प्रधानमन्त्रीको विशेष प्रतिनिधि र रास्वपा केन्द्रीय सदस्य हुँ भन्दै धम्क्याउँदै हिँड्ने सुजन पक्राउ

डिसी नेपाल
३० भदौ २०८३ १०:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भएको नक्कली परिचय दिई विभिन्न क्षेत्रमा धाकधम्की दिने एक युवक झापामा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अभियुक्त विश्वकर्माले प्रधानमन्त्री तथा गृहमन्त्रीसँग आफ्नो निकट सम्बन्ध रहेको भन्दै राजनीतिक तथा सरकारी पदको दुरुपयोग गर्ने गरेका थिए।

उनले केही समयदेखि विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थाहरूमा आफू रास्वपाको केन्द्रीय नेता तथा प्रधानमन्त्री सचिवालयको जिम्मेवार व्यक्ति भएको नक्कली दाबी प्रस्तुत गरी प्रवेश गर्ने र दबाब एवं धाकधम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनले दाबी गरेका पद तथा जिम्मेवारीहरू पूर्ण रूपमा झूटो र निराधार रहेको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। निज विश्वकर्माले विभिन्न मन्त्री तथा रास्वपाका शीर्ष नेताहरूसँग खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गरेर सर्वसाधारण तथा निकायहरूलाई प्रभावमा पार्ने कोसिस गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

पक्राउ परेका विश्वकर्माविरुद्ध झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप गहन अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले निजले यस्तो झूटो परिचय दिएर कसैबाट कुनै प्रकारको अनुचित लाभ लिएको वा कुनै हानि-नोक्सानी पुर्‍याएको भए प्रमाणसहित तत्काल जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क राख्न सर्वसाधारणसमक्ष अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *