वाग्मती किनारका सम्पदा रङ्ग्याउँदै जापानी युवा स्वयंसेवी

डिसी नेपाल
५ पुष २०७६ २०:५०

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को सहयोगका लागि उपत्यकाका सम्पदा क्षेत्रमा रङ्गरोगन गर्न जापानबाट आएका स्वयंसेवक खटिएका छन् । टेकुस्थित वाग्मती नदी किनारको दायाँबायाँका मन्दिर क्षेत्रमा तीन जना जापानी स्वयंसेवी समूहले रङ्गरोगन ग¥यो । जसलाई ललितपुर महानगरपालिका वडा नं २ मा रहेको सृष्टि महिला समूहले पनि साथ दिएको थियो । युवा स्वयंसेवीलाई नेपाल ल्याउन जापानको ओशाकास्थित सन्तानको अपरेशनले मुख्य भूमिका खेलेको थियो । स्वयंसेवी समूहले आज राजतीर्थस्थित राम मन्दिर र नारायण मन्दिर क्षेत्रमा रङ्गरोगन गरी चिटिक्क बनाएको छ ।

रङ्गरोगन गर्न ओसिमा गेन र खाइ साको जापानबाट एक महिनाअघि नेपाल आएका हुन् । उनीहरुलाई नेपालमा एक वर्षअघिदेखि बसी विभिन्न सामाजिक काममा क्रियाशील सन्तान कोअपरेशनका प्रतिनिधि दाइसुरे कियामा र २४ वर्ष अघिदेखि विश्वभाषा क्याम्पसमा जापानीज भाषा पढाउँदै आएकी मिडौरी साकामोतोले पनि साथ दिएकी छन्।

यो समूहले यसअघि चितवनको मेघालीस्थित धर्मपुर क्षेत्रका १०० परिवार थारुका घरमा पनि रङ्गरोगन गरी चिटिक्क पारेको थियो । पर्यटकीय क्षेत्रका घर र सम्पदा क्षेत्रमा रङ्गरोगन गर्दा नेपाल भ्रमण वर्षका लागि सहयोग पुग्ने उनीहरुले बताए । ठमेलको केही मन्दिरमा समेत रङ्गरोगन गरेको यो स्वयंसेवी समूहले वसन्तपुर क्षेत्रका सम्पदामा पनि काम गर्ने सोच बनाएको छ ।

रङ्गरोगनमा समूहले सञ्चालन गरेको चित्रकला प्रशिक्षणमा सहभागी भएका ३० जना बालबालिकाले पनि सहयोग गरेका थिए । तीन महिनासम्म प्रशिक्षण दिइएको थियो । फागुनपछि फेरि प्रशिक्षणलाई निरन्तरता दिइने सृष्टि महिला समूहले जनाएको छ । सन्तान कोअपरेशनको सहयोगमा सृष्टि महिला समूहले गत वर्ष माघदेखि विपन्न वर्गका बालबालिकालाई पोषणयुक्त खाना खुवाउने कार्यक्रमसमेत राममन्दिरमा आयोजना गर्दै आएको छ । पाक्षिक रुपमा त्रिपुरेश्वस्थित विश्वनिकेतन माध्यमिक विद्यालय र सानेपास्थित टीकाभैरव विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत ५० बालबालिकालाई पोषणयुक्त खाना खुवाउँदै आएको समूहकी अध्यक्ष पारु डङ्गोल राउतले बताए ।

ललितपुर महानगरपालिकाले दुई पटकसम्म उत्कृष्ट काम गर्ने महिला समूहका रुपमा सूचिकृत गरेको समूहले यस क्षेत्रको सांस्कृतिक सम्पदा सफाइमा समेत योगदान गर्दै आएको छ । यस क्षेत्रका अमूर्त सम्पदा अर्थात् जात्रा लगायतको संरक्षणमा समेत समूहले सहयोग गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *