भानुआटुमा यात्रु डुङ्गा दुर्घटना: ३० भन्दा बढी बेपत्ता, १५ जनाको जीवितै उद्धार

डिसी नेपाल
२९ भदौ २०८३ १०:२२

वेलिङ्गटन। प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा ३० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई अधिकारीहरूले सोमबार पनि निरन्तरता दिएका छन्।

‘एमभी माटुई’ नामक डुङ्गा गत शुक्रबार ४७ जना यात्रु तथा चालक दलका सदस्यसहित अम्बाई र सान्टो टापुबीच यात्रा गरिरहेका बेला दुर्घटनामा परेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अधिकारीहरूले जनाएका छन्।

सप्ताहन्तमा उद्धारकर्मीहरूले समुद्रबाट १५ जनालाई जीवितै उद्धार गरेको र एक जनाको शव फेला पारिएको भानुआटुका प्रधानमन्त्री जोथम नापतको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दुर्घटनामा ३० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेकाले खोजीको दायरालाई अब तटीय क्षेत्रतर्फ केन्द्रित गरिने भएको छ। खुला समुद्रको तुलनामा तटीय क्षेत्रको समुद्री धाराले बगाएर यात्रुहरूलाई किनारातिर पुर्‍याएको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजी रणनीति परिमार्जन गरिएको हो।

प्रारम्भिक अनुमानअनुसार तीव्र हावा र खराब समुद्री अवस्थासम्बन्धी मौसम चेतावनीलाई बेवास्ता गर्नुका साथै क्षमताभन्दा बढी यात्रु राखिएकाले दुर्घटना भएको हुन सक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भानुआटुको मौसम विज्ञान सेवाले यात्राको दिन तीव्र हावा र उच्च समुद्री छालको चेतावनी जारी गरेको थियो।

दक्षिण प्रशान्त महासागरमा अवस्थित भानुआटु उत्तरी अस्ट्रेलियाबाट करिब एक हजार ७५० किलोमिटर पूर्वमा रहेका ८३ वटा टापुहरूको द्वीपसमूह हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *