राष्ट्रियसभा निर्वाचनः मतदाता प्रदेश राजधानी आउँदै
सुर्खेत । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख/उपप्रमुख प्रदेश राजधानी सुर्खेत आउने क्रम शुरु भइसकेको छ।
निर्वाचन आयोगले कर्णाली प्रदेशको मतदानस्थल वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा तोकेपछि ७९ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख आउने क्रम शुरु भएको छ।
कर्णालीका कतिपय जिल्लाबाट मङ्गलबार नै प्रमुख/उपप्रमुख वीरेन्द्रनगर आइसकेका छन् ।
कर्णालीबाट राष्ट्रियसभाका लागि रिक्त महिला एक र अन्य समूहको एक गरी दुई पदका लागि भोलि निर्वाचन हुँदैछ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मायाप्रसाद शर्मा र सुमित्रा बिसी तथा नेपाली काँग्रेसले डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतलाई उम्मेदवार बनाएका छन्।
नेकपाले आज प्रदेश पार्टी कार्यालयमा भेला बोलाएको छ। प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, १० वटै जिल्लाका जनप्रतिनिधि, जिल्ला इञ्चार्ज, सचिवलाई भेलामा बोलाइएको बताए ।
“मतदाता र उम्मेदवारबीच परिचयात्मक अन्तक्र्रियाका लागि भेला बोलाइएको हो,” उनले भने, “अधिकांश मतदाता प्रतिनिधि आइसक्नुभएको छ, केही आजै आइपुग्नुहुन्छ।”
काँग्रेले भने मतदातासँग समन्वय गर्ने जिम्मेवारी सम्बन्धित जिल्लाका सभापतिलाई दिएको छ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता मण्डल हुन् । कर्णालीमा ४० जना प्रदेशसभा सदस्य तथा १५८ स्थानीय तहका प्रमुख/उपप्रमुख छन्।
नेकपाले ४० मध्ये ३३ प्रदेशसभा सदस्य र १५८ मध्ये ५३ स्थानीय तह जितेको छ।
मतभार निकै फरक अन्तर भएकाले कर्णालीमा पनि नेकपाका उम्मेदवार मतदाता, पार्टी नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त छन्।
यहाँ नेकपाको कूल मत तीन हजार ५६४ तथा काँग्रेस को ९९० मतभार रहेको छ।
राप्रपाको ६६ र स्वतन्त्रको १०८ मतभार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment