क्रोएसियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान
जाग्रेभ । क्रोएसियामा आगामी पाँच वर्षका लागि नयाँ राष्ट्रपति चयन गर्न आइतबार मतदान भएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुका ७ बजेसम्म चल्ने अधिकारीहरुले जानकारी दिएका छन् ।
नयाँ राष्ट्रपति बन्नका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । विद्युतीय माध्यमबाट निर्वाचन भएकाले बेलुका ७ बजे मतदान सकिएपछि ८ बजे नै नतिजा आउने अपेक्षा गरिएको छ । निर्वाचनका लागि २४ हजारभन्दा बढी अनुगमनकर्ताहरु खटिएको निर्वाचन आयोगका अधिकारीहरुले बताएका छन् ।
क्रोएसियामा राष्ट्रपति चयन हुनका लागि उम्मेदवारले कम्तीमा ५० प्रतिशतभन्दा बढी मत ल्याएकै हुनुपर्ने व्यवस्था रहेको छ । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले कम्तीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन हुनेछ ।
पहिलो चरणको मतदानमा धेरै मत ल्याएका मध्ये दुई उम्मेदवारका बीचमा दोस्रो चरणमा मतदान गराइने छ । अहिलेको निर्वाचनमा पनि पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन गराइने छ । दोस्रो चरणको निर्वाचन गर्नु परेमा जनवरी ५ तारिखका दिन गराइने तय भएको छ ।
प्रारम्भिक सर्वेक्षणहरुले वर्तमान राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिक, पूर्वप्रधानमन्त्री जोरान मिलानोभिक र लोकप्रिय गायक मिरोस्लाभ स्कोरोका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
बर्तमान राष्ट्रपति ग्राबर सत्तारुढ दल क्रोएसियन डेमोक्र्याटिक युनियनबाट उम्मेदवार बन्नु भएको हो भने अर्का उम्मेदवार मिलानोभिक सोसल डेमोक्र्याटिक पार्टीबाट चुनावी मैदानमा छन्। त्यसैगरी स्कोरो भने स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचनमा होमिएका छन् ।







डिसी नेपाल







Facebook Comment