जहाँ पाक्छ निःशुल्क खाना: लुभुमा जमिनमुनिबाट बलिरहेको ग्यासमा स्थानीयको भान्सा

सजना तिमल्सिना/रासस
२२ भदौ २०८३ १२:४०

ललितपुर। ललितपुरको ग्वार्कोबाट करिब पाँच किलोमिटरको दूरीमा अवस्थित छ, महालक्ष्मी नगरपालिका-८ लुभु। गोदावरी खोलाबाट देब्रे लागेर झन्डै पाँच सय मिटर अगाडि बढेपछि पुगिने एउटा बस्तीमा निकै चाखलाग्दो र फरक दृश्य देख्न सकिन्छ।

वरिपरि नयाँ-नयाँ घरहरू बनिरहेका छन् र बस्ती दिनानुदिन बाक्लो बन्दै गएको छ। तर, बीचमा एउटा जमिन खाली नै छ।

असरल्ल साना-ठूला ढुङ्गाहरू रहेको सो खाली जमिनमा दुई वटा चियादानी र एउटा कुकर राखिएका छन्। एउटा चियादानीमा पानी उम्लिरहेको देखिन्छ भने अर्कोमा चिया पाकिरहेको छ, अनि कुकरले निरन्तर सिट्ठी मारिरहेको छ।

बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला यहाँका स्थानीयबासीले भने निःशुल्क रूपमा दैनिक खाना पकाइरहेका छन्।

“यसरी खाना पकाउन थालेको धेरै भयो। खुला जमिनमा २४ सै घण्टा आगो बलिरहन्छ। हामी यहीँ खाना पकाएर घरमा लगेर खान्छौं,” हुम्ला घर भई हाल लुभु-८ मा भाडामा बस्दै आएकी अनिता जैशीले बताइन्।

घर नजिकैको खाली जग्गामा त्यसै खेर गइरहेको ग्यासको सदुपयोग गरिएको उनले बताइन्। निःशुल्क ग्यास प्रयोगको अनुभव सुनाउँदै उनले भनिन्, “बिहान-बेलुका दाल र गेडागुडी यहीँ पकाउँछु। मैले मात्र होइन, वरिपरि घर भएका धेरै परिवारले बिहान-बेलुका दाल-भात यहीँ पकाउनुहुन्छ।”

घरमा प्रयोग हुने एलपी ग्यासजस्तै प्राकृतिक रूपमा जमिनमुनिबाट निस्किएको यो ग्यासले स्थानीयको भान्सा सहज बनाएको छ। भान्सामा मात्र सीमित नभई कतिपयका लागि त यो आम्दानीको माध्यम पनि बनेको छ। जैशीले थपिन्, “हामी त साँझ-बिहान मात्रै पकाउँछौँ, एक जना दिदीले त यहाँ दिनभरि मकै पोलेर राम्रो आम्दानी गर्नुहुन्छ।”

चार जनाको परिवारलाई बिहान-बेलुका दाल, भात र तरकारी पकाउन यो ग्यास पर्याप्त हुने उनले बताइन्। तर, राजधानीमै भएर पनि यस ठाउँतर्फ सरकारको नजर नपुगेकोमा उनले दुःख व्यक्त गरिन्।

“बजारमा ग्यास किन्न पाइँदैन, यहाँ भने यसरी खुला रूपमा ग्यास बलिरहेको छ। थोरै वा एक-दुई सय परिवारलाई त सहजै पुग्ने थियो, तर सरकारले किन सदुपयोग नगरेको होला?” जैशीले प्रश्न गरिन्।

उनीजस्तै अन्य स्थानीयबासी पनि बिहान-बेलुका भाँडाकुँडा बोकेर यही ठाउँमा पुग्छन्। कसैका लागि यो वर्षौँदेखिको परिचित थलो हो भने कसैका लागि प्रकृतिले दिएको अनौठो उपहार। ललितपुर सानागाउँका ५६ वर्षीय बाबुकाजी महर्जनका अनुसार यहाँ खाना पकाउन आउनेहरूको सङ्ख्या समयसँगै बढ्दै गएको छ।

“घरमा ग्यास किनेर बाल्नुपर्छ, यहाँ प्रकृतिले सित्तैमा ग्यास दिएको छ। यसको राम्रो अध्ययन गरेर प्रयोग गर्न सके स्थानीयलाई ठूलो राहत हुन्थ्यो,” उनले भने।

महर्जनका अनुसार यो ग्यास विगत ४५ वर्षदेखि लगातार खेर गइरहेको छ। बाल्यकालदेखि नै यहाँ आगो यसरी नै बलिरहेको उनले बताए। महर्जनले थपे, “न घाम, न पानी, न हुरी, न आँधी-यो आगो निरन्तर बलिरहेको छ। पहिले यहाँ पूरै घारी थियो, अहिले घरहरू बनिसके। यसरी बस्तीको बीचमा निरन्तर ग्यास बलिरहँदा सुरक्षाको जोखिम पनि बढेको छ।”

यही आगोले एउटा ठूलो प्रश्न पनि जन्माएको छ-जमिनमुनिबाट निरन्तर निस्किरहेको यो ग्यास आखिर के हो? यसको भण्डार कति छ? र यसलाई स्थानीय ऊर्जा स्रोतका रूपमा उपयोग गर्न सकिन्छ कि सकिँदैन? स्थानीयले वर्षौँदेखि बाल्दै आए पनि यसको वैज्ञानिक सम्भाव्याताबारे भने पर्याप्त अध्ययन भएको देखिँदैन।

महालक्ष्मी नगरपालिका-८ का वडाध्यक्ष विश्वराज श्रेष्ठले भने यसबारे विभिन्न संस्थाहरूले अध्ययन गरिसकेको जानकारी दिए।

“आगो निस्किएको धेरै भयो र अध्ययन पनि पटक-पटक भयो। तर ग्यास निकाल्न मिल्दैन भन्ने निष्कर्षहरू आए। जग्गाधनी पनि यहाँ हुनुहुन्न, त्यसैले अलि अप्ठ्यारो भएको छ। म यसबारे फेरि एकपटक खानी तथा भूगर्भ विभागमा बुझ्छु,” उनले भने।

वडाध्यक्ष श्रेष्ठको यो दोस्रो कार्यकाल हो। पहिलो कार्यकालमै लुभुको ग्यासको सम्भाव्यता र सदुपयोगका लागि पहल गरे पनि उपलब्धि हुन नसकेको उनले बताए। “हामी आउनुभन्दा अघि नै यहाँ एउटा इँटा कारखाना थियो, त्यसका लागि बोरिङ खन्ने क्रममा यो ग्यास निस्किएको हो।

२०७२ को भूकम्पका बेला यहाँ चिया र खाना पकाउनेहरूको ठूलो भीड हुन्थ्यो। अध्ययनहरूले व्यावसायिक उत्पादन सम्भव छैन भनेपछि बन्द गर्न खोज्यौँ, तर त्यो पनि भएन। पाइप राखेर व्यवस्थित गर्न खोजेका थियौँ, तर मानिसहरूले गएर बिगारिदिन्छन्,” उनले गुनासो गरे।

यसबारे महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले खानी तथा भूगर्भ विभागले ग्यास भण्डारण गर्न नमिल्ने जनाएपछि नगरपालिका पछि हटेको बताए।

“खानी तथा भूगर्भ विभागसँग यसबारे पहिले नै छलफल भएको हो। तर, यहाँबाट निस्कने ग्यास भण्डारण (स्टोर) गर्न मिल्ने खालको छैन भनेपछि त्यसै छाडिएको हो,” नगरप्रमुख श्रेष्ठले भने।

लुभु वडा नं ८ को यो पुरानो आगो भए पनि आसपासका अन्य स्थानमा बोरिङ खन्दा पनि ग्यास निस्कने गरेको उनले बताए। “केही समयअघि पनि डिप बोरिङ गर्दा खोला किनारमा ग्यास निस्किएको थियो। यस क्षेत्रमा किन यस्तो हुन्छ भनेर गहिरो अध्ययन हुन आवश्यक छ,” उनले थपे।

खानी तथा भूगर्भ विभाग, पेट्रोलियम परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार जमिनबाट प्राकृतिक रूपमा ज्वलनशील ग्यास निस्कनु भूगर्भीय प्रक्रियासँग सम्बन्धित हुन्छ। कुनै ठाउँमा आगो बलिरहेको देखिनु नै व्यावसायिक उत्खननका लागि पर्याप्त प्रमाण नहुने उनले बताए।

“व्यावसायिक उत्पादनका लागि विस्तृत भूगर्भीय अध्ययन, ग्यासको रासायनिक परीक्षण, भण्डारको अनुमान तथा आर्थिक र प्राविधिक सम्भाव्यता अध्ययन अनिवार्य हुन्छ,” खड्काले भने।

वि.सं. २०७२ को भूकम्पपछि काठमाडौँ उपत्यकाका धेरै ठाउँमा यस्तो ग्यास निस्किएको उनले जानकारी दिए। “बालुवा भएको क्षेत्रमा पानीसँग घुलेर यस्तो ग्यास बसेको हुन्छ। २०७२ को भूकम्पमा तलको पानी र बालुवा घुलेर यो ग्यास बाहिर निस्किएको हो।

कतिपय ठाउँमा इनार खन्दा पनि यस्तो ग्यास निस्कन्छ। लुभुमा पनि अहिले त्यस्तै ग्यास निस्किएको हुन सक्छ। यो प्राकृतिक भन्दा पनि ‘बायोजेनिक’ ग्यास हो, दैलेखतिर पाइने जस्तो ‘थर्मोजेनिक’ ग्यास होइन,” उनले स्पष्ट पारे।

बायोजेनिक ग्यास वैज्ञानिक रूपमा ठूलो परिमाणमा प्रयोग गर्न नमिल्ने उनले बताए।

“काठमाडौँ उपत्यकाको बाक्लो बस्तीमा भेटिएको बायोजेनिक ग्यास व्यावसायिक रूपमा प्रयोग गर्न मिल्दैन, यसको प्रयोगले थप समस्या ल्याउन सक्छ,” खड्काले भने। यस्तो ग्यास उपत्यकाका अन्य क्षेत्रमा पनि निस्किरहेको उनले बताए।

“काठमाडौँको टेकुमा पनि निस्किएको थियो। केही समय टेकुमा स्थानीयले प्रयोग गरे पनि अहिले बन्द छ। कुनै ठाउँमा पहिलेदेखि निस्किएको भए त्यो स्थानीयलाई नै बढी थाहा हुन्छ,” उनले थपे।

खड्काका अनुसार उपत्यकामा कालीमाटी रहेको तह नै ग्यास उत्सर्जन गर्ने मुख्य स्रोत हो, जहाँबाट निस्किएको ग्यास बालुवाको माथिल्लो तहमा थोरै-थोरै संकलन भएर बस्छ र इनार वा खोला किनार खन्दा बाहिर निस्कन्छ।

अनुसन्धान गर्न स्थानीयको माग

स्थानीयबासीले भने नगरपालिकाले मात्र नभई सङ्घीय सरकारका सम्बन्धित निकायहरूले लुभुको ग्यासको वैज्ञानिक अध्ययन गर्नुपर्ने माग राख्दै आएका छन्।

बाबुकाजी महर्जनले भने, “मैले ४६ वर्षदेखि लगातार यो ग्यास बलिरहेको देखेको छु। सरकारले यसको गहन अनुसन्धान गरेर उपयोगमा ल्याउनुपर्छ। लुभुको जमिनमुनि कति ग्यास छ भन्ने कुरा अध्ययन नगरी अनुमान गर्न सकिँदैन। वर्षौँदेखि स्थानीयको खाना पाकिरहेको यो विषयलाई सरकारले गम्भीरताका साथ लिनुपर्छ।”

महालक्ष्मी नगरपालिकाले व्यावसायिक ग्यास उत्पादन गर्न नसके पनि यस क्षेत्रलाई पर्यटकीय वा अध्ययन स्थलका रूपमा संरक्षण गर्न सक्ने सम्भावना छ।

तर, यसतर्फ स्थानीय सरकारको ध्यान पुग्न सकेको देखिँदैन। बस्ती विस्तार हुँदै जाँदा निरन्तर बलिरहेको यो ग्यासका कारण भविष्यमा कुनै दुर्घटना नहोस् भन्नका लागि समयमै ध्यान दिनुपर्ने महर्जनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *