ट्रम्पद्वारा सन् २०२८ को चुनावमा जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल निर्णय लिन अस्वीकार
रुबियोसँगको प्रतिस्पर्धा सतहमा
वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्। आयरल्यान्डको श्यानन विमानस्थलमा एयर फोर्स वानमा चढ्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले २०२८ को दौडका लागि भान्सलाई अहिले नै समर्थन गर्नु हतार हुने बताएका हुन्।
उपराष्ट्रपति भान्सको प्रशंसा गर्दै ट्रम्पले भने, “उनी उत्कृष्ट छन् र उनले निकै राम्रो काम गरिरहेका छन्। तर यसबारे अहिले नै निर्णय लिनु चाँडो हुनेछ। रिपब्लिकन पार्टीसँग धेरै सक्षम नेताहरूको बलियो समूह (डीप बेन्च) रहेको छ।” अन्य सम्भावित उम्मेदवारहरूबारे सोधिएको प्रश्नमा पनि उनले पार्टीभित्रका सबै दाबेदारहरू अब्बल रहेको प्रतिक्रिया दिए।
यसअघि भदौ (अगस्ट) मा ‘द वासिङ्टन पोस्ट’ले ओभल अफिसमा दाताहरूसँगको निजी बैठकमा ट्रम्पले भान्सको सम्भावित उम्मेदवारीबारे सकारात्मक धारणा राखेको समाचार प्रकाशित गरेको थियो। उक्त बैठकमा ट्रम्पले ‘अन्ततः हामीले जेडीलाई नै निर्वाचित गराउनुपर्छ’ भनेको स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको थियो।
यद्यपि, ट्रम्पका सल्लाहकारहरूले राष्ट्रपतिको उत्तराधिकारीका रूपमा भान्सलाई अन्तिम रूपमा रोजिनसकेको स्पष्ट पारेका थिए। ट्रम्पले भान्सका साथै विदेशमन्त्री मार्को रुबियोलाई पनि सम्भावित उत्तराधिकारीका रूपमा मूल्याङ्कन गरिरहेको बताइएको छ।
आन्तरिक छलफल र अनौपचारिक यात्राका क्रममा ट्रम्पले भान्स र रुबियोबीच तुलना गर्दै आफ्ना सहयोगीहरूसँग उनीहरूको जनसमर्थनबारे नियमित चासो लिने गरेको विवरण सार्वजनिक भएको छ।
राष्ट्रपति ट्रम्पले भान्सले ‘मागा’ (MAGA) आन्दोलनको नेतृत्व सम्हाल्ने निष्कर्षमा निजी रूपमा पुगेको उनका निकटवर्तीहरूको भनाइ रहे पनि आगामी कात्तिक (नोभेम्बर) मा हुने अमेरिकी मध्यावधि निर्वाचनको परिणामले रिपब्लिकन पार्टीभित्रको भावी शक्ति सन्तुलन तय गर्ने विश्लेषण गरिएको छ।
यसैबीच, रिपब्लिकन पार्टीका दाता र कार्यकर्ताहरू सम्भावित उम्मेदवारका पक्षमा विभाजित हुन थालेका छन्। भान्सले सन् २०२८ को निर्वाचनमा उम्मेदवारी दिने विषयमा मध्यावधि निर्वाचनपछि मात्र निर्णय लिने संकेत दिएका छन्।
अर्कोतर्फ रुबियोले भने आफ्ना राष्ट्रपतीय आकाङ्क्षाबारे प्रत्यक्ष रूपमा टिप्पणी गर्न अस्वीकार गर्दै आएका छन्।
ट्रम्पले भान्स र रुबियो दुवैलाई उच्च मूल्यांकन गर्ने भएकाले भविष्यमा उनीहरूबीच सहकार्य वा एउटै चुनावी टिकटमा रहने सम्भावनासमेत जीवितै छ। ट्रम्पको पछिल्लो वक्तव्यसँगै रिपब्लिकन पार्टीभित्र सन् २०२८ को नेतृत्वका लागि भान्स र रुबियोबीचको प्रतिस्पर्धा क्रमशः सतहमा आउन थालेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment