपर्छ। स्थानीय तहहरूलाई अझ बढी पारदर्शी, जिम्मेवार र उत्तरदायी बनाउनु पर्छ।
सार्वजनिक सेवाको सरलीकरण
नागरिकले दैनिक रूपमा प्राप्त गर्ने सेवाहरू (जस्तै: राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र र स्वास्थ्य सेवा) लाई आधुनिक प्रविधिसँग जोडेर सरल र सहज बनाइनुपर्छ।
बिना कुनै झन्झट, डिजिटल प्रविधिको प्रयोग गरी समयमै सेवा पाउने सुनिश्चितता गरिनुपर्छ। सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती, सास्ती र घुसखोरीको पूर्ण रूपमा अन्त्य गरिनुपर्छ।
निष्कर्ष
अराजकताले केवल विनाश र अस्तव्यस्तता मात्र निम्त्याउँछ। देशमा शान्ति, सुव्यवस्था र स्थिरता तब मात्र सम्भव हुन्छ जब राज्यले आफ्ना नागरिकप्रतिको दायित्व र उत्तरदायित्वलाई गम्भीर रूपमा महसुस गर्छ।
राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्ति, कर्मचारीतन्त्रमा उच्च इमानदारिता र नागरिकहरूमा सचेतनाको सुदृढ त्रिपक्षीय सम्बन्ध स्थापित हुन सके देश समृद्धिको दिशामा अघि बढ्न धेरै समय लाग्दैन।
तसर्थ, अब टालटुले नीतिबाट होइन, प्रणालीगत र संरचनागत सुधारको मार्गमा एकजुट भएर अगाडि बढ्नु नै वर्तमानको एकमात्र विकल्प हो। समयमै सबैलाई चेतना होस्।
No ads found for this position



Facebook Comment